Search

चरिकोटमा १० करोड बज्रगुरु मन्त्रजप – विश्वशान्ति पूजा आयोजना गर्दै

चरिकोटमा  १० करोड बज्रगुरु मन्त्रजप – विश्वशान्ति पूजा आयोजना गर्दै

आगामी चैत्र १७ गतेबाट चैत्र २६ गतेसम्म सञ्चालन हुने बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजामा पाँच सय जना लामा र पाँच सय जना गृहस्ती समूह गरी एक हजार जनाले बज्रगुरु मन्त्रजप गर्ने

नेपाल सम्वत् ११४५, चिल्लागाः १२ द्वादसी (१३ चैत्र, २०८१, २६ मार्च, २०२५) बुधबार, बाँपीझ्याला, दोलखा । दोलखा सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा आयोजना गर्न लागिएको छ । संयोजन दोलखाको गौरीशङ्कर गाउँपालिकामा रहेको छम्बा गुम्बा तथा यार्जाङ्ग गुम्बा व्यवस्थापन समिति मार्वुले गर्न लागेको खम्पो पेमा छिरी शेर्पाले बताउनु भयो ।

आगामी चैत्र १७ गतेबाट चैत्र २६ गतेसम्म सञ्चालन हुने बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजामा पाँच सय जना लामा र पाँच सय जना गृहस्ती समूह गरी एक हजार जनाले बज्रगुरु मन्त्रजप गर्ने १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा आयोजना व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका खेम्पो पेमा छिरी शेर्पाले बताउनु भयो ।

कार्यक्रम आयोजना हुने १० दिनको अवधिमा गुरु पद्य सम्भवको अभिषेक (वाङ) र बज्रगुरु मन्त्रजप, गुरु पद्य सम्भवको मन्त्रजप, मोन्लाम पूजापाठ तथा दैनिक धार्मिक प्रवचन, गणचक्र पूजा, अमिताभ बुद्धको आयु अभिषेक लगायतका कार्यक्रम हुने खेम्पो पेमा छिरी शेर्पाले बताउनु भयो ।

गुरु पद्य सम्भवबारे विद्धानहरूको विभिन्न मत रहेको पाइन्छ । एकथरी भनाई अनुसार गुरु पद्य सम्भव बौद्ध परम्परामा कमलको फुलबाट उत्पन्न भएपछि ओडियानका राजा इन्द्रभूतिले पालन पोषण गर्नु भएको थियो । उहाँलाई त्रिकाल बुद्ध, दोस्रो बुद्ध तथा गुरु रेन्पोछे को नामले पुर्काने गरिन्छ । गुरु पद्य सम्भवले नेपालको फार्पिङ स्थित असुर गुफा, खोटाङको हलेसी मारातीका गुफा, हेलम्बु, मुस्ताङ आदी ठाउँमा ध्यान– साधना गर्नु भएको विश्वास गरिन्छ ।

चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखा, सिन्धुपाल्चोक, सोलुखुम्बु बुद्धधर्म प्रचार र बुद्धको सिद्धान्त अनुसरणमा अब्बल रहेकोले १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा दोलखामा आयोजना गर्न लागिएको खेम्पो पेमा छिरी शेर्पाको भनाई छ ।

१० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा खुम्बु क्षेत्रबाट सुरु गरिएको र यसलाई पछिल्लो समय सिन्धुपाल्चोक, रामेछाप, दोलखामा विस्तार गरिएको खेम्पो पेमा छिरी शेर्पाले बताउनु भयो । १७ औ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा सोलुखुम्बु जिल्लाको दुधकोशी गाउँपालिका वडा नम्बर– ९ स्थित देक्षेन क्ष्योलिङ गोन्पोमा आयोजना गरिएको उहाँले बताउनु भयो ।

दोलखामा आयोजना गर्न लागिएको बज्रगुरु मन्त्रजप कार्यक्रमको मुख्य उद्देश्य विश्वशान्तिको कामना गर्दै दोलखाको पर्यटन प्रवर्द्धन गर्ने, दोलखामा रहेका धार्मिक, सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्ने, रोगव्याधि, अनिकाल, झैझगडा, दैविक प्रकोप आदी नहोस् भनि कामना गर्ने, सभ्य र नैतिकवान् समाजको विकास गर्ने रहेको खेम्पो पेमा छिरी शेर्पाले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!