नेपाल सम्वत् ११४६, चिल्लाथ्वः ५, पञ्चमी (१० फागुण, २०८२, २२ फ्रेब्रुअरी, २०२६) आईतबार बाँपिझ्याला । निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन नेपाल सरकार लाई सिफारिस गरिएको हो।
गोरखापत्र संस्थान ले आयोजना गरेको निर्वाचन अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै सहसचिव भट्टराईले मतदानमा उत्साहजनक सहभागिता बढाउन यस्तो प्रस्ताव गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्ट गरी तीन दिन बिदा दिँदा टाढा रहेका मतदातालाई मतदानस्थलसम्म पुग्न सहज हुनेछ।
यसअघि फागुन १८ गते पहाडी जिल्ला र फागुन १९ गते तराईका जिल्लामा फागु पूर्णिमा (होली) पर्वको सार्वजनिक बिदा परेको छ। तीन दिनको अतिरिक्त बिदाले विभिन्न पेसा–व्यवसायमा संलग्न तथा आफ्नो मतदाता नामावली रहेको स्थानभन्दा बाहिर रहेका मतदातालाई मतदानमा सहभागी हुन थप सहजता मिल्ने विश्वास आयोगको छ।