Oct 13 2026 | २०८३, आश्विन २७ गते

Oct 13 2026 | २०८३, आश्विन २७ गते

रक्षाबन्धनको रौनकले गुञ्जियो मधेश : बजारदेखि बस्तीसम्म पर्वको उत्साह

रक्षाबन्धनको रौनकले गुञ्जियो मधेश : बजारदेखि बस्तीसम्म पर्वको उत्साह

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १२, द्वादसी (८ भाद्र २०८३, २४ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । साउन शुक्ल पूर्णिमा नजिकिँदै जाँदा मधेश प्रदेशका जिल्लाहरूमा रक्षाबन्धन पर्वको रौनक छाउन थालेको छ। दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको प्रतीक मानिने यस पर्वको तयारीसँगै बजार, गाउँ–टोल र बस्तीहरूमा रक्षाबन्धनका गीत तथा धुन गुञ्जिन थालेका छन्।

पर्व नजिकिएसँगै सहरदेखि ग्रामीण क्षेत्रसम्मका पान पसल, किराना पसल तथा सार्वजनिक स्थलहरूमा रक्षाबन्धनसँग सम्बन्धित गीतहरू बज्न थालेका छन्। सामान्य दिनमा विभिन्न किसिमका गीतसङ्गीत सुनिने स्थानहरूमा अहिले पर्वको माहोल झल्काउने धुनले विशेष स्थान पाएको छ।

सप्तरीको रूपनी गाउँपालिका–२ का देवनारायण साहका अनुसार केही दिनयता बजार क्षेत्रमा रक्षाबन्धनका गीतहरूको प्रभाव उल्लेखनीय रूपमा बढेको छ। “ग्राहकहरूले पनि रक्षाबन्धनकै गीत सुन्न रुचाउँछन्। पर्व नजिकिएसँगै बजारको वातावरण नै फेरिएको छ,” उनले बताए।

स्थानीय एफएम रेडियोहरूमा समेत रक्षाबन्धनका गीतहरूको माग बढेको छ। एफएम सञ्चालक दीपक गुप्ताका अनुसार श्रोताहरूबाट रक्षाबन्धनसम्बन्धी गीत बजाउन आग्रह आउने क्रम बढेको छ। पर्व नजिकिँदै जाँदा श्रोताको रुचि पनि त्यहीअनुसार परिवर्तन भएको उनले बताए।

यता, दाजुभाइ तथा दिदीबहिनीहरू पनि पर्वको तयारीमा जुटिसकेका छन्। राजविराज–७ की रञ्जुकुमारी रक्षाबन्धनका लागि आवश्यक सामग्रीको जोहोमा व्यस्त छिन्। उनका अनुसार दिदीबहिनीहरूले भाइका लागि राखी, मिठाइ तथा अन्य सामग्रीको तयारी गर्छन् भने भाइहरूले पनि दिदीबहिनीलाई उपहार दिने चलनले पर्वलाई अझ विशेष बनाउने गरेको छ।

रक्षाबन्धन नजिकिएसँगै बजारमा राखी तथा अन्य पर्व लक्षित सामग्रीको कारोबार पनि बढ्न थालेको छ। व्यवसायीहरूले विभिन्न डिजाइन, रङ र आकारका रेडिमेड राखी बिक्रीका लागि ल्याएका छन्। आकर्षक राखी तथा सजावटी सामग्रीले पसलहरू सजिन थालेका छन्।

राजविराजका व्यवसायी अजयकुमार साहका अनुसार पछिल्ला वर्षहरूमा ग्राहकको रोजाइ आधुनिक तथा आकर्षक डिजाइनका रेडिमेड राखीतर्फ बढी केन्द्रित भएको छ। परम्परागत धागोबाट बनाइने राखीको बिक्री तुलनात्मक रूपमा घट्दै गएको उनले बताए।

रक्षाबन्धनले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ। यस अवसरमा दिदीबहिनीहरूले भाइको हातमा राखी बाँधेर दीर्घायु, सुख, समृद्धि र सफलताको कामना गर्छन् भने भाइहरूले दिदीबहिनीको सम्मान र संरक्षणको प्रतिबद्धता जनाउने परम्परा रहिआएको छ।

राखी बाँधिसकेपछि भाइहरूले आफ्नो क्षमता अनुसार दिदीबहिनीलाई कोशेली तथा उपहार दिने चलन पनि छ। मिठाइ, कपडा, नगद तथा अन्य उपहार आदानप्रदान गरेर पर्व मनाइन्छ। समयसँगै उपहारको स्वरूपमा परिवर्तन आए पनि दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता नै पर्वको मूल भावका रूपमा कायम रहेको छ।

मधेशमा रक्षाबन्धनको आफ्नै सामाजिक तथा सांस्कृतिक विशेषता छ। विभिन्न समुदायले आ–आफ्नो परम्परा र संस्कृतिअनुसार पर्व मनाए पनि पारिवारिक सम्बन्ध, स्नेह र विश्वासलाई सुदृढ बनाउने साझा भावना यस पर्वको मुख्य विशेषता हो।

पण्डित बद्रीनारायण झाका अनुसार यस वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन भदौ १२ गते शुक्रबार परेको छ। पर्व नजिकिँदै जाँदा बजारमा राखी तथा मिठाइको कारोबार बढेको छ भने गाउँ–टोलमा गुञ्जिने रक्षाबन्धनका गीतले वातावरणलाई थप उल्लासमय बनाएको छ।

६७ वर्षीय प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाका अनुसार आधुनिकतासँगै राखीको स्वरूप र उपहार दिने शैलीमा परिवर्तन आए पनि रक्षाबन्धनले बोकेको प्रेम, विश्वास र आत्मीयताको भावना भने पुस्तौँदेखि निरन्तर जीवित छ। उनका अनुसार मधेशमा गुञ्जिन थालेको रक्षाबन्धनको धुनले यही सांस्कृतिक विरासत र पारिवारिक आत्मीयतालाई नयाँ पुस्तासम्म जोड्ने काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार