नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ८ अष्ठमी (४ भाद्र २०८३, २० अगष्ठ २०२६) बिहीबार, बाँपिझ्याला । सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटीको ११२औँ जन्मजयन्तीको अवसरमा ‘दोलखाका लोकनायकहरू’ पुस्तक लोकार्पण तथा नन्दप्रसाद–जानुका स्मृति सम्मान समारोह सम्पन्न भएको छ। कार्यक्रममा दोलखाको सामाजिक क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठलाई नन्दप्रसाद–जानुका स्मृति सम्मान प्रदान गरिएको छ।
नन्दप्रसाद–जानुका फाउन्डेसनको आयोजनामा घुम्बाराहीस्थित होटल स्मार्टमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रम फाउन्डेसनका अध्यक्ष तथा नन्दप्रसाद शिवाकोटी र जानुका शिवाकोटीकी नाति नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीको सभापतित्वमा सम्पन्न भएको हो।
दोलखा जिल्लाको पहिलो विद्यालयका रूपमा रहेको क्षमावती माध्यमिक विद्यालय स्थापनामा महत्वपूर्ण योगदान पु¥याउनुका साथै जिल्लाको सामाजिक, शैक्षिक तथा सार्वजनिक क्षेत्रमा नन्दप्रसाद शिवाकोटीले पु¥याएको योगदानको स्मरण गर्दै जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिएको फाउन्डेसनले जनाएको छ।
कार्यक्रममा वरिष्ठ इन्जिनियर श्रेष्ठलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर ‘नन्दप्रसाद–जानुका स्मृति सम्मान’ प्रदान गरिएको थियो। दोलखाको सामाजिक विकास तथा सार्वजनिक क्षेत्रमा श्रेष्ठले पु¥याउँदै आएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा दोलखाको सामाजिक, शैक्षिक, राजनीतिक तथा सार्वजनिक जीवनमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरूको योगदान समेटिएको ‘दोलखाका लोकनायकहरू’ पुस्तकसमेत लोकार्पण गरिएको छ।
पुस्तकमा दोलखाको इतिहास, समाज निर्माण, शिक्षा, राजनीति तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तित्वहरूको योगदानलाई अभिलेखीकरण गरिएको छ। स्थानीय इतिहासमा योगदान दिएका व्यक्तित्वहरूलाई नयाँ पुस्तामाझ परिचित गराउने र उनीहरूको योगदानलाई दस्तावेजका रूपमा सुरक्षित गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको आयोजकले जनाएको छ।
‘दोलखाका लोकनायकहरू’ ले जिल्लाको सामाजिक तथा राजनीतिक इतिहासका महत्वपूर्ण पात्र, घटना र योगदानलाई बुझ्न थप आधार प्रदान गर्ने विश्वास आयोजकको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति गगन थापाले दोलखाको इतिहास, संस्कृति, शिक्षा, राजनीति र सामाजिक विकासमा योगदान दिएका व्यक्तित्वहरूको पहिचान तथा योगदानलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्नु वर्तमान पुस्ताको महत्वपूर्ण जिम्मेवारी रहेको बताए।
थापाले ‘दोलखाका लोकनायकहरू’ पुस्तकले स्थानीय इतिहास र योगदानकर्ताका विषयलाई सार्वजनिक बहस तथा अध्ययनको दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। मन्तव्यका क्रममा उनले समाजसेवी आत्माकृष्ण श्रेष्ठले प्रस्तुत गरेका विचार तथा अभिव्यक्तिको समेत सकारात्मक विश्लेषण गरेका थिए।
नन्दप्रसाद–जानुका फाउन्डेसनले नन्दप्रसाद शिवाकोटीको जन्मजयन्तीलाई केवल स्मरण गर्ने अवसरका रूपमा मात्र नभई समाजमा योगदान पु¥याएका व्यक्तित्वहरूको सम्मान, इतिहास संरक्षण र नयाँ पुस्तालाई प्रेरणा दिने अभियानका रूपमा अघि बढाउने जनाएको छ।
कार्यक्रममा दोलखावासी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, साहित्यकार, सामाजिक अभियन्ता, शिक्षाविद्, बुद्धिजीवी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नेपाली कांग्रेसका नेता जिपछिरिङ लामा, नेकपाका दोलखा जिल्ला इन्चार्ज विशाल खड्का, नेकपा एमालेका नेता बालकृष्ण शिवाकोटी, डा. दिनेशप्रसाई, नेपाली कांग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामा, उपसभापतिहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरू छविलामा, अर्जुन शिवाकोटी र नानुबास्तोला शिवाकोटीलगायतले कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए।
साहित्यकारहरूको तर्फबाट डा. टीकाराम पोखरेलले मन्तव्य दिएका थिए भने ‘दोलखाका लोकनायकहरू’ पुस्तकको समीक्षा युवा समाजसेवी तथा साहित्यकार भोजराज न्यौपानेले गरेका थिए। फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गरेका थिए।
दोलखाको इतिहास निर्माणमा योगदान दिएका व्यक्तित्वहरूको योगदानलाई दस्तावेजीकरण गर्दै सम्मान गर्ने अभियानले स्थानीय इतिहास र समाजका महत्वपूर्ण पात्रहरूलाई नयाँ पुस्तासम्म पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij