नेपाल सम्वत् ११४६, यंलाथ्वः ७, सप्तमी (२ असोज २०८३, १८ सेप्टेम्वर, २०२६) शुक्रबार, बाँपिझ्याला । माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले भोली असोज ३ गते जलाशयमा जम्मा भएको बालुवा तथा थिग्रा सफाइ गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसका कारण तामाकोशी नदीमा पानीको सतह बढ्ने–घट्ने क्रम भइरहने भएकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रद्वारा जारी सूचनाअनुसार भोली बिहान १०ः३० बजेदेखि दिउँसो २ः३० बजेसम्म दोलखाको बिगु गाउँपालिका–१ स्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय र बालुवा थिग्र्याउने पोखरी (डिसिल्टिङ बेसिन) सफाइ गरिनेछ।
केन्द्रका अनुसार उक्त अवधिमा तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, क्षेत्रक्षेत्र, गोंगर, जगत, डुनिटर, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, मालुखोला, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीसँगको दोभानसम्म तामाकोशी नदीको पानीको बहाव र सतहमा उतारचढाव हुन सक्छ।
यसलाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रका स्थानीयवासीलाई नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटी–बालुवा निकाल्ने तथा सवारी साधन तार्ने जस्ता गतिविधि नगर्न आग्रह गरिएको छ।
त्यस्तै नदी किनारमा परम्पराअनुसार गरिने दाहसंस्कार तथा अन्य धार्मिक संस्कारका कार्यहरू पनि अत्यन्त सावधानीपूर्वक गर्न माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले अनुरोध गरेको छ।
जलाशय सफाइका क्रममा नदीको बहावमा अस्थायी परिवर्तन हुन सक्ने भएकाले स्थानीय बासिन्दा तथा नदी आसपासका क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij