Oct 22 2026 | २०८३, कार्तिक ६ गते

Oct 22 2026 | २०८३, कार्तिक ६ गते

आज विजया दशमी, बिहान १०:२६ बजे टीकाको उत्तम साइत

आज विजया दशमी, बिहान १०:२६ बजे टीकाको उत्तम साइत

नेपाल सम्वत् ११४७, कौलाथ्वः १० दशमी, (४ कार्तिक २०८३, २१ अक्टोबर, २०२६) बुधबार, बाँपिझ्याला । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी हर्षोल्लासका साथ मनाइँदै छ। आश्विन शुक्ल दशमीका दिन मनाइने यस पर्वमा मान्यजनबाट देवीको प्रसादस्वरूप रातो टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ। देशभरका घरपरिवारमा टीका लगाउने, आशीर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने क्रमसँगै बडादशैंको उल्लास छाएको छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। समितिले देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४९ मिनेटका लागि निर्धारण गरेको छ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि शुभ साइतमै टीका ग्रहण गर्न चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय निर्धारण गरिएको हो।

समितिका अनुसार शुभ साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने हुन्छ। धार्मिक मान्यताअनुसार विधिपूर्वक देवीको प्रसाद ग्रहण गर्दै मान्यजनबाट आशीर्वाद लिने चलन छ।

बडादशैंको मुख्य दिनका रूपमा रहेको विजया दशमीमा नवदुर्गा भवानीको पूजा–आराधना गरी घटस्थापनाका दिनदेखि पूजा गरेर राखिएको जमरा र रातो टीका प्रसादका रूपमा ग्रहण गरिन्छ। यस दिन परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनले आफूभन्दा कान्छालाई टीका र जमरा लगाइदिँदै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरी आशीर्वाद दिने परम्परा छ।

रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा घरपरिवारबाट टाढा रहेका नेपालीहरू पनि दशैं मनाउन आफ्नो जन्मथलो तथा घर फर्कने भएकाले विजया दशमी पारिवारिक पुनर्मिलनको विशेष अवसरका रूपमा समेत परिचित छ। वर्षभरि टाढा रहेका परिवारका सदस्य, आफन्त र इष्टमित्र एकै ठाउँमा भेला भएर खुसी साटासाट गर्ने तथा सम्बन्धलाई थप प्रगाढ बनाउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ।

नेपालमा राष्ट्रिय चाडका रूपमा मनाइने बडादशैंको मुख्य दिन विजया दशमीमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ। कतिपय समुदाय तथा स्थानमा भने कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका र आशीर्वाद थाप्ने परम्परा कायम रहेको छ।

धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको विजया दशमीले आपसी सद्भाव, पारिवारिक एकता, प्रेम र भाइचाराको सन्देश दिने विश्वास गरिन्छ। यस अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले एकअर्कामा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना आदानप्रदान गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार