Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

नेकपा दोलखाको चुनावी सभा सम्पन्न, प्रचण्डको स्पष्ट सन्देश–अस्थायी ‘हावाहुरी’ले देश एकताबद्ध बनाउन सक्दैन

नेकपा दोलखाको चुनावी सभा सम्पन्न, प्रचण्डको स्पष्ट सन्देश–अस्थायी ‘हावाहुरी’ले देश एकताबद्ध बनाउन सक्दैन

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखा–काठमाण्डौ सम्पर्क निर्वाचन परिचालन समितिको आयोजनामा उपत्यकास्थित अनुपम फुलल्याण्ड, बत्तिसपुतलीमा चुनावी सभा सम्पन्न भएको छ। सभामा दोलखा जिल्लाबाट उपत्यकामा आई विभिन्न पेशा–व्यवसायमा संलग्न करिब ३ हजार दोलखालीको उपस्थिति रहेको जनाइएको छ।

सभाका प्रमुख अतिथि पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव नहुने भन्ने हल्लापछि नलागी दृढतापूर्वक तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन्। उनले निर्वाचन नै वर्तमान राजनीतिक निकासको एकमात्र विकल्प भएको उल्लेख गर्दै देशभर पार्टीको पक्षमा सकारात्मक माहौल बनेको दाबी गरे।

Prachand-d2.jpg

नयाँ राजनीतिक दलहरू, विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उनले अस्थायी ‘हावाहुरी’ भन्दा स्थायी संगठन र स्पष्ट दिशाले मात्र देशलाई एकताबद्ध रूपमा अघि बढाउन सक्ने धारणा राखे। साथै, हिंसा र विध्वंसको राजनीति जनताले स्वीकार नगर्ने उनको भनाइ थियो।

यसै क्रममा नेकपा दोलखाका उम्मेदवार विशाल खड्काले आफ्नो उम्मेदवारी दोलखा र दोलखालीको भविष्यका लागि भएको बताएका छन्। दोलखालाई समृद्धिको बाटोमा अघि बढाउने र जलविद्युत क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको जिल्लाको विकासलाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता थियो। उनले राजनीतिक दलभन्दा माथि उठेर मतदाताले आफूलाई समर्थन गर्ने विश्वास व्यक्त गरे।

Prachand-d1.jpg

सभाका अवसरमा शैलुङ गाउँपालिकाका विभिन्न पार्टी परित्याग गरी करिब दुई दर्जन नेता तथा सक्रिय कार्यकर्ताहरू औपचारिक रूपमा नेकपामा प्रवेश गरेका छन्। यसले जिल्लामा पार्टीको आधार थप सुदृढ भएको आयोजकहरूको दाबी छ।

कार्यक्रम दोलखा–काठमाण्डौ समन्वय समितिका अध्यक्ष ईराज रावतले सञ्चालन तथा निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो।

Prachand-d3.jpg

 

Prachand-d5.jpg

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार