Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

साउने संक्रान्ति: आस्था, संस्कृति र जनविश्वासको विशेष दिन

साउने संक्रान्ति: आस्था, संस्कृति र जनविश्वासको विशेष दिन

आज श्रावण महिनाको पहिलो दिन अर्थात् श्रावण संक्रान्ति (कर्कट संक्रान्ति) हो। सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई कर्कट संक्रान्ति भनिन्छ। यही दिनबाट सूर्यको दक्षिणतर्फको यात्रा अर्थात् दक्षिणायन सुरु हुने धार्मिक विश्वास छ। यससँगै श्रावण महिनाको आगमन भई हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक अनुष्ठान, व्रत तथा पर्वहरूको श्रृंखला पनि सुरु हुन्छ।

पौराणिक मान्यताअनुसार श्रावण महिनामै समुद्र मन्थन हुँदा निस्किएको हलाहल विष भगवान् शिवले पान गरी संसारको रक्षा गर्नुभएको थियो। विषको प्रभाव कम गर्न उहाँ हिमालय क्षेत्रमा पुग्नुभएको र नेपालस्थित गोसाइँकुण्डसँग पनि यस कथालाई जोडेर हेरिन्छ। त्यसैले श्रावण महिनाभर भगवान् शिवलाई जल, बेलपत्र, धतुरो, भाङ तथा अन्य पूजासामग्री अर्पण गर्दा शिव प्रसन्न हुने विश्वास रहिआएको छ। यही कारण श्रावण महिना भगवान् शिवको विशेष आराधनाको महिना मानिन्छ।

यस महिनामा विशेषगरी बोलबम परम्पराको पनि ठूलो महत्व छ। शिवभक्तहरूले पहेँलो वा सुन्तला रङका वस्त्र धारण गरी काँवरमा पवित्र जल बोकेर लामो पदयात्रा गर्दै विभिन्न शिवालयमा पुगेर जल चढाउने चलन रहिआएको छ। धरानको पिण्डेश्वर, काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बाराको सिद्धेश्वर महादेवलगायत देशभरका शिव मन्दिरमा यस अवसरमा भक्तजनहरूको उल्लेखनीय भीड लाग्ने गर्दछ। विशेषगरी तराई क्षेत्रमा काँवर यात्राका क्रममा भक्तजनले जल नचढाउञ्जेल चप्पलसमेत नलगाई कठिन पदयात्रा गर्ने परम्परा आज पनि जीवित छ।

श्रावण महिनाको प्रत्येक सोमबारको पनि विशेष धार्मिक महत्व छ। विशेषगरी महिलाहरू हरियो चुरा, हरियो वस्त्र, पोते र मेहन्दी लगाएर शिव मन्दिरमा पूजा–आराधना गर्ने, जल तथा बेलपत्र अर्पण गर्ने र सु-स्वास्थ्य, पारिवारिक सुख तथा मनोकामना पूरा होस् भन्ने कामनासहित व्रत बस्ने परम्परा रहेको छ।

श्रावण संक्रान्तिसँगै दक्षिणायन सुरु हुन्छ। धार्मिक ग्रन्थहरूमा उत्तरायणलाई देवताहरूको दिन र दक्षिणायनलाई देवताहरूको रातका रूपमा व्याख्या गरिएको छ। दक्षिणायनमा दिन छोटा र रात लामो हुँदै जाने विश्वास छ। यस अवधिमा विवाह, व्रतबन्ध, गृहप्रवेशजस्ता शुभकार्य कम गरिने भए पनि पूजा, उपासना, तपस्या र व्रतका लागि यो समय अत्यन्त फलदायी मानिन्छ।

श्रावण संक्रान्तिलाई ‘लुतो फाल्ने दिन’ का रूपमा पनि चिनिन्छ। वर्षायाममा पानी, हिलो र आर्द्रताका कारण दाद, लुतो, घमौरा तथा अन्य छालासम्बन्धी रोग बढ्ने भएकाले यस दिन शरीर शुद्ध गर्ने परम्परा विकास भएको मानिन्छ। विभिन्न ठाउँमा नदी वा खोलामा गएर पहेँलो माटो दलेर स्नान गर्ने, कतै भ्यान्टा (भण्टा) मा प्वाल पारेर चौबाटोमा फाल्नेजस्ता परम्पराहरू प्रचलित छन्। यस्ता अभ्यासले रोगव्याधि हट्ने जनविश्वास रहिआएको भए पनि आधुनिक स्वास्थ्य विज्ञानले छालाको सरसफाइ, व्यक्तिगत स्वच्छता र आवश्यक परे चिकित्सकीय उपचारलाई नै प्रभावकारी उपाय मान्दछ।

यसै मौसममा थारु समुदायले मनाउने गुरिया (गुरही) पर्व पनि विशेष महत्वको पर्व हो। यस पर्वमा दिदीबहिनीहरूले कपडाको गुडिया बनाउने र दाजुभाइहरूले त्यसलाई खेलका रूपमा लट्ठी वा सोंठाले प्रहार गर्ने परम्परा छ। यसले रोग, दुःख र कष्टलाई प्रतीकात्मक रूपमा बिदाइ गर्दै दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।

धार्मिक आस्था, सांस्कृतिक विविधता, प्राकृतिक जीवनशैली र लोकविश्वासको सुन्दर संगमका रूपमा रहेको श्रावण संक्रान्तिले नेपाली समाजलाई धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा जोड्दै आएको छ। श्रावण महिनाले सबैमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस् भन्ने शुभकामना।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार