Aug 18 2026 | २०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

टुकी प्रयोगशालाले बढायो माटो परीक्षण सेवा

टुकी प्रयोगशालाले बढायो माटो परीक्षण सेवा

नेपाल सम्वत् ११४६, तछलागाः ३ तृर्तिया (१९ अषाढ, २०८३, ०३ जुलाई, २०२६) शुक्रबार, बाँपिझ्याला । दोलखाको कालिन्चोक गाउँपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहमा हालै गरिएको माटो परीक्षणले कृषियोग्य जमिनको गुणस्तरमा क्रमशः गिरावट आएको संकेत गरेको छ। परीक्षणमा माटोको अम्लीयपन (pH) बढ्दै गएको, बाली उत्पादनका लागि आवश्यक मुख्य तथा सूक्ष्म पोषक तत्वको कमी देखिएपछि कृषकलाई माटो परीक्षणका आधारमा मात्र मल व्यवस्थापन गर्न सुझाव दिइएको छ।

ग्रामीण विकास टुकी संघ, दोलखाद्वारा सञ्चालित टुकी माटो परीक्षण प्रयोगशालाले पछिल्लो समय कालिन्चोक गाउँपालिकासहित जिल्लाका विभिन्न स्थानबाट संकलित माटोका नमुनाको परीक्षण गर्दा अधिकांश नमुनामा माटोको अवस्था सन्तुलित नरहेको जनाएको छ। परीक्षणका क्रममा धेरैजसो माटोमा अम्लीयपन बढेको देखिएको छ, जसले बालीले आवश्यक पोषक तत्व ग्रहण गर्ने क्षमता कमजोर बनाउने र उत्पादनमा प्रत्यक्ष असर पार्ने कृषि प्राविधिकहरूको भनाइ छ।

प्रयोगशालाले परीक्षणका क्रममा नाइट्रोजन र फस्फोरस जस्ता प्रमुख खाद्यतत्वको कमी व्यापक रूपमा देखिएको जनाएको छ। यस्ता तत्वको अभावले बालीको वृद्धि, जराको विकास तथा उत्पादन क्षमतामा नकारात्मक असर पार्छ। त्यस्तै जिंक र बोरोन जस्ता सूक्ष्म पोषक तत्व पनि धेरै नमुनामा न्यून रहेको पाइएको छ। यी तत्वको कमीले बालीमा फूल र फल लाग्ने प्रक्रिया प्रभावित हुने तथा उत्पादनको गुणस्तरमा समेत असर पर्ने प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका अनुसार पछिल्ला वर्षहरूमा रसायनिक मलको असन्तुलित प्रयोग, जैविक मलको प्रयोग घट्दै जानु, एउटै जमिनमा लगातार एउटै बाली लगाउने प्रवृत्ति तथा माटोको नियमित परीक्षण नगर्ने बानीका कारण माटोको उर्वराशक्ति घट्दै गएको छ। यही कारणले कृषकले आवश्यकभन्दा बढी रसायनिक मल प्रयोग गर्दा पनि अपेक्षित उत्पादन लिन नसक्ने अवस्था सिर्जना भइरहेको छ।

यस अवस्थालाई सुधार गर्न प्रयोगशालाले परीक्षणपछि प्रत्येक कृषकलाई माटोको अवस्थाअनुसार आवश्यक मलको मात्रा, चुना प्रयोग गरेर अम्लीयपन घटाउने उपाय, प्राङ्गारिक पदार्थ बढाउने विधि तथा जैविक खेतीलाई प्रवर्द्धन गर्ने विषयमा प्राविधिक परामर्श प्रदान गर्दै आएको जनाएको छ। स्थानीय तहसँगको सहकार्यमा माटो नमुना संकलन, परीक्षण तथा उपचारसम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्।

ग्रामीण विकास टुकी संघले माटोको स्वास्थ्य संरक्षणका लागि गोठेमल, कम्पोस्ट मल, हरियो मल तथा अन्य जैविक स्रोतको प्रयोग बढाउन, माटो परीक्षण नगरी जथाभावी रसायनिक मल प्रयोग नगर्न र सन्तुलित पोषण व्यवस्थापन अपनाउन कृषकलाई आग्रह गरेको छ। संघका अनुसार स्वस्थ माटो नै दीगो कृषि उत्पादन र खाद्य सुरक्षाको आधार भएकाले वैज्ञानिक माटो व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

संघका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म दोलखाका दुई नगरपालिका र सात गाउँपालिकाबाट संकलित कुल ३ हजार ५ सय ७ वटा माटोका नमुनाको परीक्षण गरी कृषकलाई माटोको अवस्था, आवश्यक पोषक तत्व तथा उपचारसम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार