Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

०७४ मा निर्वाचित किर्तिपुरका पूर्व मेयरसहित एमाले नेताहरू नेकपामा प्रवेश

०७४ मा निर्वाचित किर्तिपुरका पूर्व मेयरसहित एमाले नेताहरू नेकपामा प्रवेश

नेपाल सम्वत् ११४६, चिल्लाथ्वः ५, पञ्चमी (१० फागुण, २०८२, २२ फ्रेब्रुअरी, २०२६) आईतबार बाँपिझ्याला । २०७४ सालमा निर्वाचित किर्तिपुर नगरपालिकाका पूर्व मेयर तथा नेकपा एमाले का प्रदेश सदस्य रमेश महर्जन र किर्तिपुर–६ का पूर्व वडा अध्यक्ष तथा एमालेका निवर्तमान नगर कमिटी सचिव नुच्छे महर्जनले एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी मा प्रवेश गरेका छन्।

उनीहरूलाई पार्टी संयोजक पुष्पकमल दाहाल र नेता वामदेव गौतम ले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा स्वागत गरेका थिए।

सो अवसरमा संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टी विभिन्न कम्युनिष्ट शक्तिहरूको एकताबाट बनेको उल्लेख गर्दै आगामी दिनमा अझ बृहत्तर कम्युनिष्ट एकता सम्भव रहेको विश्वास व्यक्त गरे। उनले राष्ट्रवादी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

पार्टी प्रवेश गरेका पूर्व मेयर महर्जन र पूर्व वडा अध्यक्ष महर्जनले किर्तिपुर–१० मा तारा चिन्हबाट उम्मेदवार रहेकी रुपा महर्जनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा बोल्दै रमेश महर्जनले दुई तिहाइको सरकारका बेला जनअपेक्षा अनुसार काम हुन नसकेको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पुनः जनतासँग मत माग्न नैतिक रूपमा कमजोर अवस्थामा रहेको टिप्पणी गरे। उनले कम्युनिष्ट आन्दोलनलाई सशक्त, एकताबद्ध र जनमुखी बनाउने उद्देश्यले आफू नेकपामा आबद्ध भएको बताए।

उनले किर्तिपुरको विकास, सुशासन र जनमुखी एजेन्डालाई प्राथमिकतामा राखेर आगामी निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार