नेपाल सम्वत् ११४६, दिल्लाथ्वः३ तृर्तिया (१ साउन, २०८३, १७ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । नेपाल विद्युत् प्राधिकरणले आज (शुक्रबार)देखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकका लागि नयाँ कर व्यवस्था लागू गरेको छ। सरकारको निर्णयअनुसार अब ५० युनिटसम्मको विद्युत् महसुलमा भ्याट नलाग्ने भए पनि त्यसभन्दा माथिको खपतमा लाग्ने महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) जोडिनेछ। यसका लागि प्राधिकरणले आफ्नो बिलिङ प्रणाली पनि अद्यावधिक गरिसकेको जनाएको छ।
नयाँ व्यवस्थाअनुसार मासिक ५० युनिटसम्म मात्र विद्युत् प्रयोग गर्ने ग्राहक अतिरिक्त भ्याटको दायरामा पर्ने छैनन्। तर ५१ युनिट वा सोभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताले ५० युनिटभन्दा माथिको महसुलमा ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभर ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहक ३० लाखभन्दा बढी छन्। यस्तै ५१ देखि १५० युनिटसम्म खपत गर्ने करिब १२ लाख घरधुरी र १५१ देखि २५० युनिटसम्म खपत गर्ने करिब दुई लाख ५० हजार घरधुरी नयाँ व्यवस्थाबाट प्रत्यक्ष प्रभावित हुनेछन्।
घरमा पानी तान्ने मोटर, गिजर, हिटर, इन्डक्सन चुल्हो, इन्फ्रारेड चुल्होलगायत विद्युतीय उपकरण प्रयोग गर्ने तथा विद्युतीय सवारीसाधन चार्ज गर्ने उपभोक्ताको मासिक विद्युत् बिल अब केही बढ्ने देखिएको छ।
उदाहरणका लागि, ५ एम्पियरको मिटर जडान गरी मासिक १०० युनिट विद्युत् खपत गर्ने ग्राहकले हाल ८३५ रुपैयाँ तिर्दै आएका छन्। नयाँ व्यवस्थाअनुसार ५१ देखि १०० युनिटसम्मको महसुलमा ५ प्रतिशत भ्याट लाग्दा थप २३ रुपैयाँ ७५ पैसा तिर्नुपर्नेछ। यसपछि त्यस्ता ग्राहकको मासिक बिल ८५८ रुपैयाँ ७५ पैसा पुग्नेछ।
ऊर्जा क्षेत्रका जानकारहरूले अतिरिक्त भ्याटले विद्युतीकरण अभियानमा असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। पछिल्ला वर्षहरूमा खाना पकाउने, पानी तान्ने र विद्युतीय सवारीसाधन प्रयोग बढिरहेका बेला करको थप भारले विद्युत् प्रयोगलाई निरुत्साहित गर्न सक्ने उनीहरूको भनाइ छ।
यद्यपि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पहिलो ५० युनिटसम्मको विद्युत् महसुल पूर्ण रूपमा भ्याटमुक्त रहने स्पष्ट पार्दै अधिकांश घरायसी ग्राहकका लागि प्रभावकारी भ्याट दर ५ प्रतिशतभन्दा कम रहने बताएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij