नेपाल सम्वत् ११४५ चौलाथ्वः चौठी–पञ्चमी, बुधबार (२० चैत्र, २०८१, २ अप्रिल २०२५) बाँपिझ्याला दोलखा । ग्रामीण विकास टुकी संघ, दोलखाको यही २०८१ चैत्र ९ गते देखि पालिका स्तरीय सभाहरु सम्पन्न हुँदै गैरहेको छ ।
संघको विधान अनुसार प्रत्येक तीन बर्षमा आयोजना हुने बार्षिक अधिवेशन पूर्व आफ्नो कार्य क्षेत्र दोलखा जिल्लाको सबै नौ वटा स्थानीय तहहरुको टुकी सभाहरु सम्पन्न हुनु पर्दछ । यीनै सभाहरुबाट अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु छनौट हुने कार्य हुन्छ ।
यसका साथै यी सभाहरुबाटै संघको संरचना अनुसारको जिल्लाको नौ वटै पालिकाहरुको पालिका स्तरीय टुकी समितिको निर्वाचन हुन्छ । चैत्र १३ गते सम्ममा भिमेश्वर नगरपालिका, गौरीशंकर गाउँपालिका, विगु गाउँपालिका, कालिञ्चोक गाउँपालिका र शैलुङ्ग गाउँपालिकाको पालिका टुकी सभाहरु सम्पन्न भएको छ ।
यी सभाहरुबाट पालिका स्तरीय टुकी समितिहरु निर्वाचित हुनुका साथै संघको २२ औं साधारण सभा तथा नवौं अधिवेशनको लागि प्रतिनिधिहरु छनौट भएको छ भनी कार्यकारी निर्देशक पुर्षार्थ श्रेष्ठले बताउनु भयो ।
यसरी जिल्लाका ९ वटै पालिकाहरुमा कार्यहरु सम्पन्न भै सकेपछि संघको कार्य समितिको निर्णय अनुसार २२ औं साधारण सभा तथा ९ औं बार्षिक अधिवेशन हुने समेत वहाँले बताउनु भयो ।