नेपाल सम्वत् ११४६, कौलागाः ६, षष्ठी (१४ कार्तिक २०८३, ३१ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सञ्चारमाध्यमका कार्यालयमै पुगेर पत्रकार पक्राउ गर्ने तथा खोजी गर्ने प्रहरी गतिविधिको विरोध गर्दै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै नेकपाले समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गर्ने र सञ्चारमाध्यमलाई त्रसित पार्ने गतिविधिप्रति गम्भीर आपत्ति जनाएको हो।
पार्किङमा अवरोध पुर्याएको घटनादेखि जनआस्थाका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीसम्मका घटनालाई स्मरण गराउँदै नेकपाले पछिल्लो समय नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई न्युजरुमबाटै पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
यस्ता गतिविधि संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकमाथिको हस्तक्षेप भएको उल्लेख गर्दै नेकपाले सरकार शृङ्खलाबद्ध रूपमा प्रेस स्वतन्त्रताविरुद्ध उत्रिएको देखिएको आरोप लगाएको छ।
‘नेपाली कम्युनिस्ट पार्टी सरकारको यसप्रकारको असंवैधानिक र अलोकतान्त्रिक रवैयाको घोर निन्दा एवं भर्त्सना गर्दै राज्य आतंक तत्काल बन्द गर्न र पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
शुक्रबार प्रहरीले काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर तीन जना पत्रकारलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराल रहेका थिए।
यसैगरी प्रहरीले दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा, सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको समेत खोजी गरेको थियो।
पत्रकार पक्राउ गर्ने प्रहरी गतिविधिको विभिन्न पत्रकार संघसंस्था तथा राजनीतिक दलका नेताहरूले विरोध गरेका थिए। चौतर्फी आलोचना भएपछि प्रहरीले नियन्त्रणमा लिएका तीनै जना पत्रकारलाई रिहा गरेको थियो।
नेकपाले प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधारभूत मान्यता भएको उल्लेख गर्दै पत्रकारलाई निर्बाध रूपमा समाचार संकलन, लेखन तथा प्रकाशन गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij