Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

निर्वाचन परिणामपछि काँग्रेस सभापति गगन थापा राजीनामाको तयारीमा, विश्वप्रकाश शर्माले दिए नदिन सुझाव

निर्वाचन परिणामपछि काँग्रेस सभापति गगन थापा राजीनामाको तयारीमा, विश्वप्रकाश शर्माले दिए नदिन सुझाव

नेपाल सम्वत् ११४६, चिल्लागाः ६ पञ्चमी (२५ फागुण, २०८२, ९ मार्च, २०२६) सोमबार, बाँपिझ्याला । प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेपछि काँग्रेस भित्र आन्तरिक छलफल तीव्र चलाईएको छ। यही सन्दर्भमा पार्टीका सभापति थापा र उपसभापति विश्व प्रकाश शर्मा बीच महत्वपूर्ण भेटवार्ता भएको छ ।

स्रोतका अनुसार नयाँ बानेश्वरमा बेलुकादेखि सुरु भएको दुई शीर्ष नेताबीचको छलफल लामो समयसम्म जारी रहेको थियो। भेटका क्रममा सभापति थापाले पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको भन्दै त्यसको नैतिक जिम्मेवारी आफूले लिनुपर्ने धारणा व्यक्त गरेका थिए। उनले सोही कारण सभापति पदबाट राजीनामा दिने तयारी रहेको जानकारी गराएको बताइएको छ।

छलफलका क्रममा थापाले भनेका थिए, “पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ, त्यसैले म राजीनामा दिन्छु।” थापाको भनाइ उद्धृत गर्दै उपसभापति शर्माको सचिवालय स्रोतले जानकारी दिएको छ।

तर उपसभापति शर्मा भने सभापतिले तत्काल राजीनामा दिन नहुने पक्षमा देखिएका छन्। उनले निर्वाचनको परिणामलाई केवल एक व्यक्तिको कमजोरीका रूपमा नहेरी समग्र राजनीतिक परिस्थिति र संगठनात्मक अवस्थाको परिणामका रूपमा बुझ्नुपर्ने धारणा राखेका छन्।

स्रोतका अनुसार शर्माले भनेका छन्, “यो केवल नयाँ दलको जितभन्दा पनि हाम्रो पराजय हो। तर यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति मात्रै।”

उनले नयाँ कार्यसमिति गठन भएको पाँच दिनमै उम्मेदवारी दर्ता भएको र करिब ५० दिनभित्रै निर्वाचन सम्पन्न भएको अवस्थालाई स्मरण गराउँदै यस्तो परिणाम आएपछि तत्काल राजीनामा दिनु उचित नहुने बताए। बरु पार्टीभित्र सूक्ष्म समीक्षा गरेर संगठन सुदृढ गर्दै अघि बढ्नुपर्ने उनको सुझाव रहेको स्रोतले जनाएको छ।

निर्वाचन परिणामपछि कांग्रेसभित्र नेतृत्व, संगठन र रणनीतिबारे व्यापक समीक्षा आवश्यक रहेको नेताहरूले बताइरहेका छन्। पार्टीभित्र आगामी दिनमा हुने छलफलले कांग्रेसको भावी दिशा तय गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार