दोलखा त्यसै पनि एक मौलिकताले सजिएको प्राचीन शहर हो । भौगोलिक विविधताको त कुरै नगरौं । प्राकृतिक छटाहरूलाई नियाल्दा सदाबहार वनउपवन, चाँदी स्वरूपका गौरीशंकर हिमाल । अनी आफ्नै ताल र सुरमा कलल आवाजमा बगिरहेको दक्षिण पट्टीको तामाकोशी, यसै गरी सदैव बसन्त, फागु, असारे, गुन्ला, मालश्रीका रागहरू अलाप्दै निरन्तर बगिरहने अँधेरी खोला (खिङ्गौ झोर), दोल्ती खोला, चर्नावती नदीले भरिएको दोलखा । अनि सुन्द्रावती, भोर्लेका छहराहरू, फोप्सती, घुम्टारा, शहरपाका पहराहरू जस्ता अनुपम प्राकृतिक छन्दहरूको मध्यस्थलमा अवस्थित दोलखाको परिवेशमा ऐतिहासिक र प्राचीन संस्कृति संस्कारमा शुशोभित यो दोलखाको महान चाड दसैंको पनि अलग्गै विशेषता रहेको छ ।
यसरी प्राचिन शहर दोलखामा गुञ्जिन्छ ढोलकका धुनहरू ‘टुं टुं.. छ््याइँ छ््याइँु गर्दै । बजार गुञ्जायमान हुन्छ, कोर्छे, श्यामसुन्दर, चामसली, नक्छेँ, गुर्कोट, डाडाँथोक, थात बिहार्छेँ, डोक्छेँ, पिङ्गल (नसु) आदि ठाउँहरू आजको लागि रातभरि जस्तै अनिंदो नै हुन्छन् । किनकि आज ती ठाउँमा खड्ग जात्रामा भाग लिने पात्रहरूलाई सृङ्गार गर्न तम्सेका हुन्छन् । कुनै घरमा कुस्ले बन्धुहरूले शहनाइ मात्र फुकेर ती पात्रहरूलाई लिन जाने गर्छन् भने कुनै घरमा ढोलक, झ्याली (छुस्येल), शहनाइ (म्वारी) स्थानीय वाद्यधुन (नाई बाजा) बजाएर ती पात्रहरूलाई लिन जाने परम्परा छ ।
यस बाजाको बारेमा कुरा गर्नुपर्दा :
दोलखाको अभयपुर शहरमा निकालेर नचाइने खड्ग जात्राको एक रूपतामा अनेकौं कथाहरू भेटिन्छन्, धेरै गाथाहरू समेटिएको हुन्छ । दोलखाको इतिहासका पानाहरू यस्तै त्यस्तै गौरवशाली तथ्यहरूले रटिएको हुन्छ ।
यही खड्ग जात्रा कान्तिपुर, भक्तपुरको तलेजु भवानीमा पनि हुन्छ । त्यस्तै सिन्धुपाल्चोकको तौथलीमा, तानसेन, गोरखा आदि स्थानमा पनि निकालिन्छ, तर दोलखाको खड्ग जात्रामा सम्मिलित खड्ग जात्राको सन्दर्भमा अलग्गे विशेषता पाउन सकिन्छ । माथि उल्लेखित शिर्षकसंग जोडिनु पर्दा आज दोलखाको धेरैजसो टोल र घरबाट एक न एक पात्र खड्गधारी बनेर निस्कने प्रचलन छ । जस्तो कि नक्छेंमि खलकबाट सेनापतिको रूपमा याकरगण (एक्लो अधिपति), कोर्छेँ वा श्यामसुन्दरबाट मूल खाँडा, चामसलीबाट तलेजु भवानीको भगवती, सेङटोलबाट महिषपाल विनाश गर्ने शस्त्रधारी, माथिल्लो बिहार्छेँबाट चेलीको रूपमा, पिङ्गलबाट किचक बधको सहयोगी, दुङ्गल नसुबाट बटिङ्खाँडा (बटुक भैरव), गुर्कोट वा डोकलुङाबाट बटुक भैरवको सहयोगी घण्टी र डमरू समाएर सङ्गसङ्गै हिँड्ने आदि अझ धेरै पात्रहरू हुन्छन् ।
त्यसमध्ये यहाँ उल्लेख गर्न खोजिएको बाजाको धुनबारे भन्नुपर्दा यो खड्गजात्राको मूल उद्देश्य नै असुर राज दैत्य महिषासुरको अन्त्य गरेर स्वर्ग मत्र्य र पाताल तीनै लोकमा शान्ति सुरक्षा व्यवस्थापन गर्ने प्रक्रिया अन्तर्गतको देवी देवताको जमघट भएको सिलसिलामा तैयार गर्नुपर्ने एक नाटकको खलक (समूह) हो । यतिमध्ये यस समूहमा कोर्छेँमिको बुहारी बनेकी र थात बिहार्छेँमिको चेलीको प्रसङ्गमा हेर्दा रणभूमिमा जानकालागि सब्ैजना तैयार भए तर ती राजा खलककी बुहारी अर्थात माथिल्लो बिहार्छेँ खलककी चेलीले सो रणभूमिमा भाग लिन जान आनाकानी गरेर बसेकी रहिछन् । कारण थियो तिनको शारीरिक सौन्दर्यतामा अलिकति कमी ।
बिछट्टै राम्री, भगवती, अनि सुन्दर भएका सेनापति लगायतका अन्य गणहरू आउने त्यो समूहमा आफ्नो रूप त्यत्ति शोभनीय नदेखिने हुँदा ती चेलीले भाग नलिने भनेर आफ्नो माइतमा गएर बसेकी रहिछ भन्ने कुराको जानकारी आएपछि कोर्छेमिको राजा खलकले विजया दशमीको दिनमा आफ्नो भाइ भारदारलाई बोलाएर दूत सहित ध्वजा पता बोकाएर मुलुकमै नभएको बाजाको धुन बजाएर लिन आउने सन्देश पठाएपछि मात्र आउने खबर प्राप्त भयो । त्यसपछि आश्विन शुक्ल एकादशीको दिन बिहानको दोश्रो प्रहरदेखि नै उक्त बाजाको धून बजाउन लाएर लिन पठाएको रहेछ ।
बुहारी हुने पात्रले नजाने अड्डी लिएर बस्दा पनि घरतर्फबाट बिहान नहुँदै अति नै मनै छुने कर्णप्रिय बाजाको धून सहित माइतमै आएर लिन आइसकेको थाहा पाएपछि उनी आउन तैयार भइछ । त्यसपछि उनीलाई लिएर आएर राजकुलेश्वरको तलेजु भवानीमा लगेर भगवतीसंग चिनापर्ची गराएर सबै युद्धकलाको बारेमा ज्ञान दिलाएपछि अनि युद्धभूमिमा जान तैयारीका साथ निस्कने अभिप्रायले सो जात्राको प्रारम्भ हुन्छ ।
आजको सो खड्गजात्रा सोही तलेजुभवानी राजकुलेश्वरको प्राङ्गणबाट प्रारम्भ भएर दोलखाको मूलमार्गबाट तल्लोटोलको नक्छेँ, कोर्छेँ, गुर्कोट, टसिचा, रास्नी उकालो, माथिल्लो टोल, भीमसेनथान, काली मन्दिर, त्रिपुरासुन्दरी, दुङ्गल र पिङ्गल हुँदै जात्राको समापन हुन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij