Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

निर्माणाधीन संसद् भवनमै प्रतिनिधिसभा बैठक बस्ने तयारी

निर्माणाधीन संसद् भवनमै प्रतिनिधिसभा बैठक बस्ने तयारी

नेपाल सम्वत् ११४६, चिल्लागाः ४, (२३ फागुण, २०८२, ७ मार्च, २०२६) शनिवार, बाँपिझ्याला । संघीय संसद् नेपाल अन्तर्गत प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई मत परिणाम आउन थालेसँगै नवनिर्वाचित सांसदहरूको पहिलो बैठक कहाँ बस्ने भन्ने अन्योल अन्त्य भएको छ। अब प्रतिनिधिसभाको बैठक सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवनमै बस्ने गरी तीव्र तयारी भइरहेको छ।

सहरी विकास तथा भवन निर्माण विभाग का अनुसार संसद् भवनका सबै काम तत्काल सम्पन्न हुन नसके पनि प्रतिनिधिसभा बैठक सञ्चालन गर्न मिल्ने गरी आवश्यक पूर्वाधार निर्माण तीव्र गतिमा भइरहेको छ। सुरुमा न्यूनतम सेवासहित भवन सञ्चालनमा ल्याइने जनाइएको छ।

यसअघि संसद् बैठक वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर मा बस्दै आएको थियो। तर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडपछि उक्त भवन प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ।

एक हप्ताभित्र सभाकक्ष तयार

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहरा ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको बैठक निर्माणाधीन संसद् भवनमै बस्ने निश्चित भइसकेको जानकारी दिनुभयो।

उहाँका अनुसार एक हप्ताभित्र प्रतिनिधिसभाको बैठक बस्न मिल्ने सभाकक्ष तयार हुनेछ। समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा हुँदासम्म सबै आवश्यक तयारी पूरा गर्ने लक्ष्य राखिएको छ।

विभागका अनुसार संसद् भवन निर्माण आयोजनाको समग्र भौतिक प्रगति हालसम्म ९३ प्रतिशत पुगेको छ भने आर्थिक प्रगति ७८ प्रतिशत भएको छ।

अन्य काम थाँती राखेर संसद् हल निर्माण

सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक रोशन श्रेष्ठ का अनुसार अहिले अन्य कामलाई केही समयका लागि थाँती राखेर प्रतिनिधिसभा बैठक सञ्चालनका लागि आवश्यक संरचना निर्माणमा प्राथमिकता दिइएको छ।

उहाँका अनुसार फागुन मसान्तभित्र संसद् भवन प्रयोगमा ल्याउने लक्ष्यसहित निर्माण कार्य दिनरात भइरहेको छ।

हाल प्रतिनिधिसभा हल र ‘सेन्ट्रल लबी’ को निर्माण भइरहेको छ। हलभित्र सञ्चार प्रणाली, माइक, साउन्ड सिस्टम जडान तथा अन्य प्राविधिक संरचना तयार पार्ने काम पनि जारी छ। संसद्का लागि आवश्यक कुर्ची र टेबल केही सिंहदरबार भित्र र केही बाहिर निर्माण भइरहेका छन्।

मुख्य संरचना निर्माण सम्पन्न

आयोजनाका प्रवक्ता रञ्जनकुमार दास का अनुसार संसद् भवनको मुख्य संरचना (सुपर स्ट्रक्चर) निर्माण सम्पन्न भइसकेको छ।

हाल भवन परिसर वरिपरि सडक निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, स्यानेटेरी, एचभिएसी (हिटिङ, भेन्टिलेसन र एयर कन्डिसनिङ), मेकानिकल–इलेक्ट्रिकल–प्लम्बिङ, आन्तरिक सजावट तथा कन्फ्रेन्सिङ प्रणाली जडानका काम बाँकी रहेका छन्।

‘स्टेट अफ द आर्ट’ डिजाइन

नयाँ संसद् भवन सिंहदरबार परिसरको पुतली बगैँचामा करिब १७३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ। भवन ‘इन्टरनेसनल स्टेट अफ द आर्ट’ प्रविधिमा आधारित हुनेछ।

भवन भूकम्प, आगलागी लगायत आपत्कालीन अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएको छ। यसमा काठमाडौँ उपत्यकाको स्थानीय वास्तुकलाको झल्को पनि देखिने बताइएको छ।

गुरुयोजनाअनुसार परिसरलाई चार भागमा विभाजन गरिएको छः

  • भवन क्षेत्र

  • हरियाली क्षेत्र

  • पार्किङ क्षेत्र

  • सडक पूर्वाधार क्षेत्र

कुल क्षेत्रफलमध्ये करिब २७ प्रतिशत भवन र ४५ प्रतिशत हरियाली क्षेत्र रहनेछ।

पाँच अर्बभन्दा बढी लागत

कुल पाँच अर्ब तीन करोड रुपैयाँ (भ्याट बाहेक) लागतमा निर्माण भइरहेको यो परियोजनाको ठेक्का नेपाली कम्पनी टुन्डी कन्स्ट्रक्सन र चिनियाँ कम्पनी SEC Group ले संयुक्त रूपमा पाएका छन्।

यो भवनको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले २०७६ असोज १ गते गर्नुभएको थियो। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि छ वर्ष बितिसक्दा पनि आयोजना पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार