नेपाल सम्वत् ११४६, अनलागाः ७ सप्तमी(२४ जेष्ठ, २०८३, ७ जुन, २०२६) आईतबार, बाँपिझ्याला । भारतीय टेलिभिजन अभिनेत्री शिल्पा शिन्दे आफ्नो एक हालैको खुलासाका कारण विवादमा तानिएकी छन्। कमेडियन भारती सिंह र हर्ष लिम्बाचियाको पोडकास्टमा कुराकानी गर्ने क्रममा शिल्पाले चर्चित टिभी शो ‘भाभीजी घर पर हैं’ का निर्मातामाथि आफूले विगतमा यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेकी थिइन्। उनको यो अभिव्यक्तिले भारतीय मनोरञ्जन क्षेत्रमा नयाँ बहस सुरु गराएको छ।
शिल्पाको स्वीकारोक्तिपछि ‘अल इन्डिया सिने वर्कर्स एसोसिएसन’ले कडा प्रतिक्रिया जनाएको छ। संस्थाले एक विज्ञप्ति जारी गर्दै यस्तो कदमले समाजमा गम्भीर र नकारात्मक प्रभाव पार्ने जनाएको छ। निर्दोष व्यक्तिमाथि झुटो यौन उत्पीडनको आरोप लगाइँदा उनीहरूको प्रतिष्ठा, परिवार, करियर तथा मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पर्ने संस्थाको भनाइ छ। साथै, यस्ता घटनाले वास्तविक पीडितहरूको आवाज र विश्वसनीयतालाई समेत कमजोर बनाउने चिन्ता व्यक्त गरिएको छ।
एसोसिएसनले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग यस विषयमा निष्पक्ष र गम्भीर छानबिन गर्न आग्रह गरेको छ। यदि कसैले नियोजित रूपमा झुटो आरोप लगाएको प्रमाणित भए कानुनअनुसार कडा कारबाही हुनुपर्ने संस्थाको माग छ। संस्थाका अनुसार चर्चित व्यक्तिहरूले व्यक्तिगत फाइदाका लागि झुटा मुद्दा प्रयोग गर्दा न्यायको खोजीमा रहेका वास्तविक पीडितहरूलाई थप कठिनाइ हुन सक्छ।
विवाद बढ्दै गएपछि शिल्पाले सामाजिक सञ्जालमार्फत आलोचकहरूलाई जवाफ दिएकी छन्। इन्स्टाग्राममा एक भिडियो साझा गर्दै उनले आफू सत्य बोल्न नडराउने बताएकी छन्। पोस्टमा उनले लेखेकी छन्, “एउटी यस्तो महिला बन, जो जहिले पनि भन्न तयार होस्— जसले जे सक्छ, उखाडोस्।” अर्को पोस्टमा उनले आफ्नो स्पष्ट र सत्य बोल्ने बानीका कारण धेरै मानिस जीवनबाट टाढिएको उल्लेख गरेकी छन्। एजेन्सी
शिल्पा शिन्देले सन् २०१५ मा प्रसारण भएको लोकप्रिय धारावाहिक ‘भाभीजी घर पर हैं’ मा ‘अंगुरी भाभी’को भूमिका निर्वाह गरेकी थिइन्। उक्त पात्रले उनलाई घरघरमा लोकप्रिय बनाएको थियो। तर सन् २०१६ मा उनले एक्कासि शो छोडेकी थिइन्। त्यसबेला उनले शोका निर्माता तथा व्यवस्थापनमाथि यौन उत्पीडनको आरोप लगाउँदै उजुरी दर्ता गराएकी थिइन्, जसले व्यापक चर्चा पाएको थियो।
हालैको पोडकास्टमा शिल्पाले त्यही पुरानो विवादबारे बोल्दै आफूले निर्माताविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गराएको स्वीकार गरिन्। उनका अनुसार त्यतिबेला सम्झौता (कन्ट्र्याक्ट) सम्बन्धी विवाद चर्किएको थियो र समस्या समाधानका लागि आफूले त्यो बाटो रोजेकी थिइन्। पछि आपसी सहमतिमा विवाद समाधान भएको र आफू त्यस अवस्थाबाट बाहिर निस्किएको उनले बताइन्।
शिल्पाले आफू कानुनी पृष्ठभूमिबाट आएको दाबी गर्दै एफआईआर दर्ता गराउन प्रहरीले नै गम्भीर आरोपहरू समावेश गर्न सुझाव दिएको पनि उल्लेख गरेकी छन्। यद्यपि, उनको यो भनाइले थप विवाद सिर्जना गरेको छ र सामाजिक सञ्जालमा उनको आलोचना तीव्र बनेको छ।
उनको स्वीकारोक्तिपछि भारतीय मनोरञ्जन उद्योगमा झुटा आरोप, कानुनी प्रक्रियाको दुरुपयोग तथा वास्तविक पीडितहरूको न्यायको विषयलाई लिएर व्यापक बहस सुरु भएको छ। अब यस विषयमा सम्बन्धित निकायहरूले कस्तो कदम चाल्छन् भन्ने चासो बढेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij