नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ५ पञ्चमी (१ भाद्र २०८३, १७ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुहुनेछ।
सम्भावित कार्यसूचीअनुसार बैठकको प्रारम्भमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले प्रदेश सभामा पढेर सुनाउनुहुनेछ। त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यासहित आफूलाई प्रदेश सभाको विश्वास रहेको प्रस्ताव पेस गर्नुहुनेछ।
मुख्यमन्त्रीले प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि प्रदेश सभा बैठकमा छलफल हुनेछ। छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिनुहुनेछ। त्यसपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।
नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो। सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले प्रदेश सभामा आफ्नो बहुमत कायम रहेको पुष्टि गर्न विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
लुम्बिनी प्रदेश सभामा कुल ८३ जना सदस्य छन्। सरकार गठन तथा टिकाइराख्न आवश्यक बहुमतका लागि ४२ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ।
मुख्यमन्त्री आचार्यले भने आफूले आवश्यक बहुमतभन्दा बढी प्रदेश सभा सदस्यको समर्थन जुटाउने दाबी गर्नुभएको छ। विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल र मतदानपछि प्रदेश सरकारको आगामी राजनीतिक अवस्था थप स्पष्ट हुनेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij