Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

शिक्षालाई दलगत प्रभावबाट मुक्त गर्नुपर्छ : गगनकुमार थापा

शिक्षालाई दलगत प्रभावबाट मुक्त गर्नुपर्छ : गगनकुमार थापा

नेपाल सम्वत् ११४६, तछलागाः ३ तृर्तिया (१९ अषाढ, २०८३, ०३ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको शिक्षा प्रणाली सुधार गर्न विद्यालयलाई दलगत प्रभाव र दलीयकरणबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन्। उनले शिक्षा क्षेत्रमा देखिएको दलीय हस्तक्षेप नै गुणस्तरीय शिक्षा विकासमा सबैभन्दा ठूलो बाधक बनेको बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिले शिक्षा प्रणालीलाई कमजोर बनाएको टिप्पणी गरे। उनका अनुसार शिक्षामा राजनीति हुनु स्वाभाविक भए पनि दलगत स्वार्थका आधारमा संस्था सञ्चालन गर्नु शिक्षा क्षेत्रका लागि घातक बनेको छ।

उनले गाउँ–गाउँमा विद्यालयको अवस्था सोध्दा ‘व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक र प्रधानाध्यापक हाम्रै पार्टीका हुन्’ भन्ने मानसिकता सुनिनु चिन्ताजनक रहेको उल्लेख गर्दै अब यस्तो अभ्यास अन्त्य गर्नुपर्ने बताए। ‘शिक्षामा राजनीति होइन, दलीयकरण भएको हो। यही दलीयकरणले शिक्षा क्षेत्रलाई सबैभन्दा ठूलो क्षति पुर्‍याएको छ,’ उनले भने।

थापाले शिक्षा आफैँमा राजनीतिक विषय भएकाले समुन्नत नेपाल निर्माणमा शिक्षा क्षेत्रले खेल्नुपर्ने भूमिकाबारे गम्भीर राष्ट्रिय बहस आवश्यक रहेको धारणा राखे। शिक्षा प्रणालीलाई कुनै दलको प्रभावभन्दा माथि उठाएर राष्ट्रिय हितअनुसार अघि बढाउनुपर्नेमा उनले जोड दिए।

उनले मुलुकको समृद्धि, विकास र दक्ष जनशक्ति निर्माणका लागि शिक्षा क्षेत्रको भूमिका निर्णायक हुने भएकाले त्यसबारे राजनीतिक तहमा पर्याप्त छलफल हुनुपर्ने बताए।

सभापति थापाले पछिल्लो समय कक्षा १० र कक्षा १२ को परीक्षाफल प्रकाशन प्रक्रियामा देखिएका समस्याप्रति पनि असन्तुष्टि जनाए। सरकारले छिटो नतिजा सार्वजनिक गर्नुलाई मात्र उपलब्धि ठानेर हतारमा निर्णय गर्दा हजारौँ विद्यार्थी समस्यामा परेको उनको भनाइ थियो।

उनले परीक्षाफलमा देखिएका त्रुटि र त्यसबाट विद्यार्थीले भोग्नुपरेका समस्याबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने जानकारी पनि दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार