नेपाल सम्वत् ११४६, गुंल्लागाः १२, द्वादसी (२३ भाद्र २०८३, ०८, सेप्टेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति भीमेश्वर नगरपालिकाले दुःख व्यक्त गर्दै बाढीपीडितका लागि राहत तथा सहयोगको घोषणा गरेको छ।
नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले नगर कार्यपालिकाको २०८३ भदौ २३ गतेको बैठकले राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरूको तलबबाट सहयोग रकम कट्टा गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ।
निर्णयअनुसार २०८३ भदौ महिनाको तलब तथा पारिश्रमिकबाट श्रेणीविहीन कर्मचारीको मासिक सुरु तलब स्केल बराबरको २ दिन, सहायकस्तर कर्मचारी वा सो सरहका कर्मचारीबाट ५ दिन र अधिकृतस्तर तथा राजपत्रांकित द्वितीय वा सो सरहका कर्मचारीबाट ७ दिन बराबरको रकम योगदान गरिनेछ। शिक्षकहरूको हकमा उल्लिखित श्रेणीअनुसार तथा जनप्रतिनिधिहरूको तर्फबाट खाइपाई आएको सुविधाको ७ दिन बराबरको रकम योगदान गरिने विज्ञप्तिमा उल्लेख छ।
यसरी संकलन हुने रु. ३०,६२,५७९ (अक्षरेपी तीस लाख बयसठ्ठी हजार पाँच सय उनासी रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।
त्यसैगरी भोटेकोशी बाढीबाट भीमेश्वर नगरपालिकामा स्थायी बसोबास गर्ने नागरिक प्रभावित भई ज्यान गुमाएका तथा बेपत्ता भएका परिवारलाई प्रतिपरिवार रु. १ लाख उपलब्ध गराउने निर्णय गरिएको छ। बाढीमा परी घाइते भएका नागरिकलाई प्रतिव्यक्ति रु. २५ हजारसम्म उपचार खर्च सहयोग उपलब्ध गराउने निर्णयसमेत नगरपालिकाले गरेको छ।
नगर प्रमुख ईश्वर नारायण मानन्धरद्वारा जारी विज्ञप्तिमा बाढीपीडित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij