नेपाल सम्वत् ११४६, कौलागाः ६, षष्ठी (१४ कार्तिक २०८३, ३१ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले सल्लाहकार समिति गठन गरेको छ। च्याप्टरले कार्यसमिति सदस्य तथा साहित्यकार शान्ति रिसाललाई महिला समितिको संयोजकमा समेत चयन गरेको छ।
अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहालका अनुसार गठित सल्लाहकार समितिमा अनेसासका केन्द्रीय सदस्य तथा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष राजेन्द्र के.सी., साहित्यकार तथा समाजसेवी अस्मिता सुमार्गी, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, साहित्यकार एवं मधेशी आयोगकी सदस्य रेणुदेवी साह र नेपाल च्याप्टरकी पूर्वअध्यक्ष तथा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकी सदस्य सन्ध्या पहारी रहेका छन्।

सल्लाहकार समितिमा चयन भएका व्यक्तित्वहरू नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। उनीहरूको अनुभव, सिर्जनात्मक योगदान र संस्थागत संलग्नताले अनेसास नेपाल च्याप्टरको आगामी गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाली कला र संस्कृतिका प्रवर्द्धक राजेन्द्र के.सी.
सल्लाहकार राजेन्द्र के.सी. नेपाली चलचित्र क्षेत्रमार्फत भाषा, कला तथा संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका व्यक्तित्व हुन्। अनेसास नेपाल च्याप्टरको वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका के.सी. नेपाल चलचित्र विकास बोर्डको सदस्य तथा अनेसास केन्द्रीय संस्कृति समितिमा रहेर पनि काम गरिसकेका छन्। हाल उनी अनेसासका केन्द्रीय सदस्यका रूपमा क्रियाशील छन्। उनको ‘मौन आकाश’ कवितासङ्ग्रह प्रकाशित छ भने विभिन्न पत्रपत्रिका तथा साहित्यिक प्रकाशनमा उनका लेखरचना प्रकाशित हुँदै आएका छन्।
साहित्य र सामाजिक सेवामा सक्रिय अस्मिता सुमार्गी
सल्लाहकार अस्मिता सुमार्गी साहित्य, सामाजिक सेवा र व्यवसायका क्षेत्रमा परिचित नाम हुन्। अनेसासको आजीवन सदस्य रहेर नेपाल च्याप्टरको संस्थागत विकासमा निरन्तर सहयोग गर्दै आएकी सुमार्गी साहित्यप्रतिको अनुराग र सामाजिक सेवाप्रतिको समर्पणलाई सँगसँगै अघि बढाइरहेकी छन्। उनका विभिन्न लेखरचना स्मारिका तथा पत्रपत्रिकामा प्रकाशित छन्।
महाकाव्य र बहुविध साहित्यका साधक खेमनाथ दाहाल
वरिष्ठ साहित्यकार खेमनाथ दाहालले नेपाली वाङ्मयमा महाकाव्यकारका रूपमा विशिष्ट पहिचान स्थापित गरेका छन्। उनका दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन्। ‘श्वेतपत्र’ महाकाव्यबाट विशेष ख्याति कमाएका दाहालका ‘म त बन्दी भएको छु’, ‘हावर्डको चौतारी’ कवितासङ्ग्रह, ‘यात्राको सिकर्नी’ नियात्रासङ्ग्रह र ‘अहोरात्र’ उपन्यासलगायतका कृति चर्चित छन्।
कविता, महाकाव्य, आख्यान, नियात्रा तथा समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका दाहालको ‘सिर्जनामा दृष्टि’ भूमिका सङ्ग्रहसमेत प्रकाशित छ। उनले दुई दर्जनभन्दा बढी साहित्यिक कृतिमा भूमिका तथा समालोचना लेखिसकेका छन्। सन् २००४ देखि अनेसासको आजीवन सदस्य रहेका उनी बोर्ड अफ ट्रस्टीमा समेत आबद्ध छन्। नेपाली साहित्यको सिर्जना, समीक्षा र संस्थागत अभियानमा लामो समयदेखि सक्रिय दाहालको अनुभवले च्याप्टरलाई वैचारिक तथा साहित्यिक मार्गदर्शन प्रदान गर्ने विश्वास गरिएको छ।
भाषा साहित्य र महिला अधिकारमा सक्रिय रेणुदेवी साह
सल्लाहकार रेणुदेवी साह साहित्यिक अभिरुचिका साथै महिला अधिकारका क्षेत्रमा पनि सक्रिय छिन्। हाल मधेशी आयोगकी सदस्य रहेकी उनले मधेश क्षेत्रमा नेपाली भाषा तथा साहित्यको प्रवर्द्धनका लागि विभिन्न साहित्यिक सभा, गोष्ठी तथा गतिविधिमा सहभागिता जनाउँदै आएकी छन्। अनेसासको आजीवन सदस्यका रूपमा संस्थाको सङ्गठनात्मक विस्तारमा समेत सक्रिय साहका लेखरचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्।
साहित्यिक साधना र संस्थागत अनुभवकी धनी सन्ध्या पहारी
नेपाल च्याप्टरकी पूर्वअध्यक्ष सन्ध्या पहारी अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकी सदस्यका रूपमा आबद्ध छिन्। साहित्यिक साधना र स्पष्ट वैचारिक दृष्टिकोणका लागि परिचित पहारीका विभिन्न विधाका साहित्यिक कृति प्रकाशित छन्। उनले नेपाल प्रज्ञा–प्रतिष्ठानमा लामो समयसम्म उच्च जिम्मेवारीमा रहेर नेपाली भाषा तथा साहित्यको संवर्द्धनमा योगदान पुर्याएकी थिइन्। अनेसासमार्फत नेपाली भाषा, साहित्य र सिर्जनाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अभियानमा पनि उनी निरन्तर क्रियाशील रहँदै आएकी छन्।
शान्ति रिसाल महिला समिति संयोजकमा चयन
यसैबीच, अनेसास नेपाल च्याप्टरले कार्यसमिति सदस्य तथा साहित्यकार शान्ति रिसाललाई महिला समितिको संयोजकमा चयन गरेको छ। नेपाली साहित्यमा महिलाको सिर्जनात्मक उपस्थिति, सहभागिता र नेतृत्वलाई थप सशक्त बनाउने उद्देश्यले उनको संयोजकत्वमा महिला समिति गठन प्रक्रिया अघि बढाइएको हो।
समितिले छिट्टै पूर्णता पाउने अपेक्षा गरिएको छ। समितिमार्फत महिला साहित्यकारका सिर्जना, प्रतिभा र विचारलाई संस्थागत मञ्च प्रदान गर्नुका साथै साहित्यिक गतिविधिमा महिलाको सहभागिता र नेतृत्व अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
महासचिव दाहालका अनुसार अनेसास नेपाल च्याप्टरले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न विधागत समितिहरू क्रमशः गठन गर्दै लैजाने योजना बनाएको छ। यस पहलले नेपाली सिर्जनालाई अन्तर्राष्ट्रिय समुदायमाझ पुर्याउन, प्रवास र मातृभूमिबीचको साहित्यिक सम्बन्धलाई थप सुदृढ बनाउन तथा नयाँ पुस्तालाई नेपाली भाषा र साहित्यसँग जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ।
साहित्यकारहरूको अनुभव, सिर्जनात्मक योगदान र संस्थागत सहकार्यलाई एकीकृत गर्दै अघि बढाइएको यस पहलले अनेसास नेपाल च्याप्टरको गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै, नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विश्वव्यापी प्रवर्द्धनमा समेत नयाँ ऊर्जा थपिने विश्वास लिइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij