Aug 18 2026 | २०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

दक्षिणकालीमा लघुकथा विमोचन र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

दक्षिणकालीमा लघुकथा विमोचन र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

नेपाल सम्वत् ११४६, बछलागाः २ प्रतिपदा (२० बैशाख, २०८३, ३ मे, २०२६) आईतबार, बाँपिझ्याला ।  दक्षिणकाली नगरपालिका–३, भङ्ज्याङस्थित गणेश हलमा हाम्रो लघुकथा केन्द्र नेपालद्वारा आयोजना गरिएको “स्रष्टा सम्मान तथा संयुक्त लघुकथासङ्ग्रह विमोचन कार्यक्रम” वैशाख १९ गते शनिबार भव्य रूपमा सम्पन्न भएको छ। केन्द्रका अध्यक्ष डा. शेखरकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत रहनुभएको थियो भने विशिष्ट अतिथिहरूमा उपप्रमुख वसन्ती तामाङ डङ्गोल, साहित्यकार तथा समालोचकहरू किशोर पहाडी, कृष्ण प्रधान, जयदेव भट्टराई, लता के.सी., तेजप्रकाश श्रेष्ठ, प्रा. डा. कपिल लामिछाने, गङ्गा कर्माचार्य पौडेल, महेश प्रसाईं, रमेन्द्र कोइराला र दामोदर अधिकारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा “हाम्रा लघुकथा” संयुक्त लघुकथासङ्ग्रहको विमोचन गरिएको थियो। प्रमुख तथा विशिष्ट अतिथिहरूले लघुकथा गान बजाएर कृतिको औपचारिक विमोचन गरेका थिए। कार्यक्रमलाई सांस्कृतिक रूपमा पनि विशेष बनाउँदै गणेश गुठी धिमे खलको धिमे बाजासहित सम्मानित स्रष्टाहरूलाई भैरव मन्दिर परिक्रमा गराइएको थियो।

कार्यक्रमको प्रारम्भ पानसमा बत्ती बालेर गरिएको थियो। त्यसपछि नेपाली लघुकथाका प्रथम सर्जक सिद्धिचरण श्रेष्ठको तस्बिरमा माल्यार्पण गर्दै श्रीब्रह्मानन्दसरस्वती वैदिक गुरुकुलम् का विद्यार्थी तथा शिक्षकहरूले स्वस्तिवाचन गरेका थिए। राष्ट्रिय गान बजाएपछि औपचारिक रूपमा कार्यक्रम अघि बढाइएको थियो।

उक्त अवसरमा विभिन्न विधामा स्रष्टा सम्मान प्रदान गरिएको थियो। प्रा. डा. कपिल लामिछानेलाई “केन्द्र लघुकथा समालोचना सम्मान–२०८२”, महेश प्रसाईंलाई “केन्द्र लघुकथा सम्मान–२०८२”, गङ्गा कर्माचार्य पौडेललाई “केन्द्र लघुकथा नारी सम्मान–२०८२” र रमेन्द्र कोइरालालाई “योगनाथ बास्तोला लघुकथा सम्मान–२०८२” प्रदान गरिएको हो। सम्मानित स्रष्टाहरूलाई अवीर, दुबोमाला, रुद्राक्ष, दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो।

सम्मानित व्यक्तित्वहरूको जीवन र योगदानबारे विभिन्न वक्ताहरूले प्रकाश पारेका थिए। मनीषकुमार शर्मा, मिसु श्रेष्ठ, रमेश सुवेदी, शान्ता तिम्सिना लगायतले सम्मानित स्रष्टाहरूको साहित्यिक योगदान प्रस्तुत गरेका थिए भने सम्मानपत्र वाचन बद्री कार्की, रमेश सुवेदी, गङ्गा दाहाल न्यौपाने र निर्मला बरालले गरेका थिए।

विशिष्ट अतिथि किशोर पहाडीले सम्मानित स्रष्टा छनोट प्रक्रियाबारे जानकारी दिँदै पारदर्शी रूपमा नाम छनोट गरिएको स्पष्ट पार्नुभयो। अर्का विशिष्ट अतिथि कृष्ण प्रधानले दक्षिणकाली क्षेत्रलाई साहित्यिक केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्दै साहित्यिक कुटी निर्माणको आवश्यकता औंल्याउनुभयो।

प्रमुख अतिथि मोहनबहादुर बस्नेत र उपप्रमुख वसन्ती तामाङ डङ्गोलले भाषा, साहित्य र कलाको विकासका लागि नगरपालिकाले आवश्यक बजेट अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाउँदै दक्षिणकालीलाई साहित्यिक हब बनाउने लक्ष्य अघि बढाइएको बताउनुभयो। साथै दक्षिणकाली प्रज्ञा प्रतिष्ठानको कार्यलाई पनि अघि बढाइएको जानकारी दिनुभयो।

सम्मानित व्यक्तित्व प्रा. डा. कपिल लामिछानेले लघुकथा समालोचनामा गम्भीर अध्ययन आवश्यक रहेको बताउँदै यस विधाप्रति सबैको ध्यान जानुपर्ने धारणा राख्नुभयो। महेश प्रसाईंले लघुकथामा कठोर सिद्धान्तभन्दा सिर्जनात्मक स्वतन्त्रता महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो। गङ्गा कर्माचार्य पौडेलले केन्द्रले लघुकथा प्रवर्द्धनमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो भने रमेन्द्र कोइरालाले लघुकथासम्बन्धी सैद्धान्तिक पुस्तक प्रकाशनको तयारी भइरहेको जानकारी दिँदै सुझावहरू माग गर्नुभयो।

कार्यक्रमको सञ्चालन केन्द्रका सचिव रामराजा के.सी.ले गर्नुभएको थियो। कार्यक्रममा स्रष्टा समाज अमेरिका संस्थापक प्रभात दीक्षित, लघुकथाकारहरू खेमराज पोखरेल, दीपक लोहनी, कात्यायन, ममता मृदुल, लीलाराज दाहाल, विन्दु ढकाल, रजनी खत्री, अप्सरा भट्टराई लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो। स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको सहभागिताले कार्यक्रमलाई थप सशक्त बनाएको थियो।

अन्त्यमा अध्यक्ष डा. शेखरकुमार श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार