नेपाल कम्युनिष्ट पार्टी का प्युठान उम्मेदवार कृष्णध्वज खड्का ले यातायात, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्दै आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका छन्। उनले पर्यटन, भाषा, धर्म–संस्कृति, खानेपानी, सिँचाइ, सहरी विकास र सञ्चार क्षेत्रलाई पनि समेटेका छन्।
खड्काले भालुवाङ बाट डेढ घण्टामै सदरमुकाम खलङ्गा पुग्ने गरी भालुवाङ–प्युठान सडकलाई डबल लेनमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
६४ वटै वडाको केन्द्रसम्म सडक ग्राभेल तथा कालोपत्रे गर्ने, बाग्दुलादेखि पुष्पलाल लोकमार्ग जोड्ने सडक संघीय बजेटबाट सम्पन्न गर्ने र गाउँपालिका तथा वडा केन्द्रहरूमा बाह्रै महिना सडक सञ्चालन सुनिश्चित गर्ने योजना उनले अघि सारेका छन्। आवश्यक स्थानमा सडक पुल निर्माण गर्ने पनि उनको भनाइ छ।
त्यस्तै, मदन भण्डारी राष्ट्रिय लोकमार्ग र इच्छुक–आश्रित प्रादेशिक लोकमार्ग को काम शीघ्र सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
स्वर्गद्वारी बहुमुखी क्याम्पस लाई विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने घोषणा गर्दै खड्काले जिल्लामा सुविधासम्पन्न बहुप्राविधिक कलेज स्थापना गर्ने योजना सार्वजनिक गरेका छन्। प्रत्येक पालिकामा प्राविधिक धारसहितको नमुना ‘स्मार्ट विद्यालय’ सञ्चालन गरिने र २५० भन्दा बढी विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयमा स्मार्ट शौचालय व्यवस्थापन नीति लागू गरिने उनको प्रतिबद्धता छ।
प्युठान अस्पताल को भवन निर्माण सम्पन्न गरी शय्या विस्तार गर्ने तथा मृगौला डायलासिसलगायत अत्याधुनिक सेवा सञ्चालन गर्ने योजना अघि सारिएको छ।
जिल्लामा आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र स्थापना गर्ने, साथै स्वर्गद्वारी र मल्लरानीमा ध्यान केन्द्र स्थापना गर्ने र प्रत्येक स्थानीय तहमा योग तथा ध्यान केन्द्र सञ्चालन गरिने उल्लेख गरिएको छ।
जिल्लामा प्राङ्गारिक मल उत्पादन कारखाना स्थापना गर्ने, जडीबुटी संकलन तथा प्रशोधन केन्द्र खोल्ने योजना अघि सारिएको छ।
समथर क्षेत्रमा माछा र कुखुरा पालन, चुरे तथा महाभारत क्षेत्रमा बाख्रा पालन र उच्च पहाडी क्षेत्रमा भेडा पालनलाई व्यावसायिक बनाइने जनाइएको छ। प्युठानी मुलाको राष्ट्रिय ब्रान्डिङ, रैथाने बाली संरक्षणका लागि बीउ बैंक स्थापना तथा मह, अदुवा र बेसारको राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारीकरण गर्ने प्रतिबद्धता पनि गरिएको छ।
ओखर, टिमुर, अल्लो र भाङ्ग्रोको व्यावसायिक खेती तथा प्रशोधन केन्द्र स्थापना गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
स्वर्गद्वारी लाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास गर्न गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिने खड्काले बताएका छन्।
गौमुखी, नौबहिनी, मल्लरानी लगायतका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गरिने छ।
सदरमुकाम खलङ्गालाई पुरातात्त्विक, सांस्कृतिक तथा शैक्षिक सहरका रूपमा विकास गर्ने तथा विभिन्न क्षेत्रलाई नमुना सहरका रूपमा अघि बढाउने दीर्घकालीन योजना बनाइने जनाइएको छ।
नौमुरे जलाशययुक्त विद्युत आयोजना अघि बढाउने, साथै राप्ती र त्यसका सहायक नदीहरूमा जलविद्युत सम्भाव्यता अध्ययन गरी आयोजना सञ्चालन गरिने प्रतिबद्धता गरिएको छ।
जिल्लाका ६४ वटै वडामा नेपाल टेलिकमको एफटिटिएच प्रविधि विस्तार गर्ने, प्रत्येक बस्तीमा फोरजी नेटवर्क पहुँच सुनिश्चित गर्ने तथा हरेक पालिकामा सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij