नेपाल सम्वत् ११४६, यंलागाः २, द्वितिया –१२ असोज २०८३, २८ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा पछिल्लो दुई दिनमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। आइतबार मात्रै नौ जनाको मृत्यु भएको हो। शनिबार ताराखोलामा एक जनाको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जना र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ। तमानखोलामा एक जना अझै बेपत्ता छन्।
तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ। सोही स्थानमा पहिरोले आठ घर बगाएको प्रहरीले जनाएको छ।
तमानखोला–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ। हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता छिन्।
यस्तै, निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका १३ वर्षीय छोरा मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक रहेका छन्।
निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ। यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको हो। पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा खोजीका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा अधिकारीको टोली परिचालन गरिएको छ।
विगत केही दिनदेखिको वर्षाका कारण तनहुँका विभिन्न स्थानीय तहमा बाढी तथा पहिरोले २४ घरमा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिकामा पाँच, म्याग्दे गाउँपालिकामा दुई, घिरिङ गाउँपालिकामा छ, ऋषिङ गाउँपालिकामा दुई, बन्दीपुर गाउँपालिकामा चार र भानु नगरपालिकामा पाँच घरमा क्षति पुगेको छ।
क्षति पुगेका घरका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। घटनाबाट भएको थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
पहिरोका कारण व्यास नगरपालिका–१ स्थित राइस मिलमा क्षति पुग्दा एक सय बोरा धान भिजेको छ। त्यस्तै, भिमाद नगरपालिका–६ मालेबगरमा कुखुराफार्म र बङ्गुरको खोरसमेत बगाएको प्रहरीले जनाएको छ।
तनहुँको देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकी नदीमा आएको बाढीले विभिन्न संरचना तथा सामग्रीमा क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बाढीले सीता गुफानजिकको शौचालय, बाथरुम, ठूलो ढुङ्गामा कुँदिएको १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति, स्टोरका सामान तथा ओढ्ने–ओछ्याउने सामग्री बगाएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले सीता गुफामा पूजा गर्ने ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित स्थानमा सारेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij