Nov 06 2026 | २०८३, कार्तिक २०, गते

Nov 06 2026 | २०८३, कार्तिक २०, गते

सरकारमाथि प्रश्न उठाउँदा सभापति थापालाई पक्राउ गर्ने हल्ला फैलाइयो : कांग्रेस

सरकारमाथि प्रश्न उठाउँदा सभापति थापालाई पक्राउ गर्ने हल्ला फैलाइयो : कांग्रेस

नेपाल सम्वत् ११४७, कौलागाः १२, द्वादसी (२० कार्तिक २०८३, ६ नोभेम्वर, २०२६) शुक्रवार, बाँपिझ्याला । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई पक्राउ गर्न लागिएको भन्दै फैलाइएको चर्चालाई राजनीतिक षड्यन्त्र र सरकार संरक्षित समूहबाट भ्रम सिर्जना गर्ने प्रयासको संज्ञा दिएको छ ।

सरकारका कामकारबाहीमाथि प्रश्न उठाउन थालेपछि पार्टी नेतृत्व र कार्यकर्तामाथि निगरानी राख्ने, त्रास सिर्जना गर्ने तथा पक्राउको हल्ला फैलाउने काम भएको कांग्रेसको निष्कर्ष छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी बैठकले सभापति थापालाई पक्राउ गर्ने भन्दै फैलाइएको हल्लाको राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो । पार्टीले सरकारका गतिविधिमाथि प्रश्न उठाउनु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै यस्ता प्रयासबाट आफ्नो आवाज दबाउन नसकिने जनाएको छ ।

कांग्रेस नेताहरूले सभापति थापाको निवास तथा काठमाडौंको ज्ञानेश्वरस्थित सम्पर्क कार्यालय आसपास केही दिनयता सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी गरिएको दाबी गरेका छन् । महामन्त्री उदयशमशेर राणाले सभापति थापालाई पक्राउ गर्ने चर्चा हल्लामा मात्र सीमित नभई सूचना पनि प्राप्त भएको दाबी गर्नुभएको छ ।

कांग्रेसले सरकारका गतिविधिविरुद्ध उठाइएको आवाज दबाउन पार्टी नेतृत्वलाई लक्षित गरी विभिन्न माध्यमबाट भ्रम फैलाइएको आरोप लगाएको छ । यस विषयलाई संसद्, संसदीय समिति तथा कानुनी प्रक्रियामार्फत उठाउने पार्टीको तयारी छ ।

यता प्रधानमन्त्रीको सचिवालयले सभापति थापालाई पक्राउ गर्ने विषयमा आफूहरूलाई कुनै जानकारी नभएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले पनि थापालाई पक्राउ गर्ने वा निगरानीमा राख्ने विषयमा प्रहरीलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ ।

कांग्रेस सभापति थापा पछिल्लो समय सरकारका कामकारबाही, सञ्चारगृहमा प्रहरी प्रवेश तथा पत्रकार पक्राउलगायतका विषयमा निरन्तर प्रश्न उठाउँदै आउनुभएको छ । यही पृष्ठभूमिमा पार्टी नेतृत्वविरुद्ध सार्वजनिक भएका आरोप र पक्राउको चर्चालाई लिएर कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेसले पार्टी नेतृत्वविरुद्ध फैलाइएका आरोपहरूको निष्पक्ष छानबिन हुनुपर्ने र राजनीतिक गतिविधिमा त्रास सिर्जना गर्ने कार्य बन्द हुनुपर्ने मागसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार