नेपाल सम्वत् ११४५ बछलाथ्वः १० (बैशाख २४, २०८२ ) मे ७, २०२५ ,बुधबार, बाँपीझ्याला ।इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मध्यराति भएको रोमाञ्चक सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ४-३ ले हराउँदै इन्टर समग्रमा ७-६ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । पहिलो हाफमा २ गोलको अग्रता लिएपनि बार्सिलोनाले दोस्रो हाफमा २ गोल फर्काउँदै खेल बराबरी गरेको थियो भने खेल सकिन लाग्दा पुन: दुवै टोलीबाट गोल भएपछि खेल ३-३ को बराबरी हुँदै अतिरिक्त समयमा धकेलिएको थियो ।
खेलको २१औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा हाकान कान्हानोग्लुले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । बार्सिलोनाका लागि ५४औं मिनेटमा एरिक गार्सिया तथा ६०औं मिनेटमा डानी ओल्मोले हेडर गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
त्यसपछि ८७औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई जितको नजिक पुर्याए पनि इन्जुरी समयमा फ्रान्सेको असेर्बीले गोल गर्दै खेल फेरि बराबरीमा ल्याए । त्यसपछि थपिएको अतिरिक्त समयको ९९औं मिनेटमा डेभिड फ्राटेसीले गोल गरेपछि इन्टरले खेलमा फेरि अग्रता लियो । त्यसपछि थप गोल नहुँदा बार्सिलोनाको शानदार प्रदर्शनसहितको यात्रा सेमिफाइनलमै टुंगिएको हो । इन्टरले उपाधिका लागि पिएसजी र आर्सनलबीचको विजेतासँग खेल्ने छ ।
