Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

बिगु–५ का कृषकलाई स्नोमिस्टी काउलीको बीउ वितरण, व्यावसायिक तरकारी खेती प्रवर्द्धनमा जोड

बिगु–५ का कृषकलाई स्नोमिस्टी काउलीको बीउ वितरण, व्यावसायिक तरकारी खेती प्रवर्द्धनमा जोड

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १२ द्वादसी (१० साउन, २०८३, २६ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । दोलखा जिल्लाको बिगु गाउँपालिका–५, चिलंखा–स्यांखुस्थित कालिदेवी जनजागरण कृषक समूहका सदस्यहरूलाई स्नोमिस्टी जातको काउलीको बीउ वितरण गरिएको छ। ग्रामिण विकास टुकी संघ र सिविन नेपालद्वारा सञ्चालित ओसेलिप (OSELIP) परियोजना अन्तर्गत कृषि तथा जीविकोपार्जन सम्भागमार्फत कृषकहरूलाई उन्नत जातको काउलीको बीउ उपलब्ध गराइएको हो।

परियोजनाको उद्देश्य स्थानीय कृषकहरूलाई व्यावसायिक तथा आधुनिक तरकारी खेतीतर्फ आकर्षित गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्नुका साथै उनीहरूको आयआर्जनमा टेवा पुर्‍याउनु रहेको जनाइएको छ। स्नोमिस्टी जातको काउली उच्च उत्पादन दिने, बजारमा राम्रो माग भएको तथा उचित व्यवस्थापन गरेमा राम्रो आम्दानी लिन सकिने भएकाले उक्त जातको बीउ वितरण गरिएको परियोजनाले जनाएको छ।

बीउ वितरण कार्यक्रममा कालिदेवी जनजागरण कृषक समूहका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा कृषकहरूलाई बीउको उचित व्यवस्थापन, समयमै रोपाइँ, रोग तथा कीराको नियन्त्रण, मल व्यवस्थापन र उत्पादन वृद्धि सम्बन्धी आधारभूत जानकारीसमेत प्रदान गरिएको थियो। परियोजनाले कृषि उत्पादनलाई दिगो र व्यवसायमुखी बनाउन प्रविधिमैत्री खेती प्रणाली अपनाउन कृषकहरूलाई प्रोत्साहन दिएको जनाएको छ।

स्थानीय कृषकहरूले यस्ता कार्यक्रमले खेतीप्रति उत्साह थपिएको र उन्नत बीउको प्रयोगबाट उत्पादन बढ्ने अपेक्षा व्यक्त गरेका छन्। उनीहरूले आगामी दिनमा पनि यस्तै कृषि सामग्री, प्राविधिक तालिम तथा बजार व्यवस्थापनमा सहयोग प्राप्त भए व्यावसायिक तरकारी खेती विस्तार गर्न सहज हुने बताएका छन्।

ग्रामिण विकास टुकी संघ र सिविन नेपालद्वारा सञ्चालन भइरहेको ओसेलिप परियोजनाले दोलखाका विभिन्न समुदायमा कृषि, जीविकोपार्जन, खाद्य तथा पोषण सुरक्षा, क्षमता अभिवृद्धि र समुदायको आर्थिक सशक्तीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। परियोजनाले स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै कृषकहरूको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ यस्ता गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार