नेपाल सम्वत् ११४६, दिल्लागाः १० दशमी (२३ साउन, २०८३, ८ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत व्यवसायी तथा कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला कार्यसमितिले निःशुल्क टी.टी. खोप तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
व्यवसायको प्रकृतिका कारण चोटपटकको जोखिममा रहने व्यवसायी तथा कर्मचारीको स्वास्थ्य सुरक्षासँगै सामाजिक उत्तरदायित्वलाई समेत जोड्दै कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा करिब १७० जना व्यवसायी तथा कर्मचारी सहभागी भएका थिए भने ४० जना व्यवसायीले रक्तदान गरेका थिए।
कार्यक्रममा रिपब्लिक अफ माल्टाका अवैतनिक महावाणिज्यदूत तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष दिनेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा ग्रिल तथा स्टिल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो।
त्यसैगरी ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवाल, हिमाल हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक तथा महासंघका तृतीय उपाध्यक्ष एवं काठमाडौं जिल्लाका पूर्व अध्यक्ष यज्ञदास श्रेष्ठ, वस्तुगत उपाध्यक्ष रूपेन्द्र बानियाँ, महिला उपाध्यक्ष विष्णुमाया उच्चै, महासचिव विवेक दास श्रेष्ठलगायत महासंघका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा मन्तव्य राख्दै मोहन कटुवालले काठमाडौं जिल्ला समितिको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। निर्वाचन सम्पन्न भएको एक महिना नपुग्दै व्यवसायी तथा कर्मचारीको स्वास्थ्यलाई केन्द्रमा राखेर टी.टी. खोप तथा रक्तदान कार्यक्रम आयोजना गरेकोमा उनले कार्यसमितिलाई धन्यवाद दिँदै यस्ता रचनात्मक तथा व्यवसायीमुखी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।
कार्यवाहक अध्यक्ष भरत लामिछानेले व्यवसायी तथा कर्मचारीको हितमा आगामी दिनमा पनि स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा हिमाल हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशकले ग्रिल तथा स्टिल व्यवसायमा आबद्ध व्यवसायी तथा कर्मचारीलाई विभिन्न रोगको उपचार तथा स्वास्थ्य परीक्षणमा विशेष छुट उपलब्ध गराउने प्रतिबद्धता जनाए।
त्यस्तै प्रमुख अतिथि दिनेश कुमार श्रेष्ठले व्यवसायीहरूलाई बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋण प्राप्त गर्न सहजीकरण गर्ने तथा ग्रिल व्यवसायमा प्रयोग हुने मेसिनरीमा विशेष छुट उपलब्ध गराउने घोषणा गरे। सोही अवसरमा श्रेष्ठ मेसिनरी प्रा.लि.को तर्फबाट काठमाडौं जिल्ला समितिको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मानसमेत गरिएको थियो।
कार्यक्रमको सञ्चालन ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला कार्यसमितिका महासचिव यामबहादुर श्रेष्ठ ‘पशुपति’ले गरेका थिए।
व्यवसायीको स्वास्थ्य, सुरक्षा, सामाजिक उत्तरदायित्व र व्यावसायिक सहकार्यलाई एउटै अभियानमा जोडिएको यस कार्यक्रमले **‘स्वस्थ व्यवसायी, सुरक्षित श्रमिक र संगठित व्यवसाय’**को भावनालाई थप बलियो बनाएको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने हिमाल हस्पिटल प्रा.लि. तथा श्रेष्ठ मेसिनरी प्रा.लि., अतिथिहरू, रक्तदाता व्यवसायी, स्वास्थ्यकर्मी तथा सहभागी व्यवसायी एवं कर्मचारीप्रति ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला कार्यसमितिले आभार व्यक्त गरेको छ।
स्वास्थ्यमा सुरक्षा, व्यवसायमा सहकार्य—व्यवसायीको हितमा निरन्तर हाम्रो अभियान।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij