Oct 13 2026 | २०८३, आश्विन २७ गते

Oct 13 2026 | २०८३, आश्विन २७ गते

कोशीमा पुरानै नेतृत्व, नयाँ गठबन्धन : कार्की नेतृत्वको सरकारमा नेकपा पनि सहभागी

कोशीमा पुरानै नेतृत्व, नयाँ गठबन्धन : कार्की नेतृत्वको सरकारमा नेकपा पनि सहभागी

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ५ पञ्चमी (१ भाद्र २०८३, १७ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको सहमतिपछि कोशी प्रदेशमा पुरानै नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको छ। एमालेका हिक्मतकुमार कार्कीको नेतृत्वमै नेकपा सरकारमा सहभागी भएपछि प्रदेश सरकारको सत्ता समीकरण फेरिएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीनबुँदे सहमति भएको २३ दिनपछि कोशीमा कार्की नेतृत्वको नयाँ गठबन्धन सरकार बनेको हो। यसअघि एमाले–नेपाली कांग्रेस गठबन्धन हुँदा पनि कार्की नै मुख्यमन्त्री थिए।

तीनबुँदे सहमतिपछि एमाले अध्यक्ष ओलीले कोशी प्रदेशको मुख्यमन्त्रीबाट कार्कीलाई हटाएर नेकपाका नेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने प्रयास गरेका थिए। तर कार्कीलाई हटाउने प्रयास सफल हुन नसकेपछि ओली पछि हटेका थिए। कार्कीको नेतृत्वलाई निरन्तरता दिने सहमति बनेपछि नेकपा सरकारमा सहभागी भएको हो।

यसअघि कार्की नेतृत्वको सरकारमा नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्री सहभागी थिए। नयाँ सत्ता समीकरणमा नेकपाले पनि चार मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागिता जनाएको छ।

नेकपाले सरकारमा पाँच जना प्रतिनिधि पठाउँदा तीन जना महिला रहेका छन्। यससँगै कोशी प्रदेश सरकारमा नेकपाको सहभागिता सुनिश्चित भएको छ।

नयाँ गठबन्धन बनेसँगै कोशी प्रदेशमा एमाले र नेकपाबीचको सहकार्यले प्रदेश सरकारको राजनीतिक समीकरणलाई नयाँ दिशा दिएको छ। मुख्यमन्त्री कार्कीको निरन्तरतासँगै सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट तथा सरकार सञ्चालनका विषयमा समेत सहमति अघि बढाइएको बताइएको छ।

यसअघि कांग्रेससँगको गठबन्धनमा सरकार सञ्चालन गर्दै आएका कार्कीले अब नेकपासहितको नयाँ गठबन्धनलाई नेतृत्व गर्ने भएका छन्। एमाले–नेकपा सहकार्यले प्रदेश सरकारलाई स्थायित्व दिने दाबी सत्ता गठबन्धनका नेताहरूले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार