Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

जिरी उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा लक्ष्मण खड्का, सञ्चार क्षेत्रले गर्‍यो स्वागत

जिरी उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा लक्ष्मण खड्का, सञ्चार क्षेत्रले गर्‍यो स्वागत

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः ११ एकादशी (९ साउन, २०८३, २५ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । जिरी उद्योग वाणिज्य संघले वरिष्ठ सञ्चारकर्मी लक्ष्मण खड्कालाई संघको प्रेस सल्लाहकार पदमा नियुक्त गरेको छ। लामो समयदेखि पत्रकारिता र सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका खड्काको नियुक्तिलाई जिरी तथा दोलखाको सञ्चार र व्यावसायिक क्षेत्रले सकारात्मक रूपमा लिएको छ।

जिरी उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा मनोनित भएपछि सञ्चारकर्मी लक्ष्मण खड्काले आफूले व्यक्तिगत रूपमा नियुक्ति वा मनोनयन स्वीकार गर्ने परम्परा नरहेको भए पनि जिरीप्रतिको माया, आत्मीयता र जिम्मेवारीका कारण यो जिम्मेवारी स्वीकार गरेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले हालसम्म सरकारी वा गैरसरकारी कुनै पनि निकायमा नियुक्ति नलिएको उल्लेख गर्दै यसपटक भने जिरी उद्योग वाणिज्य संघले प्रेस सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेपछि त्यसलाई सम्मानपूर्वक स्वीकार गरेको जानकारी दिएका हुन्।

खड्काले आफ्नो पत्रकारिता यात्रा जिरीबाटै सुरु भएको स्मरण गर्दै अहिले जिरी एफएमको अध्यक्षको जिम्मेवारीमा रहेको र जिरीवासीले दिएको माया तथा विश्वासकै कारण संघको जिम्मेवारी स्वीकार गरेको बताएका छन्।

उनले जिरी उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कार्की, प्रथम उपाध्यक्ष दलबहादुर श्रेष्ठ, महासचिव सुरज खड्कासहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमितिप्रति विश्वास र जिम्मेवारी प्रदान गरेकोमा हार्दिक आभार व्यक्त गरेका छन्।

खड्काले प्रेस सल्लाहकारको भूमिकामा रहँदा आफूले पत्रकारिताको अनुभव र ज्ञानलाई संस्थाको हितमा प्रयोग गर्दै प्रेस तथा सञ्चारका क्षेत्रमा जानेको, बुझेको र सकेको सहयोग तथा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय खड्का हाल जिरी एफएम ९४ मेगाहर्ज सञ्चालक समितिका अध्यक्ष, हाम्रो अपडेट अनलाइनका प्रबन्ध निर्देशक, हाम्रो रेडियोका स्टेशन म्यानेजर तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षका रूपमा कार्यरत छन्। उनको नयाँ जिम्मेवारीले जिरी उद्योग वाणिज्य संघ र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार