Search

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलकुद

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलकुद

नेपाल सम्वत् ११४५ बछलाथ्वः १० (बैशाख २४, २०८२ ) मे ७, २०२५ ,बुधबार, बाँपीझ्याला ।नेपाल समृद्धिको यात्रामा अगाडि बढिरहेको अवस्थामा खेलकुद क्षेत्रले अन्तर्राष्ट्रिय पहिचान दिलाउन उल्लेखनीय भूमिका खेलेको छ। लामो समय राज्यको प्राथमिकतामा नपरेको भए पनि २०४६ सालपछि खेलकुदले नयाँ चरणमा प्रवेश पायो। लिगलिगे दौडदेखि दरबारको दरबारमै सीमित खेलकुद पछि आम नेपाली माझ विस्तार भयो। वीरेन्द्र सिल्ड र राष्ट्रिय खेलकुद प्रतियोगिताले घरेलु खेललाई गति दियो। एसियाड र ओलम्पिकमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय यात्रा सुरु गर्‍यो।

भूतपूर्व समयको समीक्षा गर्दा नेपालले कुस्ती, तेक्वान्दो, बक्सिङ, एथलेटिक्स आदि खेलमा सानो सफलता हासिल गर्‍यो। मार्सल आर्ट्समा पहिलो पदक जित्ने जितबहादुर केसीदेखि ओलम्पिकमा कांस्य जित्ने विधान लामा, रजत जित्ने सबिता राजभण्डारी, स्वर्ण पदकको ह्याट्रिक बनाउने बैकुण्ठ मानन्धरजस्ता खेलाडीले इतिहास रचेका थिए। यस्तै, फुटबल, बक्सिङ र तेक्वान्दोका खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको पहिचान बढाएका थिए।

हालको अवस्थामा नेपाली खेलकुद आशालाग्दो देखिन्छ। विशेषगरी क्रिकेट, महिला फुटबल, मार्सल आर्ट्स र टिम गेममा उल्लेखनीय प्रगति भएको छ। टी–२० विश्वकप सहभागितादेखि एनपिएलजस्ता फ्रेन्चाईज लिगको सुरुवातले खेलकुदमा व्यवसायिकता भित्रिएको छ। खो खो, भलिबल, कबड्डीमा महिला टिमले पदक जितेर इतिहास बनाएका छन्।

नेपाली खेलाडी अहिले विदेशी लिगमा समेत बिक्न थालेका छन्। सन्दीप लामिछानेदेखि किरण चेम्जोङ र रोहित चन्दसम्मले उच्चस्तरको लिगमा खेलिरहेका छन्। महिला फुटबलरहरूले पनि विदेशमा प्रतिनिधित्व गर्दै नेपाली खेलकुदको उचाइ बढाइरहेका छन्। सरकारले पनि अब खेलकुदलाई प्राथमिकतामा राख्न थालेको छ, जुन सकारात्मक संकेत हो। खेलकुद विकासमा भौतिक पूर्वाधार निर्णायक मानिन्छ। २०७२ को भूकम्पले क्षति पुर्‍याए पनि पछिल्ला वर्षमा पूर्वाधार निर्माणमा सरकारी र निजी क्षेत्र दुवैको ध्यान गएको छ। दशरथ रङ्गशालाको पुनर्निर्माणदेखि भरतपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानसम्म, मुलपानी, पोखरा, नेपालगञ्ज लगायतका रङ्गशालाको स्तरोन्नतिले भविष्यका लागि सकारात्मक आधार तयार पारिरहेको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!