Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

गौरमा साम्प्रदायिक झडपपछि अनिश्चितकालीन कर्फ्यु

गौरमा साम्प्रदायिक झडपपछि अनिश्चितकालीन कर्फ्यु

प्रतिनिधि सभा निर्वाचनको मुखमा रौतहट जिल्ला सदरमुकाम गौरमा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको छ।

फागुन ७ गते राति गौर नगरपालिका–६ सवगढामा विवाहको जन्ती मस्जिदनजिकबाट बाजा बजाउँदै जाने क्रममा विवाद उत्पन्न भएको थियो। मुस्लिम समुदायले विरोध जनाएपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ। घटनामा कम्तीमा ६ जना घाइते भएका छन्। घाइतेहरूको टाउको र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

स्थानीय प्रशासनको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो। तर शनिबार बिहान पुनः ढुंगा हानाहान भएपछि स्थिति तनावपूर्ण बनेको हो। अवस्था नियन्त्रण बाहिर जान थालेपछि सुरक्षा निकायले दर्जनौँ राउन्ड हवाई फायर र ४० राउन्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ। घटनामा दुई प्रहरीसहित थप ८ जना घाइते भएका छन्।

झडपका क्रममा केही धार्मिक स्थलमा तोडफोड, पाँच मोटरसाइकल, दुई स्कुटर, एक स्कार्पियो गाडी र एक ई–रिक्सामा आगजनी भएको प्रहरीले जनाएको छ। क्षतिको विवरण संकलन गर्ने काम जारी छ।

कर्फ्यु क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा २३ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

रौतहट जिल्लामा धार्मिक कार्यक्रम तथा मूर्ति विसर्जनका क्रममा यसअघि पनि पटक–पटक साम्प्रदायिक झडप हुँदै आएको छ। स्थानीय प्रशासनले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार