Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

हिमपातको चुनौतीबीच मनाङमा चुनावी तयारी तीव्र

हिमपातको चुनौतीबीच मनाङमा चुनावी तयारी तीव्र

नेपाल सम्वत् ११४६, चिल्लाथ्वः ४, चतुर्थी (९ फागुण, २०८२, २१ फ्रेब्रुअरी, २०२६) शनिवार, बाँपिझ्याला, मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा हिमाली जिल्ला मनाङका केही दुर्गम मतदान केन्द्रको अनुगमन अझै हुन सकेको छैन। लगातारको हिमपात र अत्यधिक चिसोका कारण विकट क्षेत्रसम्म पुग्न सुरक्षा निकाय र प्रशासनलाई चुनौती थपिएको हो।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण विशेषगरी नार्पाभूमि गाउँपालिका अन्तर्गतका पाँच मतदान केन्द्रको अनुगमन बाँकी रहेको छ। सदरमुकाम चामेबाट दुई दिन पैदल हिँड्नुपर्ने नार क्षेत्रमा तीन र फू क्षेत्रमा दुई मतदान केन्द्र रहेका छन्।

यद्यपि मनाङ ङिस्याङ गाउँपालिका का सबै नौ मतदान केन्द्र तथा चामे र नासों गाउँपालिकाका केन्द्रहरूको अनुगमन भने सम्पन्न भइसकेको प्रशासनले जनाएको छ।

मौसम प्रतिकूल भई आवतजावतमा समस्या देखिएपछि ४८८ मतदाता रहेको नार्पाभूमिका मतदान केन्द्रलाई अस्थायी रूपमा सदरमुकाम सार्ने विषयमा स्थानीय तहसँग छलफल भइरहेको प्रजिअ पौड्यालले जानकारी दिए। जिल्ला निर्वाचन कार्यालयले पनि मौसमले साथ नदिए वैकल्पिक व्यवस्थाको तयारी गरिरहेको जनाएको छ।

एउटै निर्वाचन क्षेत्र रहेको मनाङ जिल्ला मा यसपटक कुल सात हजार मतदाता रहेका छन्। तीमध्ये ३,६२३ महिला र ३,३७७ पुरुष छन्। अघिल्लो निर्वाचनको तुलनामा २२१ मतदाता थपिएका छन्।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि टेकबहादुर गुरुङ (नेपाली कांग्रेस), यशोदा सुवेदी गुरुङ (नेकपा) र रामबहादुर गुरुङ (मङ्गोल नेसनल अर्गनाइजेसन) बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार