Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

दोलखामा विश्व स्तनपान सप्ताह : अल्ट्रासाउन्डदेखि पोषण सामग्री वितरणसम्म

दोलखामा विश्व स्तनपान सप्ताह : अल्ट्रासाउन्डदेखि पोषण सामग्री वितरणसम्म

नेपाल सम्वत् ११४६, दिल्लागाः ८ अष्ठमी (२१ साउन, २०८३, ६ अगष्ठ २०२६) बिहीबार, बाँपिझ्याला । "जीवनको दिगो सुरुवातका लागि स्तनपान : प्रभावकारी कार्यहरूको सुदृढीकरण" भन्ने मूल नारासहित दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित माटी स्वास्थ्य चौकीमा विश्व स्तनपान सप्ताह–२०२६ विविध जनचेतनामूलक कार्यक्रमका साथ मनाइएको छ।

जनस्वास्थ्य कार्यालय दोलखा, माटी स्वास्थ्य चौकी, नेपाल क्षयरोग निवारण संस्था दोलखा तथा स्थानीय सरोकारवालाहरूको सहकार्यमा आयोजित कार्यक्रममा गर्भवती तथा सुत्केरी आमालाई विशेषज्ञ स्वास्थ्य सेवा, पोषण सामग्री वितरण र स्तनपानसम्बन्धी सचेतनामूलक अभिमुखीकरण गरिएको थियो।

stanpan1.jpg

कार्यक्रममा धुलिखेल अस्पताल दोलखाका विशेषज्ञ चिकित्सकहरूले गर्भवती महिलाको स्वास्थ्य परीक्षण, भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सेवा तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरेका थिए। साथै स्तनपानको महत्व, नवजात शिशुको पोषण तथा आमाको दूधको अपरिहार्य भूमिकाबारे सहभागी आमाहरूलाई जानकारी दिइएको थियो।

सो अवसरमा गर्भवती तथा सुत्केरी आमाहरूलाई पोषण सामग्री वितरण गरिएको थियो भने सुत्केरी आमाहरूलाई ब्ल्याङ्केट प्रदान गरिएको थियो। समुदायमा निरन्तर स्वास्थ्य सेवा पुर्‍याउँदै आएका महिला स्वास्थ्य स्वयंसेविका (एफसीएचभी) तथा माटी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई प्रोत्साहनस्वरूप छाता वितरण गरी सम्मान गरिएको थियो।

वितरण गरिएका पोषण सामग्री, ब्ल्याङ्केट तथा छाताको व्यवस्थापन दोलखा स्वास्थ्य चौकीका पूर्व प्रमुख रामकृष्ण मास्केको विशेष पहलमा विभिन्न सहयोगी व्यक्ति, दाता तथा संघ–संस्थाबाट प्राप्त सहयोगमार्फत गरिएको हो। कार्यक्रममा बोल्दै मास्केले सेवाबाट निवृत्त भए पनि समुदायको स्वास्थ्य सुधारका लागि निरन्तर योगदान दिन प्रेरणा मिलिरहेको बताउँदै सहयोग गर्ने सम्पूर्ण दाता, संघ–संस्था, सहकर्मी तथा आफन्तप्रति आभार व्यक्त गर्नुभयो। आगामी दिनमा पनि यस्ता सामाजिक स्वास्थ्य अभियानमा सबैको साथ र सहयोग रहने विश्वास उहाँले व्यक्त गर्नुभयो।

जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख दिलेन्द्र बुढामागरले नवजात शिशुको स्वास्थ्यका लागि जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्नु तथा पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउनु अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले जिल्लाभर स्तनपान प्रवर्द्धनका लागि विभिन्न अभियान सञ्चालन भइरहेको जानकारी पनि दिनुभयो।

बालरोग विशेषज्ञ डा. पृथुजा पौडेलले आमाको दूध नै नवजात शिशुको पहिलो र सबैभन्दा पूर्ण आहार भएको उल्लेख गर्दै यसले शिशुको रोग प्रतिरोधात्मक क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नर्सिङ अधिकृत सविना बस्नेतले सही स्तनपान विधि, मातृ पोषण तथा शिशु स्याहारसम्बन्धी व्यवहारिक जानकारी सहभागी आमाहरूलाई प्रदान गर्नुभयो।

नेपाल क्षयरोग निवारण संस्था दोलखाका निवर्तमान सभापति हर्कबहादुर श्रेष्ठले स्वास्थ्य क्षेत्रमा स्थानीय तह र स्वास्थ्य संस्थासँग सहकार्य गर्दै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिइरहेको बताउनुभयो। स्थानीय सरोकारवाला प्राध्यापक शंकरलाल श्रेष्ठले यस्ता कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले समुदायस्तरमा यस्ता अभियान निरन्तर सञ्चालन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले मातृ तथा शिशु स्वास्थ्य नगरपालिकाको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तर सहयोग र सहकार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आयोजकका अनुसार विश्व स्तनपान सप्ताहलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी समुदायमा स्तनपानसम्बन्धी व्यवहार परिवर्तन, मातृ–शिशु स्वास्थ्य प्रवर्द्धन तथा पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सहभागीहरूले यस्ता अभियानले आमा र शिशुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन नेपाल क्षयरोग निवारण संस्था दोलखाका सचिव भक्तलाल श्रेष्ठले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार