Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

इमानदारितालाई पहिलो आधार बनाएर मैदानमा: काठमाडौं–७ मा मानन्धरको दाबी

इमानदारितालाई पहिलो आधार बनाएर मैदानमा: काठमाडौं–७ मा मानन्धरको दाबी

नेपाल सम्वत् ११४६, सिल्लागाः १४, पूर्णिमा (५ फागुण, २०८२, १७ फ्रेब्रुअरी, २०२६) मंगलबार, बाँपिझ्याला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट चुनावी मैदानमा रहेका उनले यसअघि यही क्षेत्रबाट दुईपटक प्रदेशसभा सदस्य निर्वाचित भई मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेको अनुभव प्रस्तुत गर्दै अब संघीय संसदमा पुगेर अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मानन्धरले बागमती प्रदेशसभामा रहँदा जनताले सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको दाबी गर्दै प्रदेश तहमा सीमित बजेटका कारण धेरै काम गर्न नसकिएको स्वीकार गरेका छन्। अब केन्द्रीय तहमा पुगेर कानुन निर्माणमार्फत क्षेत्रका आवश्यकता सम्बोधन गर्ने उनको भनाइ छ। “जनताले दुइपटक पत्याएर जिताउनुभयो, सकेसम्म काम गरेँ, अब अझै ठूलो जिम्मेवारीका लागि तयार छु,” उनले उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमार्फत मतदातालाई सम्बोधन गर्दै उनले घरदैलो कार्यक्रममार्फत प्रत्यक्ष भेटघाट गर्ने, समस्या र अपेक्षाबारे सुझाव संकलन गर्ने तथा प्रभावकारी कानुन निर्माणलाई मुख्य एजेन्डा बनाउने बताएका छन्। उनले आफ्नो व्यक्तिगत सम्पर्क नम्बर सार्वजनिक गर्दै व्यक्तिगत तथा संस्थागत रूपमा सुझाव दिन आग्रहसमेत गरेका छन्।

पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै मानन्धरले राजनीतिक दल र नेतृत्वमा देखिएको दम्भ तथा अहंकारका कारण जनतामा असन्तुष्टि बढेको बताएका छन्। सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित जेनजी पुस्ताले उठाएको आवाज समयमै सम्बोधन हुन नसक्दा अवस्था जटिल बनेको उनको भनाइ छ। प्रतिनिधिसभामा पुगेपछि जनताको आवाज सशक्त रूपमा उठाउने, जनजीविकाका सवाललाई नीति निर्माणको केन्द्रमा राख्ने, संघीयतालाई संविधानको मर्मअनुसार बलियो बनाउने तथा प्रदेश–स्थानीय तहबीच सन्तुलन कायम गर्न पहल गर्ने उनको प्रतिबद्धता छ।

काठमाडौं–७ निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिका का १६, १७, १८ र २५ नम्बर वडा (म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोल आदि क्षेत्र), नागार्जुन नगरपालिका का १, २ र ३ नम्बर वडा तथा तारकेश्वर नगरपालिका का ३, ४ र ५ नम्बर वडा समेटिएका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो चुनाव चिन्ह ‘तारा’मा मतदान गरी विजयी गराउन उनले मतदातासँग आग्रह गरेका छन्। गणतन्त्रको रक्षा, संसदभित्रको अराजकताको अन्त्य र भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउने उद्देश्यसहित आफू उम्मेदवार बनेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार