Nov 06 2026 | २०८३, कार्तिक २०, गते

Nov 06 2026 | २०८३, कार्तिक २०, गते

विमानस्थलको ब्यागेज व्यवस्थापन अब यात्रुले लाइभ हेर्न पाउने

विमानस्थलको ब्यागेज व्यवस्थापन अब यात्रुले लाइभ हेर्न पाउने

नेपाल सम्वत् ११४७, कौलागाः १२, द्वादसी (२० कार्तिक २०८३, ६ नोभेम्वर, २०२६) शुक्रवार, बाँपिझ्याला । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउन नयाँ व्यवस्था लागू गरिएको छ । अब अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारेर ब्यागेज बेल्टसम्म पुर्‍याउने प्रक्रियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) आगमन कक्षमै हेर्न पाउने भएका छन् ।

विमानस्थलको आगमन कक्षस्थित ब्यागेज क्लेम क्षेत्रमा ब्यागेज ड्रप एरियाको लाइभ फिड उपलब्ध गराइएको हो । यस व्यवस्थाले यात्रुलाई आफ्नो सामानको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन सहज बनाउनेछ भने ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न कति समय लाग्छ भन्नेबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन । सामानको प्रतीक्षामा यात्रुहरू अन्योलमा पर्ने तथा ब्यागेज व्यवस्थापन प्रक्रियाबारे पर्याप्त सूचना नहुँदा असहजता भोग्नुपर्ने अवस्था थियो ।

नयाँ व्यवस्थासँगै ब्यागेज ड्रप क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षबाटै देख्न सकिने भएपछि यात्रुले आफ्नो सामानको अवस्थाबारे जानकारी पाउनेछन् । यसले प्रतीक्षालाई सहज बनाउनुका साथै विमानस्थलको सेवा प्रवाहमा पारदर्शिता अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।

पछिल्लो समय विमानस्थलको सेवा सुधार, प्रविधिको प्रयोग र यात्रुको सुविधालाई प्राथमिकतामा राखेर विभिन्न पहल भइरहेका छन् । मन्त्री पौडेलको पहलमा अघि बढाइएको यस व्यवस्थाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अनुभवलाई थप प्रभावकारी, पारदर्शी र यात्रुमैत्री बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार