Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

‘डन ३’ विवादपछि रणवीर सिंहमाथि एफडब्लूआईसीईको प्रतिबन्ध

‘डन ३’ विवादपछि रणवीर सिंहमाथि एफडब्लूआईसीईको प्रतिबन्ध

नेपाल सम्वत् ११४६, अनलाथ्वः ११ दशमी (१२ जेष्ठ, २०८३, २६ मे, २०२६) बुधबार, बाँपिझ्याला । रणवीर सिंह माथि फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले असहयोगको निर्देश जारी गरेको छ। अभिनेता तथा निर्देशक फरहान अख्तर को उजुरीपछि महासंघले यो निर्णय गरेको हो।

रणवीरले आफ्नो आगामी चलचित्र डन ३ बाट अचानक बाहिरिने निर्णय गरेपछि विवाद सुरु भएको हो। निर्माण पक्षका अनुसार चलचित्रको प्रि-प्रोडक्सन सुरु भइसकेपछि रणवीरले परियोजना छाड्दा करिब ४५ करोड भारु नोक्सान भएको दाबी गरिएको छ।

महासंघका अध्यक्ष वीएन तिवारी ले रणवीरसँग पटक–पटक संवाद गर्न खोजिए पनि सकारात्मक प्रतिक्रिया नआएको बताएका छन्। रणवीरले भने यो विषय सम्झौतासँग सम्बन्धित भएकाले कानुनी प्रक्रियामार्फत समाधान खोज्नुपर्ने धारणा राखेका थिए।

सन् २०२३ मा फरहान अख्तरले रणवीरलाई मुख्य भूमिकामा राखेर डन ३ को घोषणा गरेका थिए। यसअघि फ्रेन्चाइजका डन र डन २ निकै सफल भएका थिए।

चलचित्रमा सुरुमा कियारा आडवाणी अनुबन्धित भएकी थिइन्। पछि गर्भावस्थाका कारण उनले परियोजना छाडेपछि कृति सेनन लाई लिन सकिने चर्चा चलेको थियो।

निर्माण पक्षले रणवीरले पटकथामा हस्तक्षेप गरेको, गालीगलौज तथा हिंसात्मक दृश्य थप्न दबाब दिएको आरोप पनि लगाएको छ। यद्यपि रणवीरका प्रवक्ताले अभिनेता फिल्म उद्योग र ‘डन’ फ्रेन्चाइजप्रति सम्मानजनक रहेको र विवादलाई मर्यादित ढंगले समाधान गर्न चाहेको बताएका छन्।

यस प्रतिबन्धका कारण रणवीर आबद्ध अन्य परियोजनाहरू प्रभावित हुने देखिएको छ। किङ, निर्देशक आदित्य धर को नयाँ चलचित्र तथा बैजु बावरा को काममा असर पर्न सक्ने बताइएको छ।

सन् १९५६ मा स्थापना भएको फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) भारतीय चलचित्र उद्योगका प्राविधिक, कलाकार र क्रु सदस्यहरूको सबैभन्दा ठूलो संस्था मानिन्छ।

 
 
 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार