Aug 18 2026 | २०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

दोलखामा कागेष्टमी र यसको ऐतिहासिक महत्व

दोलखामा कागेष्टमी र यसको ऐतिहासिक महत्व

ऐतिहासिक कालमा दोलखाराज्यको आर्थिक स्रोतहरुमा वाणिज्य, कृषि र पशुपालननै थियो । त्यसैले यी व्यबसायहरुको विस्तार भएको पाईन्छ । कालिञ्चोक क्षेत्रको खर्कहरुमा पहिले दोलखालीनेवारहरुले गाईगोठहरु राखेको बुझिन्छ । आजभन्दा पाँचदशक अघिसम्म दोलखालीको पुरानो केहि खण्डहर गोठ घडेरीलाई त्यँहाका बृद्ध गोठालाहरुले देखाउँथे१ ।

बर्षाको समयमा कालिञ्चोकको खर्क र हिउँदको समय गाउँबेसीँमा गोठसार्ने गरेका थिए भन्ने भनाइले घुम्तिगोठ प्रणालीमा पालेका हुनसक्छ । कालिञ्चोकमा गोठ रहँदा सामन तथा अन्य सरसामानको लागी दोलखा ओहोरदोहोर गर्नुपथ्र्यो । त्यही सिलसिलामा कालिका भगवती (कालिञ्चोक) मा भाद्रशुक्ल कागेष्टमी र जनैपूर्णिमाका दिन कालिकादेवीको विशेष पूजागरिने परम्परालाई कागेष्टमीगुठि भनिन्छ । यसबारे एउटा मिथक सुन्न पाईन्छ जुन रोचक छ ।

आजभन्दा करिव १५० देखी २०० बर्ष पहिले दोलखा शहर डोक्छेँटोलका मणिशंकर भन्ने ब्यक्तिले कालिञ्चोकमा चौंरीगाईहरु पालेको रहेछन् । साथै अन्य मानिसहरुलाई समेत चौंरी किनेर पाल्न दिएका रहेछन् । त्यस वापत दिनको १ पाथि दुध कालिकादेवीलाई चढाउनु पर्ने र महिनाको १ पाथि ध्यू मणिशंकरलाई बुझाउने शर्त राखेका रहेछन् ।

खर्कमा आफ्नो गाईगोठ निरिक्षणको लागी बारम्वार कालिञ्चोक जानेआउने गर्दा रहेछन् । यहिक्रममा एकपटक कालिञ्चोक जाँदा गोरेटो बाटोको माझमा रातो कपडाले बेरिएको पोका देखेछ । मनले “कसैले राखेका होलान” भन्ने ठानेर अगाडी बढेछ । बढदैजाँदा पुनः पहिलेको जस्तै रातोपोका देखेछन्, कोहि बाहिर (झाडापिसाव) गएका होलान भनि वास्तै नगरी गन्तब्यतिर बढदै गएछन् । जाँदाजाँदै कालिञ्चोक भगवतीको फलामेगौंडा भन्दा केहि तलको चौतारामा विश्राम गर्न बसेछ । केहिसमय पछि उन्को सामुन्ने फेरि त्यस्तै रातोपोका देखे । अहिले भने उनि डर र आश्चर्यमा परे, साथमा अन्य साथीहरु पनि नभएको, पोका उठाउँ नउठाउँ के गरुँ, के नगरुँ ? अलमलमा परेछन् । अनर्थ देखेको, भएकोमा डरले अत्तालिएर उनको मुखसुक्न थालेछ ।

‘यी पोकाहरु ठाउँठाउँमा कस्ले छोडेको होलान ? किन राखेका होलान ?’ यस्तै अनेक कुराहरु मनमा सोचेर बसेका थिए । त्यतिनै खेर अचानक नारीस्वरले आकाशवाणी भएछ “तिमी डराउनु पर्दैन । यो पोका मैले तिमिलाई दिएको हुँ । तिमिले घरमा लगेर पूजागर्न सक्छौं” मणिशंकरले कालिलाई सम्झदै उक्त पोका उठाएर बोकेर गोठतिर लागेछ । केहि समयको विश्राम पछि ,गोठालाहरु बोलाएर पोका खोलेर हेर्दा तामाको ठूलो घडा त्यसभित्र चाँदिका मूर्ति, मूकुट, चाँदीकैमाला र अन्य गरगहणाहरु रहेछन ।

यो घटनाले गर्दा मणिशंकरले भोलीपल्टनै दोलखाबाट बाजागाजा झिकाएर कालिञ्चोक देखिनै रातो कपडा बाटोमा विछ्याउँदै बाजागाजा सहित सिँदुरजात्रा गर्दै दोलखामा ल्याई आफनै घरमा पूजागरी स्थापना गरेको भन्ने भनाई रहेको छ । तात्कालिन समयमा त्यँहा बस्ती नभएकाले दोलखा ल्याएको हुनसक्छ । घर भित्रार्र्ईए पछि नित्यपूजा गर्न थाले । नित्यपुजा गर्नथाले पछि दिन दुईगुणा, रात चौगुणा हुँदै मणिशंकरलाई जताततै बाट फाइदै फाइदा हुन थाल्यो । जग्गाजमिन प्रशस्त जोडन सफल भए । उन्का सन्तानहरु अहिले पनि धनिबर्गमानै गनिन्छ ।

दोलखाका जान्नेसुन्ने, पञ्चप्रमान, ६ थरी, दिक्षित तान्त्रिकहरु तथा प्रतिष्ठित ब्यक्तिहरुको रायसल्लाह एवं निर्णयानुसार कालिञ्चोकमा कागेष्टमी– (भाद्रशुुक्ल अष्टमी) कादीन र जनैपूर्णिमाका दिन कालिञ्चोकको जलकुण्डको भित्तामा ती गहणाहरु प्रतिष्ठापन गरी बक्साई वलीपूजा समेतको विशेषपूजा गराइने परम्परा कायम हुन पुगेको भन्ने गूठियार.(राधाकृष्ण श्रेष्ठ भीनपा–२) को भनाई रहेको पाईन्छ । तत्कालिन समयमा कालिञ्चोक मन्दिर नजिकै बस्ति नभएकाले गरगहणाहरु दोलखामा लगेर नित्यपूजा गरेका हो भन्ने मान्यता रहेको छ । यता कालिञ्चोकमा कालिकाको मूर्ति नभई एउटा जलकुण्डलाई नै कालीको प्रतिक मानिएको छ ।

उक्त परिसरमा भगवतीका प्रस्तर मूर्तिहरु पछिमात्र स्थापित भएका हुन । जलकुण्डको भित्ताको खोपामा कालिकाको मूर्ति मुकूट तथा अन्य गर–गहणाहरुलाई बक्स्याई आह्वानगरि बलीपूजा समेत गरिन्थ्यो । बलीपूजा भने कुण्डको पूर्व (गणेश–हालको कालीमूर्तिको पृष्ठभाग) मा एउटा पाठी एउटा पाठा बलीपूजा गरिन्थ्यो । त्यसैले पहिले दोलखाका नेवारहरुलाई त्यहाँका पूजारी मानेका थिए । 

बक्स्याइएको गर–गहणाहरुमा देवीलाई आह्वानगर्दै कागेष्टमिको अपरान्हतिर गर–गहणाहरुलाई सिंगारीएको खट्मा रथारोहण गराई चारजनाले बोकेर दोलखा ल्याउँथे । यसैगरी जनैपूर्णिमाका दिन रापाखलःकको वीजयोत्सव संगसंगै खट्मा कालीको गहणा सजाएर कालिञ्चोक जानेआउने गरेका थिए । चरिकोट देखिभने चारहाते महाकालीका नाच पनि नचाउँदै दोलखा परिक्रमा गराउँने परम्परा बि.सं. २०२२–२०२३ सम्म कायम थियो ।

समयक्रमले यो परम्परालाई कायम राख्न आर्थिक संकट परेकाले मणिशंकरका बंशज गूठीयार दिवंगत टिकाबहादुर श्रेष्ठले यो परम्परालाई कायम राख्न बि.सं.२००५ सालमा राणा प्रधानमन्त्रि मोहनशम्सेरमा विन्ति चढाउँदा बार्षिक रु. १४ दोलखामाल बाट पाउने गरि स्विकृत गरेका थिए । पछि थप हुदाहुँदै रु ८००।– उक्तगुठि संचालन गर्न दिँदै आएका थियो । तापनि खर्चधान्न हम्मे परेको गुठियारको भनाई रहेको थियो । तर बि.सं.२०२३ सालमा दोलखाशहरमा भिषण आगलागी हुँदा ति गहणाहरु नष्ट हुन पुगेकोले कालिञ्चोकको एउटा साँस्कृतिक महत्वका परम्परा मासियो, विचलनमा प¥यो, लोपहुन पुग्यो ।

मणिशंकर–दोलखाशहर डोक्छेँटोलको वंशावली टिपोट (संकलक दिवंगत उपासक श्रेष्ठ) अनुसार राधाकृष्ण श्रेष्ठका पाँचपुस्ता अघिका देखिन आउँछ । अर्थात गौरी बहादुरको बाजे मणिशंकर श्रेष्ठ ६ पुस्ता अघिका देखिन्छ । जसअनुसार यो घटनालाई धेरै पुरानो मान्न सकिन्न । वि.सं. १८२६ ताकाको देशवार प्रमान सिध्दिशंंकरको छोरिपट्टीका पनाती वा गौरीबहादुरको बाजे मणिशंकर हुनसक्ने अनुमान गरिएको छ ।
दोलखाका नेवार जातीहरुले कालिञ्चोकमा गाईगोठ राख्दा गोठबाटै भागेर खर्शाड्ड पुगेकाहरुको  सन्तानहरु दोलखा पुगेका थिए (पिड्डलटोल) ।

बलराम श्रेष्ठ, भी.न.पा.–२, पाखलती पुर्खुचा


सन्दर्भः 
राधाकृष्ण श्रेष्ठ डोक्छेँटोल  –गुठियार
पद्यजड्ड राजभण्डारी      –लिष्टोल, दोलखा
बलराम श्रेष्ठ            –कागेष्टमी र दापा पाण्डुलिपि

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार