नेपाल सम्वत् ११४६, चिल्लाथ्वः २, द्धितीया (७ फागुण, २०८२, १९ फ्रेब्रुअरी, २०२६) बिहीबार, बाँपिझ्याला । काठमाडौं–३ मा चुनावी सरगर्मी बढेसँगै यस क्षेत्रको प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। स्थलगत अवलोकन र मतदातासँगको कुराकानीका आधारमा यहाँ मुख्य प्रतिस्पर्धा राजु पाण्डे (राष्ट्रिय स्वतन्त्र पार्टी) र कुलमान घिसिङ (उज्यालो नेपाल पार्टी) बीच केन्द्रित देखिएको छ।
यस क्षेत्रमा ६४ हजारभन्दा बढी मतदाता छन्। तीमध्ये उल्लेख्य हिस्सा पहिले नेपाली कांग्रेस र नेकपा एमाले लाई मत दिएका मतदाता हुन्। तर यसपालि उनीहरूमध्ये धेरैले नयाँ विकल्प रोज्ने संकेत दिएका छन्।
धेरै मतदाताको साझा भनाइ छ— “पुरानाले केही गरेनन्, नयाँलाई एक पटक मौका दिऊँ।”
विशेषगरी युवा र पहिलो पटक मत हाल्न लागेका मतदातामा रास्वपाको ‘घन्टी’ चिन्हप्रति आकर्षण देखिएको छ। कतिपयले उम्मेदवारलाई नचिने पनि दल र नेतृत्वप्रति विश्वासका आधारमा मत दिने बताएका छन्।
बालेन शाह र रवि लामिछाने को प्रभाव यस क्षेत्रमा स्पष्ट देखिन्छ। महानगरमा देखिएको ‘काम गर्ने शैली’ ले युवापुस्तामा रास्वपाप्रति भरोसा बढाएको धेरैले बताए।
यता कुलमान घिसिङप्रति आकर्षण पनि कम छैन। १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेको श्रेय धेरै मतदाताले उनैलाई दिएका छन्। “काम गरेर देखाएको व्यक्ति” का रूपमा उनीप्रति विश्वास देखिएको छ।
धेरै मतदाताले पार्टीभन्दा व्यक्ति रोज्ने मनस्थिति व्यक्त गरेका छन्। उज्यालो पार्टीबारे जानकारी सीमित भए पनि “कुलमानलाई भोट दिन्छु” भन्ने मतदाता उल्लेख्य छन्।
विशेषगरी तामाङ बस्ती र ग्रामीण भेगमा कुलमानप्रति झुकाव बलियो देखिएको छ।
यसअघि आलोपालो जित्दै आएका कांग्रेस र एमाले यसपालि रक्षात्मक अवस्थामा देखिन्छन्।
एमालेप्रति केही मतदातामा असन्तोष देखिए पनि उम्मेदवार रामेश्वर फुयाल को व्यक्तिगत छवि सकारात्मक रहेको प्रतिक्रिया पनि पाइयो।
कांग्रेसमा नेतृत्व परिवर्तनपछि गगन थापा प्रति आशा व्यक्त गर्ने मतदाता पनि भेटिए। तर ती मतदाता पूर्ण रूपमा पार्टीमा फर्किने कि अन्य विकल्प रोज्ने भन्ने अझै स्पष्ट छैन।
काठमाडौं–३ मा ठूलो संख्यामा मतदाता अझै अनिर्णित छन्।
कुलमान कि रास्वपा?
कांग्रेसमै फर्किने कि?
अन्तिम समयमा लिने निर्णयले नतिजा उल्ट्याउन सक्ने देखिन्छ।
समग्रमा हेर्दा काठमाडौं–३ को चुनाव “पुराना दल बनाम नयाँ विकल्प” भन्दा पनि ‘बलियो व्यक्ति बनाम बलियो दल’ को प्रतिस्पर्धा बनेको छ।
हालको माहोलअनुसार रास्वपाका राजु पाण्डे केही अगाडि देखिए पनि कुलमान घिसिङसँगको प्रतिस्पर्धा निकै नजिकको छ। अन्तिम क्षणको मत परिवर्तनले परिणाम जता पनि जान सक्ने संकेत देखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij