Aug 18 2026 | २०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

दोलखाको रामनवमी: पुरानो उत्सव र आधुनिक सम्झना

दोलखाको रामनवमी: पुरानो उत्सव र आधुनिक सम्झना

त्यतिबेला प्राचिन दोलखा अभयपुर शहरमा रामनवमी जात्राको माहौल साँच्चिकै विशेष थियो। टोल–टोल, घर–घरमा जिल्लावासी र बाहिरी भीमसेन भक्तजनहरूले खचाखच भरिएको हुन्थ्यो। दोलखामा एउटा फरक किसिमको उत्साह र उमंग देखिन्थ्यो। तल्लो टोलका राइती, नारायण, श्यामसुन्दर, चाम्सली, हापिचा, कोर्छेँ, गुर्कोट लगायतका साना टहराहरूमा मेलुङ, भेडपु, सुन्खानी, बाबरे, फस्कु, झुले जस्ता विभिन्न ठाउँका दाजुभाइ र दिदीबहिनीहरू, वृद्ध–वृद्धाहरू ठमठम हिँड्दै आ–आफ्नो भाकलसिद्ध पूजाआजा गर्न आउँथे। माथिल्लो टोलका डोकलुङा, पलाचुटी, ड्वाक्छेँ, बिहार्छेँ, डाँडाथोक र पुरान्छेँमा पनि भक्तजनहरूले भरिन्थ्यो।

रामनवमी पर्व दोलखाका लागि विशेष महत्वको चाड थियो। यस दिन गुठियारहरूका लागि प्रतिस्पर्धाको जस्तो माहौल पनि हुन्थ्यो। भीमेश्वर मन्दिरमा बाहिरबाट आउने भक्तजनहरू पञ्चबली एकल बली (राँगो, थुमा, बोका, हाँस, भाले) लिएर भाकलसिद्धका लागि आउँथे र आ–आफ्नो परिचितको घरमा सिधै बस्ने गर्थे। स्थानीय गुठियारहरू भने बाहिरबाट आउने भक्तजनहरूलाई विभिन्न बाटोबाट फकाएर आफ्नै घरमा ल्याउन तल्लीन हुन्थे। यसलाई स्वागत सत्कार र केही हदसम्म बलीपूजाबाट आएको मासुप्रतिको लालच दुवै दृष्टिले हेर्न सकिन्छ।

भक्तजनहरूको भिडले दोलखालाई जात्रामय बनाउँथ्यो। अष्टमीको रातभरि जाग्राम बसेर दीपबत्ती बाल्ने, भजन गाउने माहौल हेर्न चरिकोट, जिलु, मकैबारी, सुस्पा, क्षेमावती आदि ठाउँका मान्छेहरू आउँथे। शहरको मुख्य सिम्भूथान प्राङ्गणमा दोहोरी र जुहारी खेल्नेहरूको भिड हुन्थ्यो। बजारका गल्लीभित्र राँगा, बोका र थुमाको आवाजले रामनवमीको पर्याय नै दर्शाउँथ्यो।

अष्टमीको दिनदेखि नै दोलखामा बडा दशैंको झल्को दिने परम्परा, बाजागाजा र राजकुलेश्वर तलेजु भवानीमा फूलपाती विसर्जनको परम्परा अत्यन्त रमझमको अनुभव दिन्थ्यो। कालान्तरमा सडक विस्तार, आधुनिकीकरण र मानव चेतनामा परिवर्तनसँगै देव–देवीमा बलीपूजा गर्नु अपराध हो भन्ने जागरुकता बढेपछि परम्परा क्रमशः कम हुँदै गएको छ।

त्यसैगरी, स्थानीयहरूको लालच र पाहुनाप्रति सत्कारको अभावले पनि भक्तजनको आवागमन घट्न पुगेको देखिन्छ। पहिलाको तुलनामा भोजपुर, ओखलढुंगा, सिन्धुलीका भक्तजनहरू दोलखा भीमेश्वरमा पूजा गर्न कम आउँछन्।

तर विगतलाई सम्झँदै मात्र सीमित नरहौँ। भीमेश्वरको महिमालाई परम्परागत शैलीमा यथावत राख्न हामी सबैले सकारात्मक भूमिका निभाउन आवश्यक छ। आजको रामनवमीमा आदर्शरुपी रामलाई मनमा राखेर सबैको कल्याणका कार्यमा अग्रसर बनौं। 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार