नेपाल सम्वत् ११४५ चिल्लागाः १२ (१३ चैत्र, २०८१) मार्च २६, २०२५ ,बुधबार, बाँपीझ्याला । चैत ५ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक चार्टर्ड उडान सम्पन्न भएको छ। उक्त ऐतिहासिक उडानपछि चीनका विभिन्न सहरमा नेपाल पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू गरिएको छ। पोखरा पर्यटन परिषद्को आयोजना एवं पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनीज एसोसिएसनको सहकार्यमा भएको यो पहलले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने आशा गरिएको छ।
पोखरा–छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलाइन्सले चार्टर्ड उडान सुरु गरेको हो। पहिलो उडानका क्रममा चिनियाँ सरकारी निकायका प्रतिनिधि तथा पर्यटन व्यवसायीसँग गरिएको छलफलले भविष्यमा अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिने विश्वास जगाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो। नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दु र छोङछिङमा गरिएका बिटुबी, सेल्समिसनजस्ता कार्यक्रमहरूले चिनियाँ पर्यटकलाई पोखरामै आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेका अनुसार अब चीनबाट नेपाल केवल काठमाडौंबाट मात्र नभई पोखराबाट पनि जोडिएको छ भन्ने स्पष्ट सन्देश प्रवाह भएको छ। यसअघि छेन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम भए पनि छोङछिङमा पहिलोपटक आयोजना गरिएको थियो, जसलाई चिनियाँ सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रसारण गरेका थिए।
सन् २०१९ मा नेपाल आउने चिनियाँ पर्यटकको संख्या १ लाख ६९ हजार ५४३ रहेकोमा कोभिड-१९ को प्रभावले घट्दै गयो। तर, पछिल्लो तथ्यांकअनुसार सन् २०२४ मा १ लाख १ हजार ८७९ चिनियाँ पर्यटक नेपाल आएका छन्। चिनियाँ पर्यटन व्यवसायीहरूका अनुसार जुन र जुलाई महिनामा विद्यालय बिदा हुने हुँदा सो अवधिमा चीनबाट पोखरामा पर्यटक आकर्षित गर्ने ठूलो सम्भावना छ।
पोखरासँग चीनको लुझाउ सहरबीच मितेरी सम्बन्ध विस्तार गर्न पोखरा महानगर प्रमुख धनराज आचार्य र लुझाउ नगर प्रमुख यु छिन्हीबीच औपचारिक छलफल भएको छ। दुवै पक्षबीच शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा सहमति भएको छ। पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन चिनियाँ पर्यटक लक्षित पूर्वाधार विस्तार भइरहेका छन्, जसले आगामी दिनमा पर्यटन प्रवर्द्धनलाई थप बल दिने विश्वास गरिएको छ।
