
यात्रा त रसुवातिरको थियो तर प्राचीन नगर ‘तुख्यः’को नगरद्वारभित्र प्रवेश गर्नासाथै नगरभर जताततै मगमग सुगन्ध फैलिएको थियो। यो त्यो बेलाको सन्दर्भ हो जतिबेला माघे संक्रान्ति आउनै लागेको थियो। त्यो बिहान पारिवारिक यात्राका सबैको मुख मिठ्याउन र तलतल मेटाउन अनि यस यात्राका क्रममा भेटिने आफन्त, चिनारु र सहयोगीलाई समेत उपहार दिन पुग्नेगरी चाकु र थरीथरीका चाकुजन्य पदार्थले भरिएका प्याकेटहरू खरिद गरें।
एकाबिहानै राम्रै बिक्री भएकाले होला यी परिकारहरू बेच्न बसेकी ‘तुख्यः’की ती नेवाः बहिनीको अनुहारमा खुसीका लहरहरू तरंगित भए। उनको नजिकै रहेका अन्य बिक्रेताको अनुहारमा के कस्ता भावहरू तरंगित थिए, हेर्ने जमर्को गरिनँ। यत्ति त निश्चित थियो– उनीहरू मैले गरिरहेको खरिद कर्मलाई चुपचाप हेरिरहेका थिए। ‘तुख्यः’मा दुईवटा नेवारी शब्द छन् ‘तु’ र ‘ख्यः’। ‘तु’ को अर्थ उखु र ‘ख्यः’ को अर्थ क्षेत्र वा बारी। त्यसैले, ‘तुख्यः’ अर्थात् प्रशस्त उखु उत्पादन हुने क्षेत्र वा बारी। उत्पादन भइसकेपछि स्वभावैले उखुको रसबाट बन्ने सक्खर र त्यसका प्रशस्त परिकार बन्ने क्षेत्र बन्यो, ‘तुख्यः’। भाषिक अपभ्रंशको लामो यात्रामा विचरण गर्दै ‘तुख्यः’ आजकल ‘टोखा’मा रूपान्तरित भएको छ।

काठमाडौं उपत्यकाको पश्चिमोत्तर क्षेत्रमा रहेको लिच्छविकालदेखिकै एउटा ‘स्याटेलाइट’ नगर हो, ‘तुख्यः’। आजकल स्थान विशेषको नामकरणका सन्दर्भमा प्राचीन नामहरूलाई पुनस्र्थापित गर्ने ढंगले चलेको पहिचानप्रेमी अभियानलाई पछ्याउँदै ‘टोखा’को सट्टा ‘तुख्यः’ नै उल्लेख गर्ने धृष्टता गरें। तुख्यः र वरपर उहिले–उहिले उखु रोपिन्थे, उखुका बोटहरू लहलहाउँथे, वयस्क उखुका लांक्राहरू पेलिन्थे, सक्खर बनाइन्थे र त्यसैबाट चाकुका अनेक परिकारहरू बन्दथे। अहिले ती ठाउँमा प्राचीन कालमा जस्तो उखु नभई इँट र कंक्रिट रोपिएका छन्। तर, चाकु भने अझै पनि गजब बन्छ, यस नगरमा। कहाँबाट आउँछ त सक्खर ?
टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठका अनुसार आजकल यस नगरले चाकु बनाउनकै लागि प्रत्येक हिउँदमा करिब १७ मेट्रिकटन सक्खर खपत गर्छ। यो सक्खर बढी मात्रामा लुम्बिनी अञ्चलको तराई क्षेत्र र त्यसमा पनि विशेषगरी कृष्णनगर क्षेत्रबाट आउने गर्छ।
गुल्मीबाट पनि आउँछ तर त्यहाँबाट आउने सक्खरको आपूर्ति चाहिँ समयमा आइपुग्ला र चाकु बनाउँला भनेर निश्चिन्त हुन सकिने खालको अर्थात् भरपर्दो छैन। यसो त आजकल तुख्यःमा मात्र नभई विभिन्न ठाउँमा चाकु बनाउने उद्यमी छन् तर चाकुको राजधानी त तुख्यः नै हो। यस नगरको चाकु विशेष मानिन्छ र स्वादले खाइन्छ। श्रेष्ठका अनुसार यस नगरमा अहिले १४ वटा स–साना चाकु उद्योग छन्। यीमध्ये धेरैजसोले माघेसंक्रान्तिमा उपभोग गर्नेगरी बेचबिखन गर्न चाकु उत्पादन गर्ने गरेका छन्। तर केहीले भने वर्षैभरि चाकु उत्पादन गर्छन्। तीमध्ये अध्यक्ष कृष्णको ‘श्रीकृष्ण चाकु प्रोडक्सन प्रा.लि’. पनि एउटा हो।

चाकु माघेसंक्रान्तिमा नै किन ? ‘नेवाः गुथी तोखा’का सल्लाहकार एवं ‘टोखा–तलेजुका मूल नाइके’ हेमराज श्रेष्ठतिर प्रश्न तेस्र्याइयो। जवाफ आयो, ‘मुख्यतः ठण्डी काट्न। घिउ, चाकु, तील, मूला र तरुल गरी यी पाँच परिकार खाएपछि हिउँदे ठण्डी कम हुन्छ भन्ने जनविश्वास छ।’ अध्यक्ष श्रेष्ठले थपे, ‘हाम्रो समुदायमा विवाहित दिदी–बहिनीलाई माइतीमा बोलाई माघेसंक्रान्तिका दिन घिउ–चाकु र तीलको लड्डु खुवाउने चलन छ। जन्मँदा र मर्दा गरिने कार्यहरूमा समेत चाकु चाहिन्छ। सुत्केरीका लागि पनि चाकु खुवाउनु उत्तम मानिन्छ। माघेसंक्रान्तिमा मात्रै चाकु खानुपर्छ भन्ने छैन। अरू बेला पनि खान सकिन्छ।’
आफ्नै उद्योगमा पलेंटी कसेर टुकीको सहायताले चाकु प्याकिङ गरिरहेका श्रेष्ठ भन्छन्– ‘मेरो यो चाकु कारखानामा मंसिर र पुस महिनामा ३० जनाले रोजगारी पाउँछन्। अरु महिनामा चाहिँ १५ जनालाई चार–पाँच दिनको रोजगारी मिल्छ। मैले उत्पादन गरेको चाकु क्यानडा, अस्ट्रेलिया, कोरिया, अमेरिका, जापानलगायतका देशमा पनि स–सानो परिमाणमा कार्गो गरेर पठाउने गरेको छु।’ उनले विदेश पठाउन छुट्टै नीलो प्याकेट बनाएका रहेछन् जसमा अंग्रेजी भाषामा प्रति १०० ग्राममा कुन–कुन पदार्थ के कति मात्रामा छ र यसबाट स्वास्थ्यका लागि के कस्ता फाइदा हुन्छन् भन्ने कुरा समेत छापिएका छन्।

कृष्णबहादुर र ‘न्हुछें टोखा चाकु उद्योग’का उद्यमी राजकाजी श्रेष्ठ दुवैको उस्तै दृष्टिकोण छ– गुणस्तरीय सक्खर उपलब्ध भइरहने र राज्यले विशेष चासो दिएर चाकुका विभिन्न परिकार विदेशी बजारमा पठाउन एवं सोको प्रवद्र्धन गर्न सघाउने हो भने यो नेपाली चकलेटले वैदेशिक मुद्रासमेत आर्जन गर्न सघाउने छ। चाकु चाख्न माघेसंक्रान्ति नै कुर्नुपर्छ भन्ने छैन।
विशेषगरी हिउँदे याममा यसको सेवन गजब मानिन्छ तर अन्य महिनामा पनि चकलेट जस्तैगरी चाकु खान सकिन्छ। प्राचीन नगर तुख्यः अर्थात् चाकुको राजधानीले अनेक प्रकारका चाकु र तिनका परिकारहरू तयार पारेर बजारमा पठाइरहेको छ– सादा चाकु, बाहिरी मसला चाकु, खुवा चाकु, झोल चाकु, सुत्केरी मसला चाकु, टुक्रा चाकु, पुष्टकारी, सेतो तिलौरा, बम्बै लड्डु, बदाम लड्डु आदि आदि। चाख्ने हो कि त तुख्यःको चाकु ?

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij