Oct 13 2026 | २०८३, आश्विन २७ गते

Oct 13 2026 | २०८३, आश्विन २७ गते

भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिन्छौँ, ढुक्क हुनुस् : मन्त्री रावल

भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिन्छौँ, ढुक्क हुनुस् : मन्त्री रावल

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ११ एकादशी (७ भाद्र २०८३, २३ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्वासीलाई सरकारले लालपुर्जा उपलब्ध गराउने भएकाले ढुक्क भएर बस्न आग्रह गरेकी छन्।

आइतबार कृष्णपुर नगरपालिकामा भूमिहीन सुकुम्वासीसँग भेटघाट गर्दै मन्त्री रावलले सुकुम्वासीको समस्या समाधानका लागि सरकारले आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको बताइन्। उनले लालपुर्जा वितरणको बाटो खुलिसकेको भन्दै सुकुम्वासीलाई सरकारको निर्णयप्रति विश्वास गर्न आग्रह गरिन्।

“तपाईंहरूलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ, कानुनमा सुधार भइसकेको छ,” मन्त्री रावलले भनिन्।

उनका अनुसार विद्यमान कानुनी व्यवस्थामा रहेका केही प्रावधानका कारण देशभरका भूमिहीन सुकुम्वासीको समस्या समाधानमा कठिनाइ भइरहेको छ। त्यसैले आवश्यक कानुन संशोधन गरेर सुकुम्वासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने सरकारको तयारी रहेको उनले बताइन्।

“देशैभरका सुकुम्वासीको समस्या समाधानका लागि ऐनमा धेरै संशोधन गर्नुपर्ने छ। अहिलेको कानुनमा केही बाधा–अड्चन छन्,” मन्त्री रावलले भनिन्, “सुकुम्वासीको समस्या समाधान गर्न सरकार तत्पर छ। कानुनमा देखिएका समस्या सुधार गर्छौँ।”

मन्त्री रावलले भूमिहीन सुकुम्वासीको समस्या सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्दै उनीहरूलाई आफू बसोबास गर्दै आएको स्थानबाट विस्थापित नगरिने आश्वासनसमेत दिइन्।

“तपाईंहरू बसिरहेको ठाउँबाट उठाउने काम सरकारले गर्दैन। तपाईंहरू ढुक्क हुनुस्, सरकारले तपाईंहरूलाई लालपुर्जा दिन्छ,” उनले भनिन्।

उनले सुकुम्वासीका विषयमा फैलाइने विभिन्न अफवाह र भ्रममा नपर्नसमेत आग्रह गरिन्। सरकारले कानुनी प्रक्रिया पूरा गरी भूमिहीन सुकुम्वासीको समस्या समाधान गर्ने भएकाले अनावश्यक रूपमा त्रसित नहुन उनले आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार