Search

कैदीबन्दीलाई काष्ठकलासम्बन्धी सीपमूलक तालिम प्रदान

कैदीबन्दीलाई काष्ठकलासम्बन्धी सीपमूलक तालिम प्रदान

नेपाल सम्वत् ११४५, चिल्लागाः १२ द्वादसी (१३ चैत्र, २०८१, २६ मार्च, २०२५) बुधबार, बाँपीझ्याला । कारागार कार्यालय गुल्मीमा रहेका कैदीबन्दीलाई काष्ठकलासम्बन्धी सीपमूलक तालिम प्रदान गर्न थालिएको छ । यहाँ रहेका कैदीबन्दीहरूका लागि १५ दिनसम्म काष्ठकलासम्बन्धी आधारभूत तालिम घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गर्न थालेको हो ।

विभिन्न कारणले कैद भुक्तान गरिरहेका व्यक्तिहरूलाई सीप सिकेर आय–आर्जनमा जोड्ने उद्देश्यले उनीहरूलाई जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालय गुल्मीको समन्वयमा काष्ठकलासँग सम्बन्धी सैद्धान्तिक ज्ञान र प्रयोगात्मक सीप सिकाउन लागिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजिव अर्यालले बताउनुभयो । कैदीबन्दीले हालसम्म सिकेको काष्ठकलासम्बन्धी सीपमा थप स्तरोन्नति गर्नका लागि तालिमको आयोजना गरिएको हो ।

कैदीबन्दीले कैद भुक्तान गरिसके पश्चात् उनीहरूलाई उद्यमशील बन्न निकै सहज हुने अपेक्षा लिएको उहाँको भनाइ छ । आगामी दिनमा यससम्बन्धी थप स्तरोन्नती तालिमका लागि कार्यालयले पहल गर्ने बताउनुभयो । कैदीबन्दीहरूको पुनर्स्थापना गर्ने जिम्मा तीन तहका सरकारको भएको हुँदा रेसुङ्गा नगरपालिका पनि कैदीबन्दीहरूको पुनस्र्थापनाका लागि प्रतिबद्ध रहने प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताउनुभयो ।

कारागारमा रहेका कैदीबन्दीमा सीप विकास गरेर उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन तालिमले निकै टेवा पुर्‍याउने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । यहाँ रहेका कैदीबन्दीलाई उद्यमशीलतासँगै सीपमूलक कार्य र श्रमसँग जोड्न थालिएको उहाँले बताउनुभयो । यहाँबाट विभिन्न प्रकारका फर्निचर सामानको उत्पादन र बिक्री वितरणको व्यवस्था मिलाइएको छ । लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले कैद भुक्तानी गरेर बाहिर निस्केपश्चात् उद्यमशीलतामा लाग्नुका साथै जीवनयापनमा समेत तालिमले सहज हुने बताउनुभयो ।

सीप भए परनिर्भरता हट्छ, सीपलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बन्न सकिने उहाँले बताउनुभयो । यहाँ उत्पादित मुढा, ढाका र फर्निचर आदिबाट मासिक सरदर ६० देखि ८० लाख रुपियाँसम्मको कारोबार हुने गरेको छ । सुरक्षा निकाय, प्रशासन र आन्तरिक प्रशासनको त्रिकोणात्मक सम्बन्धका कारण कैदीबन्दी तथा थुनुवाहरूलाई कारागारभित्रै सीप अनुसारको उद्यमसँग जोड्न सकिएको गुल्मी कारागारका प्रमुख जेलर रेश्मीराज पन्थीले बताउनुभयो ।

क्षमताभन्दा बढी कदैबन्दी
यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । २५ जनाको क्षमता रहेको यस कारागारमा ११० जना कैदीबन्दी छन् । जसमा पुरुष कैदी ६५ जना, महिला कैदी पाँच जना, थुुनुवा पुरुष ३८ जना र थुनुवा महिला एक जना छन् । ५१ जनाले जबरजस्ती करणीसम्बन्धी कैद भुक्तान गरिरहेका छन् । चोरीसम्बन्धी १३ जना, कर्तव्य ज्यानसम्बन्धी १९ जना, सवारी ज्यानसम्बन्धी चार जना, बहुविवाह महिला दुई जना र आश्रित एक जना, ज्यानसम्बन्धी कसुरका दुई जना कैदीबन्दी रहेका जेलर पन्थीले जानकारी दिनुभयो ।

त्यस्तै, ज्यान मार्ने उद्योग चार जना, हातहतियार खरखजानासम्बन्धी एक जना, अपराधिक उपद्रव(आगलागी) सम्बन्धी सात जना, अप्राकृतिक मैथुनसम्बन्धी एक जना, बालयौन दुरुपयोगसम्बन्धी एक जना, कुटपिटसम्बन्धी एक जना, भ्रष्टाचारसम्बन्धी दुई जना, अभद्र व्यवहारका एक जना गरी ११० जना कैदीबन्दी अहिले कागारागारमा रहेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!