Aug 12 2026 | २०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

ग्यास आयात बढ्दासमेत अभाव कायमै, २६ दिनमा ३४ लाख सिलिन्डर बिक्री

ग्यास आयात बढ्दासमेत अभाव कायमै, २६ दिनमा ३४ लाख सिलिन्डर बिक्री

नेपाल सम्वत् ११४६, दिल्लागाः १५ औसी (२७ साउन, २०८३, १२ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । बजारमा ग्यासको अभाव कायमै रहे पनि पछिल्लो २६ दिनमा ३४ लाख १४ हजार ६ सय ४७ थान ग्यास सिलिन्डर बिक्री भएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार दैनिक औसत १ लाख ३१ हजार सिलिन्डर बजारमा पठाइँदै आएको छ।

साउन लागेयता मंगलबारसम्म बजारमा बिक्री भएको ग्यासको परिमाण सामान्य अवस्थामा हुने दैनिक औसत खपतभन्दा बढी हो। सामान्य अवस्थामा दैनिक करिब १ लाख ८ हजार सिलिन्डर खपत हुने निगमको तथ्यांक छ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले उपभोक्ताले घरमा रहेका खाली सिलिन्डरसमेत भरेर राख्ने प्रवृत्तिका कारण पर्याप्त ग्यास आयात गरिए पनि बजारको माग पूरा गर्न कठिन भएको बताउनुभयो।

उहाँका अनुसार उपभोक्ताले आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्ने हो भने आपूर्ति तत्काल सहज बनाउन सकिनेछ। तर, अभाव हुने डरले खाली सिलिन्डरसमेत भरिराख्ने प्रवृत्तिले बजारमा माग अस्वाभाविक रूपमा बढेको उहाँको भनाइ छ।

तर, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले उपभोक्तालाई मात्र दोष दिएर निगम उम्कन नमिल्ने बताउनुभयो। सरकारको दाबीअनुसार बजारमा पर्याप्त ग्यास उपलब्ध भए पनि उपभोक्ताको लाइन किन नघटेको भन्ने प्रश्न उहाँले गर्नुभएको छ।

उहाँले ग्यास वितरण प्रणाली व्यवस्थित बनाउनुपर्ने र कतिपय साना डिलरले उपभोक्तालाई ग्यास वितरणमा आनाकानी गरिरहेको गुनासो आएको बताउँदै त्यसको प्रभावकारी व्यवस्थापनमा सरकारी निकायले ध्यान दिनुपर्ने बताउनुभयो।

३ साउनमा सबैभन्दा धेरै ग्यास आयात

निगमका अनुसार ३ साउनमा सबैभन्दा धेरै २ लाख ६३ हजार ५ सय ९१ थान सिलिन्डर भर्न पुग्ने ग्यास आयात भएको थियो। त्यसअघि १ र २ साउनमा भने ग्यास आयात रोकिएको थियो।

प्रवक्ता ठाकुरका अनुसार आर्थिक वर्ष सकिएपछि ERP सफ्टवेयरमा हिसाब मिलान गर्नुपर्ने भएकाले नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो एक–दुई दिन कारोबार रोक्ने गरिएको हो।

उहाँले १ र २ साउनमा ग्यास आयात रोकिए पनि त्यसअघि नै पर्याप्त ग्यास आयात गरी बजारमा पठाइएको र ती दुई दिन उद्योगबाट डिलर हुँदै उपभोक्तासम्म ग्यास बिक्री भने जारी रहेको बताउनुभयो।

पूर्ण तौलको सिलिन्डर लागू गरेपछि आपूर्ति प्रभावित

दैनिक औसत खपतभन्दा बढी ग्यास बजारमा पठाइरहेको दाबी गरिए पनि करिब चार सातादेखि आपूर्ति सहज हुन सकेको छैन।

निगमले ३१ असारदेखि पूर्ण तौलको ग्यास सिलिन्डर बिक्रीमा ल्याउन उद्योगीलाई निर्देशन दिएपछि बजारमा आपूर्ति असहज भएको हो। सुरुमा काठमाडौं उपत्यकामा समस्या देखिएपछि निगमले टेकुस्थित पुरानो कार्यालयबाट नेपाल, एभरेस्ट, सुगम, श्रीराम र एचपी ब्रान्डका ग्यास बिक्री गर्न थालेको थियो।

त्यस्तै, बालाजुस्थित नेपाल ग्यास उद्योग परिसरबाट समेत प्रत्यक्ष बिक्री सुरु गरिएको थियो। दुवै स्थानबाट अहिले पनि ग्यास बिक्री भइरहेको निगमले जनाएको छ। प्रवक्ता ठाकुरका अनुसार टेकुमा भने पछिल्लो समय उपभोक्ताको लाइन क्रमशः घट्दै गएको छ।

एक महिनाको कोटाअनुसार ४५ हजार टन ग्यास आयात

निगमका अनुसार मंगलबारसम्म ४५ हजार टन ग्यास आयात भइसकेको छ। सामान्य अवस्थामा एक महिनामा ४५ देखि ४८ हजार टन ग्यास आयात हुने गरे पनि यसपटक महिना पूरा नहुँदै उक्त परिमाण आयात भइसकेको हो।

बजारमा आपूर्ति असहज भएकाले थप ग्यास आयातका लागि पहल गरिएको निगमले जनाएको छ। दैनिक ११० बुलेटभन्दा बढी ग्यास लोड भइरहेकाले साउनमा करिब ५२ हजार टन ग्यास आयात हुने प्रक्षेपण गरिएको छ।

यो महिनामा सबैभन्दा धेरै ३ साउनमा १९७ बुलेट ग्यास आयात भएको थियो। ग्यास ढुवानी गर्ने बुलेटमा १८ र २१ टन क्षमताका ट्यांकर प्रयोग हुने गरेका छन्।

भैरहवा र बुटवलमा एकीकृत बिक्री

डिलरमार्फत ग्यास नपाएको गुनासो बढेपछि नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भलबारीले भैरहवा र बुटवलमा एकीकृत ग्यास बिक्री सुरु गरेको छ।

निगमका प्रादेशिक प्रमुख शैलेन्द्र भुसालका अनुसार मंगलबार बुटवल, आरती, सिद्धार्थ, सिद्धनाथ, जानकारी, स्वस्तिक, लुम्बिनी, त्रिशूल र चण्डेश्वरीलगायत विभिन्न ब्रान्डका ग्यास बिक्री गरिएको थियो।

भैरहवास्थित खाद्य संस्थानको प्रांगणमा रहेको बिक्री केन्द्रबाट ५ सय ४० थान र बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पस परिसरमा रहेको बिक्री केन्द्रबाट ८ सय २८ थान सिलिन्डर बिक्री भएको निगमले जनाएको छ।

बिहीबारसमेत बिक्री केन्द्र सञ्चालन गरी करिब ३ हजार थान सिलिन्डर वितरण गर्ने लक्ष्य राखिएको छ। एकीकृत बिक्री केन्द्रमा विशेषगरी सुत्केरी महिला, विद्यार्थी तथा विपन्न वर्गका उपभोक्ताको उपस्थिति बढी रहेको निगमले जनाएको छ।

उपभोक्ताको प्रश्न : पर्याप्त ग्यास भए लाइन किन घटेन ?

निगमले पछिल्लो समय दैनिक औसत खपतभन्दा बढी ग्यास बजारमा पठाइएको र पर्याप्त मात्रामा आयात भइरहेको दाबी गरे पनि उपभोक्ताले भने अझै सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले ‘पर्याप्त ग्यास उपलब्ध छ भने बजारमा उपभोक्ताको लाइन किन घटेको छैन?’ भन्ने प्रश्न गर्दै वितरण प्रणालीमा देखिएको समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ।

ग्यास आयातको परिमाण बढाएर मात्र समस्या समाधान नहुने भएकाले उद्योगदेखि डिलर र डिलरदेखि उपभोक्तासम्मको वितरण प्रणाली पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार