Oct 04 2026 | २०८३, आश्विन १८ गते

Oct 04 2026 | २०८३, आश्विन १८ गते

रोनाल्डोले छाडे पोर्चुगलको प्रशिक्षण क्याम्प, डेनमार्कविरुद्धको खेलमा टोलीमा परेनन्

रोनाल्डोले छाडे पोर्चुगलको प्रशिक्षण क्याम्प, डेनमार्कविरुद्धको खेलमा टोलीमा परेनन्

नेपाल सम्वत् ११४६, यंलागाः ६, षष्ठी (१६ असोज २०८३, २ अक्टोबार, २०२६) शुक्रवार, बाँपिझ्याला । पोर्चुगलका स्टार खेलाडी तथा कप्तान क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। नेसन्स लिगअन्तर्गत डेनमार्कविरुद्ध हुने खेलका लागि मुख्य प्रशिक्षक जर्ज जिससले रोनाल्डोलाई टोलीमा नराख्ने घोषणा गरेपछि उनले प्रशिक्षण क्याम्प छाड्ने निर्णय गरेका हुन्।

रोनाल्डोले बुधबार राति सामाजिक सञ्जालमार्फत पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्सासँग कुराकानी गरेपछि क्याम्प छाड्ने निर्णय गरेको जानकारी दिएका छन्। उनले क्याम्प छाड्नुको कारण तत्काल सार्वजनिक नगर्ने र उचित समयमा पोर्चुगिज समर्थकलाई जानकारी गराउने बताएका छन्।

यसअघि ४१ वर्षीय रोनाल्डो नर्वेविरुद्धको खेलमा पनि मैदानमा उत्रिएका थिएनन्। त्यसपछि उनले राष्ट्रिय टोलीसँग नियमित प्रशिक्षणसमेत गरेका थिएनन्। प्रशिक्षक जिसससँग रोनाल्डोको सम्बन्धमा तनाव बढिरहेको चर्चा भइरहेका बेला उनले प्रशिक्षण क्याम्प छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

नर्वेविरुद्धको खेलअघि प्रशिक्षक जिससले रोनाल्डो खेल्ने सम्भावना रहेको बताएका थिए। तर, खेलका क्रममा उनलाई मैदानमा उतारिएन। दोस्रो हाफमा रोनाल्डोलाई वार्मअप गराइए पनि उनले खेल्ने अवसर पाएनन्। खेलपछि प्रशिक्षक जिससले रोनाल्डोलाई मैदानमा नपठाउनु आफ्नो गल्ती भएको स्वीकार गरेका थिए।

जिससले खेलाडीलाई मैदानमा उतार्ने वा बेन्चमा राख्ने निर्णय पूर्णतः प्रशिक्षकको अधिकार भएको बताएका छन्। उनले रोनाल्डोसँग आफूहरूको कुनै समस्या नरहेको दाबी गर्दै टोलीका सबै खेलाडीका लागि समान नियम लागू हुने बताएका छन्।

पोर्चुगल नेसन्स लिगको समूह ‘ए४’ मा दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ। डेनमार्क र नर्वेको समान तीन अंक छ भने वेल्सले अहिलेसम्म अंक जोड्न सकेको छैन।

रोनाल्डोको नाममा १४६ अन्तर्राष्ट्रिय गोल

दुई दशकभन्दा लामो समयदेखि पोर्चुगलको राष्ट्रिय टोलीबाट खेल्दै आएका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १४६ गोल गरेका छन्। राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको विश्व कीर्तिमान उनकै नाममा छ।

रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ मा पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो। त्यसैगरी पोर्चुगलले नेसन्स लिगको उपाधि दुईपटक जित्दा पनि रोनाल्डो टोलीका महत्वपूर्ण सदस्य थिए।

तर, पछिल्लो समय राष्ट्रिय टोलीमा रोनाल्डो र केही प्रशिक्षक तथा खेलाडीबीचको सम्बन्धबारे विभिन्न चर्चा हुँदै आएका छन्। पछिल्लो घटनाक्रमले पोर्चुगलको राष्ट्रिय टोलीमा रोनाल्डोको भूमिकालाई लिएर थप चासो बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार