Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

खुला प्रतिस्पर्धाबाट राजदूत छनोट : नयाँ अभ्यासमाथि बहस

खुला प्रतिस्पर्धाबाट राजदूत छनोट : नयाँ अभ्यासमाथि बहस

नेपाल सम्वत् ११४६, अनलागाः ४ औशी (२१ जेष्ठ, २०८३, ४ जुन, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाल सरकारले पहिलो पटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्तिका लागि आवेदन आह्वान गरेपछि यसको प्रभावकारिता र सम्भावित परिणामबारे बहस सुरु भएको छ। परराष्ट्र मन्त्रालयले चीन, भारत, अमेरिका लगायत १३ देशका लागि योग्य नेपाली नागरिकबाट आवेदन मागेको छ। सरकारले यसलाई कूटनीतिक नियुक्तिमा नयाँ अभ्यासको रूपमा प्रस्तुत गरे पनि विज्ञहरूले यसको सफलताबारे मिश्रित धारणा व्यक्त गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार आवेदन दिएका उम्मेदवारहरूको छनोट, सर्टलिस्ट, मन्त्रिपरिषद्को सिफारिस, संसदीय सुनुवाइ तथा सम्बन्धित देशको ‘एग्रिमो’ प्राप्तिपछि मात्रै राजदूत नियुक्ति हुनेछ। मन्त्रालयले राजनीतिक नियुक्तिभन्दा योग्यता, क्षमता र अनुभवलाई प्राथमिकता दिन खोजिएको दाबी गरेको छ।

तर पूर्वराजदूत तथा अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूले राजनीतिक अनुभव र उच्चस्तरीय सम्बन्धको अभावमा विशेष महत्वका देशहरूमा कूटनीतिक चुनौती आउन सक्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार चीन, भारत र अमेरिका जस्ता रणनीतिक साझेदार राष्ट्रमा नियुक्त हुने राजदूतसँग केवल शैक्षिक योग्यता मात्र नभई राजनीतिक तथा कूटनीतिक पहुँच पनि आवश्यक हुन्छ।

सरकारले नयाँ व्यवस्था पारदर्शिता र प्रतिस्पर्धाको आधारमा ल्याएको बताए पनि अन्तिम निर्णय मन्त्रिपरिषद्बाट हुने भएकाले यसलाई पूर्ण रूपमा गैरराजनीतिक प्रक्रिया भन्न नसकिने तर्क समेत उठेको छ। यद्यपि, परराष्ट्र मन्त्रालयले नयाँ अभ्यासलाई सफल बनाउन अनावश्यक आशंका नगर्न आग्रह गरेको छ।

राजदूत नियुक्तिको यो नयाँ मोडेलले नेपालको कूटनीतिक क्षेत्रमा कस्तो परिणाम दिन्छ भन्ने कुरा भने आगामी नियुक्ति र उनीहरूको कार्यसम्पादनबाट मात्रै स्पष्ट हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार