अभिनेत्री नम्रता श्रेष्ठ ४० वर्ष पुगेकी छन्। आफ्नो जन्मदिनको अनुभव सामाजिक सञ्जालमार्फत साझा गर्दै उनले आफू नयाँ ऊर्जा र शान्त मनस्थितिका साथ फर्किएको बताएकी छन्।
नम्रताको जन्मदिन गत जुन १४ मा परेको थियो। तर, जुन महिनाभर आयुर्वेदको विशिष्ट चिकित्सा पद्धति पञ्चकर्ममा व्यस्त रहेकाले त्यस अवधिमा आफूले मोबाइलसमेत नचलाएको उनले उल्लेख गरेकी छन्।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै नम्रताले जुन महिना आफूका लागि पूर्ण रूपमा शान्त र आत्मचिन्तनको समय बनेको बताएकी छन्। उनले लेखेकी छन्, “जुन महिना मेरो थियो। पूर्णरूपमा शान्तसँग मेरो। २८ दिनको पञ्चकर्म। न फोन, न कोलाहल, न कुनै योजना। केवल वर्तमानमा बाँच्ने अनुभव।”
उनका अनुसार ४०औँ जन्मदिन डाक्टर, थेरापिस्ट र उपचारमा सहयोग गर्ने व्यक्तिहरूको बीचमा बित्यो। उनीहरूले घरमै बनाएको केक र आफ्नै फिल्मका गीत गाएर जन्मदिनलाई विशेष बनाइदिएको उनले बताएकी छन्।
“केही जन्मदिन हामी आफैँ योजना बनाएर मनाउँछौँ। कतिपय जन्मदिन भने जीवनले ठीक त्यही ठाउँमा पुर्याएर मनाइदिन्छ, जहाँ हामीलाई पुग्न आवश्यक हुन्छ,” उनले लेखेकी छन्।
पञ्चकर्मपछि आफू पहिलेभन्दा धेरै शान्त, सन्तुलित र सचेत भएको नम्रताको भनाइ छ। “तपाईं जे खानुहुन्छ, तपाईं त्यसैबाट बन्नुहुन्छ। तपाईं जे बोकेर हिँड्नुहुन्छ, त्यसले पनि तपाईंलाई बनाउँछ। र, तीमध्ये केही भार बिसाउने निर्णय गर्ने अधिकार पनि तपाईंकै हुन्छ,” उनले उल्लेख गरेकी छन्।
उनले अब आफू “पहिलेभन्दा अझ भरिपूर्ण भएर फर्किएको” बताएकी छन्।
नम्रता श्रेष्ठ पछिल्लो पटक फिल्म क्षेत्रमा सक्रिय नभएको करिब सात वर्ष भइसकेको छ। स्रोतका अनुसार उनी एउटा फिल्ममार्फत पुनरागमनको तयारीमा रहेकी छन् र उक्त फिल्ममा काम गर्ने सम्झौता गरिसकेको चर्चा छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij