Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

निर्वाचनको तयारी अन्तिम चरणमा कर्णालीका १० जिल्लामा मतपत्र पठाईयो

निर्वाचनको तयारी अन्तिम चरणमा कर्णालीका १० जिल्लामा मतपत्र पठाईयो

नेपाल सम्वत् ११४६, सिल्लागाः ११, दशमी (१ फागुण, २०८२, १३ फ्रेब्रुअरी, २०२६) शुक्रवार, बाँपिझ्याला । निर्वाचन आयोग नेपाल ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेश का १० जिल्लामा मतपत्र पठाउन सुरु गरेको छ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपाने का अनुसार सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका १२ निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी प्रक्रिया अघि बढाइएको हो।

 

५८ जिल्लाका १२४ क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

आयोगका अनुसार हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि आवश्यक कुल १ करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ भइसकेको छ। कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्ला तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै जिल्लाको मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको जनाइएको छ।

छापिएका मतपत्रमध्ये हालसम्म १४ हजार ३४१ बाकस प्याकिङ भइसकेको छ भने दैनिक करिब एक हजार बाकस प्याकिङ भइरहेको छ।

 

सानोठिमीमा तीव्र गतिमा छपाइ

मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा भइरहेको छ। त्यहाँ दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छाप्ने काम भइरहेको आयोगले जनाएको छ।

मतदाता शिक्षाका लागि करिब ११ लाख नमुना मतपत्र यसअघि नै जिल्लाहरूमा पठाइसकिएको छ।

 

समानुपातिक र प्रत्यक्षतर्फको प्रगति

समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र माघ १३ गते नै छापेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।

प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्नेमा माघ १६ गतेदेखि सुरु भएको छपाइ कार्यले तीव्रता पाएको आयोगले जनाएको छ।

आयोगले फागुन १२ गतेभित्र देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याइसक्ने लक्ष्यसहित सुरक्षा घेराभित्र ढुवानी तथा व्यवस्थापन कार्य अघि बढाएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार