Aug 18 2026 | २०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

जिरीको जिम्बु, बोझोदेखि कालिञ्चोकको छुर्पीसम्म

जिरीको जिम्बु, बोझोदेखि कालिञ्चोकको छुर्पीसम्म

बालकृष्ण श्रेष्ठ “पासा”
२०८० सालको बैशाख महिनामा नै जिरी जाने कार्यक्रम तय भएको थियो । कार्यक्रमको सिलसिला अमेरिकामा बस्ने बहिनी पद्मा प्रधानले स्थापना गरेको प्रेम–पूर्ण–प्रताप फाउण्डेशनले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर थियो । तर त्यो समयमा विशेष कारणवश कार्यक्रम स्थगन भयो र पछि समयानुकूल वावतावरणमा गरिने जानकारी भयो ।

यात्रा स्मरण

जिरीको कार्यक्रम स्थगन राजनीतिक पूर्वाग्रहको कारणले भएको भन्ने जानकारी आउँदा मलाई केही दुःखद महशुस भएको थियो । अमेरिकामा रहेर आफ्नो जन्मभूमि नेपालका गरीब, दीनदुःखीलाई शिक्षा, स्वास्थ्य र दैनिकी चलाउन सहज होस् भनेर विदेशी भूमिमा अहोरात्र मेहनत गरेर सेवा पुर्याउँदै आएकी समाजसेवी पद्मा प्रधानको जन्मघर दोलखा नै भएकोले विशेष प्राथमिकता दोलखा जिल्लामा नै केन्द्रित गरेकी थिइन् ।

इतिहासमा नाम चलेको ज्यूँदा सहिद सुब्बा पूर्णनारायण प्रधान (जो राणाशासनको विरुद्धमा सञ्चारको काम गरेर राणाहरूको गोपनीयता खुलाउन खोजेको भन्नेमा आरोपित मानिएको थियो ।)की नातिनी, प्रतापनारायण र प्रेममायाकी छोरी हुन् । हालको भीमेश्वर नगरपालिका वडा नं. २ नक्छेँ टोल उनको जन्मघर हो । बाल्यकालदेखि नै चतुर स्वभावकी पद्माले ग्रामीण विकास परियोजना अन्तर्गतको एक्शन–एडमा काम गरेर सिन्धुपाल्चोकको धेरै गाउँठाउँमा प्रौढ शिक्षा र बिहानी कक्षा पढाउँदै सामाजिक सेवामा लागेकी हुन् । शहरीया जीवन र ग्रामीण जीवनका दिनचर्यासँग धेरै अनुभव बटुलेकी उनीले वैवाहिक जीवन पश्चात् अनेकौं आरोह र अवरोह पार गरेर अमेरिकाको यात्रा पार गरेकी हुन् ।

अमेरिकामा रहेर पनि नेपालका असहाय, अपाङ्ग र निरक्षरहरूका लागि सहयोग गर्न तत्पर रहेकी पद्मा प्रधानले त्यसै सिलसिलामा दोलखा जिल्लाको जिरीमा निःशुल्क स्वास्थ्य शिविरको परिकल्पना गरेर गरीब तथा असहायले चाहेर पनि स्वास्थ्य सेवा लिन असमर्थ भएको अवस्थालाई बिचार पुर्याएर जिरीलाई लक्षित गरिएको रहेछ ।

निश्चित कार्यक्रम तर्जुमा गरिएको भए पनि जिरीको स्थानीय राजनीतिक पार्टीको बीचमा समन्वय हुन नसकेकोले स्थगन भएको जानकारी आएकोले त्योबेला जिरी जाने काम थाती रहे पनि बुद्ध जयन्तीमा उनै पद्मा प्रधानले दोलखाको पालचुटी टोलमा एक वर्ष अगाडि डा. सुनिल मास्के स्थापना गरेको पद्मवर्ण बुद्ध महाबिहारमा बुद्धको नयाँ प्रतिमा अर्पण गर्ने कार्यक्रम राखिएकोले बैशाखको २२ गते बुद्ध जयन्तीको दिनमा दोलखा गइयो ।

काठमाडौंबाट रिजर्भ गाडीमा अध्यक्ष शान्ति श्रेष्ठ, म र सोही संस्थाका शुभचिन्तक कल्पना श्रेष्ठ र केशरी थिं तामाङ सहित गयौँ । दोलखामा पुगेर संघीय सांसद गंगा कार्कीको हातबाट मूर्ति हस्तान्तरण गरियो । सोही साँझ दीप प्रज्वलन गरी नगर परिक्रमा गर्ने कार्यक्रम भएकोले सो दिन दोलखामै बस्यौँ । भोलिपल्ट बिहान अध्यक्षको हातबाट दुई लाख रूपैयाँको चेक पद्मवर्ण बुद्ध महाबिहारका संस्थापक सुनिल मास्केलाई सो बिहारको सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले पद्ममाले पठाएको जानकारी सहित हस्तान्तरण गरेर काठमाडौं फक्र्यौँ । त्यो छोटो समयको यात्रा भएकोले यसमा अन्य प्रस्तुत गर्न चाहिन ।

पूर्व निर्धारित स्वास्थ्य शिविरको कार्यक्रम जेठ महिनाको २ गतेदेखि ५ गतेसम्म गरे तीन दिन शिविर सञ्चालन गरिने पक्का भएको जानकारी भएपछि सोही पद्मा प्रधानकै मातहतमा स्थापित पे्रम–पूर्ण–प्रताप फाउण्डेशन संस्थाकी अध्यक्ष शान्ति श्रेष्ठले फोन गरेर जानकारी दिईन् । सो शिविर सञ्चालनका लागि संरक्षक पद्मा प्रधानले उता अमेरिकाबाटै सबै व्यवस्थापन गरिसकेको र जसको लागि डाक्टरहरूको व्यवस्था राजन सुवेदीले जिम्मा लिएको, जिरीमा बस्न, खान र कार्यक्रम व्यवस्थापन गर्न जिरी नगरपालिकाको वडा नं. ७ का वडाध्यक्ष शान्त नेपालीले जिम्मा लिएको रहेछ । हामी चाहिँ संस्थाको तर्पmबाट अतिथि प्रतिनिधि र आर्थिक व्यवहारको तर्जुमा गर्नको लागि जानु परेको थियो ।

जेठ १ गते पुरा व्यवस्थापन निश्चित गरेर भोलिपल्ट बिहान ७ः०० बजे नै जाने निधो गरिएको थियो । त्यही भएर म पनि तैयारी गर्नतिर लागें । हाम्रो समूहमा चारजना मात्र भनिएको थियो । डाक्टर समूहको ८ जना भनिएको थियो । तर भोलिपल्ट आएर डाक्टर समूहमा ११ जना र हाम्रोमा ६ जना गरेर १७ जनाको समूह भएछ ।

बिहान ७ः०० बजे भनिएको समय पछि आएर जिरीको कार्यक्रम संयोजक वडाअध्यक्ष शान्त नेपालीले गाडी जिरीबाटै आउनु परेकोले ११ः३० मा मात्र जाने खबर आयो । हामी ११ः०० बजे सुन्धारामा भेला हुने कुरा भयो । त्यही अनुसार हामी सहमती भयौँ । तर सोचेको कुरा ठ्याम्मै मिलेन गाडी त १२ः३० मात्र आयो । कल्पना श्रेष्ठ, शान्त नेपाली, राजन सुवेदी सुन्धारामा भेटेर गाडी कुर्न थाल्यौँ । गाडी आउने समयको अनिश्चितताले गर्दा डाकटर समूहलाई यकिन समय बताउन अप्ठ्यारो परेको रहेछ उताको संयोजन गर्ने भाइ मातृका धिताललाई । त्यसैले शान्त नेपालीसँग बारम्बार गाडीको समय सोधिरहेको थियो ।

हामी चाहिँ नजिकै चिनजानकै भाइ विष्णु र बहिनीको होटेल भएकोले माथि छतमा गएर समय काट्ने कुरा भयो । कल्पना बहिनी र म माथि उक्ल्यौँ । हल्का मनतातो पानी पिएर होटलवाला भाइबहिनीहरूसँग लामो समय पछिको भेटको बेलिबिस्तार लगायौँ । बल्ल गाडी आई पुगेको सूचना आउनासाथ हामी पोका पन्तुरा गुट्मुट्याएर गाडी तर्फ लाग्यौँ ।

धरहराको छेवैमा बा.३ ख. ७४१८ नं.को मिनी गाडी रोकिएको थियो । गाडी चालक भाइले आउन ढिलाइ हुनाको कारणबारे स्पष्टीकरण दिंदै आफ्नो बाध्यता बताउँदै थियो, अरनिको यातायातको नियामानुसार १२ः०० बजे पछाडि कोटेश्वरबाट यता रत्नपार्कतिर आउन नपाइने भएकोले समिति र ट्राफिकसँग समन्वय गर्दागर्दै ढिलाइ भैरहेको बेलामा झनै सिभिल अस्पताल नजिकै मीनभवनको छेवैमा अरु गाडीले मान्छे किचेकोले ढिलाइ भएको रहेछ ।

२०७२ सालको प्रलयकारी भूकम्पले गल्र्याम्गुर्लुम ढलेको ऐतिहासिक धरहराको पुरानो अवशेषको अगाडि नवनिर्मित २२ तले भनिएको धरहरालाई यसो नियाल्दा त्यसले हाम्रो गाडीको प्रतिक्षित आलस्य अनुहार देखेर सहानुभूति दिँदै,– ‘म त अहोरात्र यो कोलाहलको माझमा अथक रूपमा उभिएको उभिएकै छु, अझ कति युग उभिएरै बिताउनु छ र पनि उत्साहित भएको छु, तिमीहरू ३ घण्टा गाडी कुर्दा यति उदास.. किन नि ?’ भने जस्तै लाग्यो ।

लामो दूरीको यात्राको लागि सुहाउँदो खालको सुविधाजनक गाडी रहेछ । कल्पना श्रेष्ठ सबैभन्दा अगाडि चालक साइडको सिट रोजेर बस्न पुगिन् । उनी जहाँ गए पनि पछाडि बस्न मान्दिनन् त्यो तिनको विशेषता नै हो । म चाहिँ ढोकाको पछिल्लो एकल सीटमा बसेँ । हाम्रो यात्रामा सहभागी डाक्टर समूह र हाम्रै समूहका सहभागीलाई पनि विभिन्न ठाउँबाट बटुल्दै लानुपरेकोले गाडी सबैभन्दा पहिले सुनधारा धरहरा परिसरबाट पश्चिमतिर अर्थात् गणबहाल र भोटेबहाल लगेर त्यहाँ ९ जनालाई लिएर फेरि सोही बाटो फर्केर रत्नपार्क घुम्दै मध्य बानेश्वरको बाटो भएर भेनस हस्पिटल लाग्यौँ । त्यहाँ डाक्टर सीताराम कटुवाल, आयुष्मा खड्का र समित लामिछाने रहेछन् ।

गाडीमा सवार डाक्टर समूहको स्वरूप हेर्दा सबै अफिसियल जस्तै लाग्थे । अर्थात् भर्खरै डाक्टरी पुस्तक च्यापेर कलेज जान लागेका जस्ता । मैले सोचेको अनुरुप कुनै पनि पाका उमेरका थिएनन् । यस्तो लाग्थ्यो म अभिभावक बाँकी सबै बाल बच्चाहरू । यथार्थ त्यही थियो । मध्य बानेश्वर पुगेपछि त्यहाँ तीनजनालाई चढाएर मीनभवनतिर हुइँकियो गाडी । त्यहाँबाट शान्तिनगर प्रवेशद्वारमा अध्यक्ष शान्ति श्रेष्ठ उभिरहेकी थिइन् । तिनलाई गाडीको अगाडि सिटमा कल्पना श्रेष्ठ सँगै राखेर गाडी कोटेश्वर तिर लाग्यो । त्यहाँ पनि डाक्टर समूहकै एकजना भाइलाई लिएर गाडीको रफ्तार बढायो । यतिबेला घडीले १ः१५ बजाइसकेको थियो ।
काठमाडौंको कोटेश्वर देखि भक्तपुरको सूर्य विनायकसम्म मित्रराष्ट्र जापानले बनाइदिएको अरनिको राजमार्गमा गाडी कुदेको लाम हेर्दा आपूm पनि कुनै विकसित देशको पक्की चिल्लो सडकमा यात्रा गरिरहेको आभास मिल्थ्यो । सबैतिर यस्तै फराकिला र हरियालीले भरिएको सडक भए कति आनन्द हुन्थ्यो होला जस्तो मनमा तर्कना उठिरहन्थ्यो । त्यहाँबाट नयाँ ठिमीको बस बिसौनीमा हाम्रै समूहको जिरी निवासी समाजसेवी टक्त जिरेललाई गाडीमा चढाएपछि भने हाम्रो यात्रामा सहभागी सदस्यको संख्या लगभग पूरा भएको थियो ।

तर पनि एकजना हाम्रै संस्थाको सचिव भने खाडिचउर माथि पर्खिरहने जानकारी आयो । त्यसपछि यात्रा अनवरत अगाडि बढि नै रह्यो । हाम्रो समूह सबैले खाना खाइसकेको भएपनि डाक्टर समूहले खाएको रहेनछ । त्यसैले सिम्लेमा पुगेर खाने निधो अध्यक्ष शान्ति श्रेष्ठले सुनाइन् । शान्ति श्रेष्ठले सिम्लेमा रहेको होटल ‘भ्यू’ मा खाना अर्डर गरिसकेको जानकारी गरिन् ।
चालक भन्दा पछाडि लहरमा डाक्टर समूहका प्रदीप अधिकारी (दाङबाट), विपना गुरुङ (गोरखा) र अमिसा शेष (सिक्किम) तीन जना बसे, ढोका छेउको एकल सिटमा सीताराम कटुवाल (खोटाङ) बसे, त्यो भन्दा पछाडि म भैहालें ।

त्यसको दायाँपट्टि समित लामिछाने (भरतपुर) बसे र मेरा दायाँ छेउको डबल सिटमा आयुष्मा खड्का (गोरखा) र आशिष सापकोटा (लमजुङ) अनि पछाडिको सिटमा मात्र चार जना अट्ने भएपनि पाँचजना अटाए, जसमा डाक्टर समूहलाई ल्याउनमा संयोजन गर्ने भाइहरू राजन अधिकारी (कालिकोट) र मात्रिका धिताल (जुम्ला) अनि अन्य सहयोगी भाइहरू आविष्कार लम्साल (चितवन), दिलिप धिताल (काठमाडौ) र शान्त नेपाली (जिरी) बसे । गाडीमा सिट नपुग भएकोले तक्त जिरेल (जिरी) भने एउटा मुढोमा मसँग सटिएर बसे ।

हाम्रो त्यो स्वास्थ्य शिविरमा जाने समूहका डाक्टर, पर्यवेक्षक, संयोजक सबैजना चितवन मेडिकल कलेजमा अध्ययन गरेर त्यहीँबाट डाक्टरी काममा योग्य बनेका प्रशिक्षकहरू स्वरूपका डाक्टरहरू थिए । जसमा फिजिसियेन, गाइनो, रेडियोलोजिस्ट, ल्याब डिपार्ट र मेडिसिन वितरण लगायतका रहेछन् ।

गाडी आफ्नै रफ्तारमा कुदिरेहेको थियो । गाडी चालक भाइ रामेछाप ठोसे मेक्चनको रहेछ । चालकको नाम तुला श्रेष्ठ । गाडी भित्रको सिटको दुरी फरक भएकोले चालकसँग खासै सोधखोज गरिएन । काठमाडौं जिरी आवतजावत गरिरहेको पर्याप्त अनुभव उसले घुम्तीमा गाडी मोड्ने र हँकाइको गतिले स्पष्ट भैरहेको थियो ।

धुलिखेलबाट ओह्रालो लाग्न थालेपछि साथी तक्ट जिरेलले डाक्टरहरूलाई बाटो, परिवेश, स्थलको बारेमा जानकारी दिंदै लाग्दा डाक्टर समूहलाई स्थल परिचयको लागि सहज अनुभूति हुँदै थियो भने हामीलाई पनि उनीहरू बीचको संवादले बाटो काटेको पत्तो नहुँदै कतिबेला दोलालघाट पुगिएछ थाहै पाइएन । काठमाडौंबाट १६ कोस (५६ कि.मि.) पूर्वमा रहेको दोलालघाट भोटेकोसी र इन्द्रावतीको दोभान हो ।

झण्डै मध्ये उपत्यका जस्तै देखिने यो स्थललाई साना उपत्यका भन्दा पनि अभिन्न नहोला । समुद्र सतहबाट ६५० मिटर उचाइमा रहेको यो स्थलमा उत्तरतर्पmबाट इन्द्रावती नदी र पूर्व उत्तरबाट भोटेकोसी अर्थात् सुनकोसी नदी आएर मिसिन्छ । यसैले पनि यसलाई दोलालघाट दोभानको नामले चिनिन्छ । यो ठाउँ दुई नदीको संगम मात्र नभएर व्यापारिक केन्द्रको रूपमा पनि हेर्न सकिन्छ । यो स्थलको उत्तरतर्पm चौतारा जाने सडक, दक्षिणतर्पm धनकुटा जाने सडकको प्रचारले पनि केन्द्र मान्न सकिन्छ । झनै कोदारी राजमार्ग र लामोसाँघु जिरी सडकको मूल मार्गले यसको धेरै महत्व छ ।

दोलालघाटको विषयमा इतिहास पल्टाएर हेर्दा यो ठाउँ पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिला दोलखा राज्यको आधिपत्यमा थियो भन्ने सप्रमाण लेखिएको इतिहासमा देखिन्छ । अन्यत्र राज्यमा लडाइँ युद्ध गरेर विजय हुँदै आएका पृथ्वी नारायण शाहले दोलखाका राजालाई बिना युद्ध नै त्यहाँका जनतालाई कुनै बाधा अड्चन नपारीकन सुख सुविधा दिएर राख्ने वचन दिएपछि दोलखाका राजाले सहमतिमा सहीछाप लगाएको थियो भन्ने इतिहासमा देखिन्छ ।

अब हामी सिन्धुपाल्चोकको पहिलो घुम्ती अँधेरीमा पुगेर चौतारा र बाह्रबिसे जाने दोबाटो अगाडिको चेकपोष्टमा गाडी रोकिएपछि चालक तुला भाइले यात्राको विवरण खुलाएर दर्ता गरि गाडी सुनकोसीको तिरैतिर कुद्न थाल्यो । रातमाटे पहाड र सुनकोसी नदीको बीचबाट गुड्दै गरेका गाडी भित्र तक्ट जिरेलले डाक्टर समूहलाई स्थान परिचय मात्र होइन त्यहाँका राजनीतिक नेताहरू, अग्नी सापकोटा, शेरबहादुर तामाङ, मोहन बहादुर बस्नेत हालको स्वास्थ्य मन्त्रि, पशुपति शमशेर जवराहरूले गरेको विकास, राज्य सञ्चालन नीति, कूटनीतिक चाल, पिस्कर काण्ड, पहिरोले सुनकोसीको दोभान नै थुनि दिएको र त्यसबाट आइपरेको विगतका घटनाहरू एक एक गर्दै सुनाउदै गर्दा हामी सिम्लेको भ्यू होटलमा गाडी बिसाउन पुग्यौँ ।

चौतारा साँगाचोक नगरपालिका अन्तर्गत पर्ने सिम्ले सानो बजार हो । यो बजार खासै गरेर कुनै ठूला उद्योगधन्दा नभए पनि यहाँको सेरोफेरोमा रहेको डुम्रेघाट, सुकुटे, चेहरे र बलेफी वरिपरि जलयात्राको लागि ससाना कटेज होटेल बनाएर व्यापार गरिने गर्छन् । अधिकांश माझीहरूको बस्ती भएको यो ठाउँ विगतमा लगभग सुनसान जस्तै थियो । यहाँको जीविकोपार्जन भनेकै माछा मारेर गर्ने थियो अनि कहिलेकाहीँ सडक मर्मतमा लाग्ने गरेको पाइन्छ ।

दिनको करीब ३ः५० बजे सिम्लेमा खाना खान लागे डाक्टर समूह । हामीले उतैबाट खाएर आएकाले हल्का सलाद मात्र खायौँ । डाक्टर समूह सबैले खाए । सिम्लेमा केही वर्ष पहिलेसम्म त्यत्ति चहलपहल थिएन । पहिले पहिले खाना खानको लागि कि त खाडी चौर नै पुर्याउँथे कि त सुकुटेमा । अझ बढी त मुढेमै पुर्याउँथे । पछि गाडीको चाप पनि तिव्र वृद्धि हुँदै गए । अनि चालकहरूले नै आ–आफ्ना मान्छेलाई भनेर अलि एकान्त, शान्त र फराकिला ठाउँमा होटल बनाएमा ग्राहकलाई पनि संतुष्ट मिल्ने र व्यापार पनि फस्टाउने सोचले ती होटलहरू बनाउन लगाएका हुन् ।

लामो दुरीको गाडी चालकहरूले आ–आफ्ना मान्छेकहाँ लगेर गाडी बिसाएपछि यात्रुहरूले खाना खाई हाल्छन् भन्ने उद्देश्यले नै बनाएका हुन् भन्ने कुरा धेरैले बुझिसकेको अवस्था छ । यो प्रक्रिया अरनिको राजमार्ग र लामोसाँघु–जिरी सडक खण्डमा मात्र होइन । अधिराज्यभर नै चलेको कुरा हो । चालकहरूलाई यात्रुहरूको भोकको त्यत्ति ख्याल गर्ने बानी छैन । उनीहरूलाई जुन होटलबाट हरेक दृष्टिले सुविधा मिल्छ त्यतै जाने गर्दछन् । तर यो प्रसङ्ग हामी जाने गाडीको चाहिँ होइन । किनकि हाम्रो यात्रा स्वनिर्णयको यात्रा थियो ।

डाक्टर समूहले खाना खाइसके पश्चात् बाहिर सडक नजिकै बसेर सामुहिक तस्बिर सबैजसोको मोबाइलमा कैद गरेर हाम्रो यात्रा अगाडि बढ्यो । सुनकोसी नदीमा नेपाली युवा युवतीहरू र्याफ्टिङको मजा लिइरहेको देखिन्थ्यो । यो नदीको बहाव त्रिशुली र मस्र्याङ्गदीको भन्दा त्यत्ति भयावह नभएको धेरैले अनुभव सुनाएका थिए । बाह्रबिसे लामोसाँघु देखि दोलालघाट दोभान सम्मको जलयात्रा अति रोमाञ्चकारी हुन्छ भन्ने कुरा मलाई साथीहरूले सुनाएको भए पनि अहिले सम्म फेवाताल र वेगनास तालमा डुंगामा बसेर गरेको जलयात्रा बाहेक मैले अन्यत्र त्यो अवसर पाएको छुइन ।

साथी तक्ट जिरेलको स्थल परिचय यात्रा जारी नै थियो । शान्ति बुहारी सबैभन्दा अगाडिको सिटमा बसे पनि बारम्बार पछाडि फर्कँदै हँसि मजाको कुरा गर्दै, कहिले तितौरा, कहिले चकलेट चुइगम र कहिले भुटेर ल्याएको खट्टा मकै बाँडिरहन्थी । कल्पना बहिनी पनि बेलाबेलामा कुनै न कुनै कुरा निकालेर सुस्तता भुलाउने प्रयास गर्थिन् । तक्ट जिरेलले सिन्धुपाल्चोक जिल्लामा मोहन बहादुर बस्नेत हालको स्वास्थ्य मन्त्रिले धेरै विकास गरेको बारेमा उनको व्यक्तित्वलाई सकारात्मक टिप्पणी गर्दै डा. सीताराम कटुवाललाई सुनाउदै थिए भने डां विपना, अमिसा र आयुष्मा चाहिँ भाते सुताइमा थिए । अगाडि बसेर तक्ट जिरेलले गरेको कुरालाई पछाडि बस्ने राजन अधिकारी समूहले भने कहिलेकाहीँ बङ्ग्याएर हँसाउने प्रयास गर्दै थिए । म चाहिँ सबैको क्रियाकलाप नियाल्दै मौन रहेँ ।

गाडीले खाडीचौरबाट सुनकोसी पार गरेर दक्षिणी सिन्धुपाल्चोकलाई मितेरी लाउन पुग्यो । जहाँबाट लामोसाँघु—जिरी सडक शुरु हुन्छ । अबको यात्रा घुम्तीहरू छिचोल्दै पहाडतिर उक्लिइन्छ । २ कि.मि. माथि आएपछि एउटा घुम्ती चौतारीमा हाम्रै सहयात्री हिरा थामी गाडी कुरिरहेकी थिइन् । उनलाई दोस्रो लहरको छेउमा राखेर यात्रा अगाडि बढ्यो । पहिले गाडीकै झ्यालबाट हात निकाल्दा छोइएला जस्तो हुने सुनकोसी नदीको बहाइ अब हाम्रो आँखाबाट प्रत्येक घुम्ती कटाइ संगै ओझेल हुँदै दुर दृश्य बनिरहेको थियो । तक्ट जिरेलले प्रत्येक घुम्तीको पूर्वतिर पुगेपछि झ्यालबाट देखिने लामोसाँघु बजार, सुनकोसी जलविद्युत आयोजनाको ताल र ड्यामबारे जानकारी दिँदै गए । साथै उनले छोडिएको सडक लामोसाँघु बजार, टेकनपुर दोबाटो हुँदै बाह्रबिसे र त्यसपछि लिस्टिथोक दोभान भएर तातोपानी कोदारीसम्म जाने मार्गको बारेमा बताए ।

अरनिको राजमार्गको यो सडक खण्ड हिजोआज बस्ती आवतजावतमा सिमित भएकोले होला सडकमा खासै गाडीहरूको चहलपहल देखिँदैन, त्यही ढुंगा, बालुवा, सिमेन्ट ओसार्ने ट्रक, ट्रिपर र ल्याण्डकुजर अनि मझौला खाले मिनी ट्रकहरू मात्र पातलो दुरीमा चलेको देखिन्छ । मानिसहरूको आवतजावत पनि त्यत्ति देखिन्न । पहिले तातोपानी नाकाबाट खुल्ला व्यापार हुँदा कटन व्यापारीहरू धेरै नै मौलाएका थिए । टाठाबाठाले त्यही व्यापारले काठमाडौंमा जग्गा जमीन थुपारे, महल ठड्याए । त्यतिबेला र्वैध व्यापार पनि भए, अवैध पनि । निम्नतम मूल्यमा ल्याएका सामानलाई अधिकतममा विक्री गरेर कतिले जीवन उकासे, कतिले डुबाए पनि ।

चीनीया सामान हेर्दा जति आकर्षक देखिन्छ, त्यति मजबुत हुँदैनन् । त्यसैले पनि नेपाली जनमानसमा एउटा उखानको सृजना भएको छ , ‘मेड इन चाइना, आज छ भोलि छैन,’ भनेर । यसै सन्दर्भमा विगतका एउटा यात्राको प्रसङ्ग जोड्न चाहेँ ।
क्रमशः……..

फोटो : आफै/ सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार